इन्टरनेटमा चिनियाँ बियर नभेटिएपछि शुरु गरेका थिए अलिबाबा

|

विश्वप्रसिद्ध इ–कमर्स कम्पनी अलिबाबाका अध्यक्ष ज्याक मा कम्पनीबाट बिदा हुने भएका छन्।

अंग्रेजी भाषाका पूर्वशिक्षक ज्याकले सन् १९९९ मा केही साथीहरूसँग मिलेर अलिबाबाको स्थापना गरेका थिए। अलिबाबा विश्वकै ठूलोमध्येको अनलाइन सपिङ प्लाटफर्म हो। यही कम्पनीको सफलताले ज्याकलाई विश्वभर सफल व्यवसायीको पहिचान दिलाएको थियो। ज्याक चीनकै सर्वाधिक धनी व्यवसायी पनि हुन्। अलिबाबाको हालको मूल्य ४८० बिलियन डलर छ।

ज्याकलाई मंगलबार डेनियल ज्याङले प्रतिस्थापित गर्नेछन्। ज्याङ सोही कम्पनीमा कार्यकारी प्रमुखका रूपमा कार्यरत थिए।

ज्याक माको पृष्ठभूमि

ज्याक माको जन्म पूर्वी चीनमा अवस्थित हाङजोउ शहरको एक गरिब परिवारमा भएको थियो। उनले शिक्षकको रूपमा 'करियर'को आरम्भ गरेका थिए।

३३ वर्षको उमेरमा पहिलो पटक कम्प्युटर घर भित्र्याएका ज्याकले जब इन्टरनेटमा ‘बियर’ सर्च गरे, सर्च रिजल्टमा चिनिया बियर नदेखिएपछि चकित परे। कम्प्युटरको कुनै पृष्टभूमि नभएका ज्याकले त्यसपछि अनलाइन सपिङ कम्पनीको परिकल्पना गरे, साथीहरू भेला पारे, र उनीहरूलाई कम्पनीमा लगानी गर्न सहमत गराए। कम्पनीको नाम राखियो, अलिबाबा।

उक्त कम्पनी छिट्टै लोकप्रिय मात्रै बनेन, न्यूयोर्क स्टक एक्सेन्जमा विश्वकै धेरै सार्वजनिक लगानी प्राप्त गर्ने कम्पनीको रेकर्ड पनि बनायो। फोर्ब्सका अनुसार, विश्वका धनीहरूको सूचीको अग्रपंक्तिमा आउने ज्याकले ३८.६ बिलियन बराबरको सम्पत्ति जोडेका छन्।

ज्याकको भावि योजना

ज्याकका अनुसार, उनी शिक्षाको माध्यमबाट समाजसेवामा समय बिताउने योजनामा छन्।

न्यूयोर्क टाइम्ससँगको कुराकानीमा उनले आफ्नो अवकाशलाई समाप्ती नभइ ‘नयाँ यूगको शुरुवात’का रुपमा लिन भनेका छन्। उनले भने, ‘मलाई शिक्षाको क्षेत्रमा काम गर्न मन छ।’

अलिबाबाको अध्यक्ष नरहे पनि उनी सञ्चालक समितिको सदस्यमा कायमै रहनेछन्।

डेनियल ज्याङलाई चुनौतिका चाङ

ज्याक र उनलाई प्रतिस्थापित गर्दै गरेका डेनियल ज्याङबीच आकास–जमिनको अन्तर छ। ज्याङ लजालु र चमकदमक नरुचाउने प्रकृतिका छन्। अलिबाबा कम्पनीमा उनी ‘झियोयाङ्जी’ उपनामले चिनिन्छन्। झियोयाङ्जी, एक सैन्य–उपन्यासको लोकप्रिय पात्र हो, जो चीनमा औधी लोकप्रिय छ। युद्धमा प्रत्यक्ष सामेल नहुने झियोयाङ्जी योजना तथा तालिमजस्ता कार्यमा माहिर मानिन्छ।

अलिबाबामा यस्तो समयमा नेतृत्व परिवर्तन हुन लागेको छ, जतिबेला उक्त कम्पनी घरेलु तथा अन्तराष्ट्रिय बजारमा आफ्नो हिस्सा जोगाउन संघर्षरत् छ। दुई तिहाइ आम्दानी घरेलु बजारबाटै जुटाउँदै आएको अलिबाबाको आय खस्कँदो छ।

भोलिका दिनमा यसले चीन–अमेरिका व्यापार युद्धको असर पनि झेल्नुपर्नेछ। पूर्वी एसिया र भारतको बजार पनि उदाउँदा घरेलु कम्पनीहरुका कारण अलिबाबाका लागि सहज देखिँदैन। हङकङमा जारी आन्दोलनको प्रत्यक्ष असर यसको शेयर बजारमा देखिसकिएको छ।

यी सबै प्रतिकूल अवस्थासँग जुध्न र ज्याक माकै लोकप्रिय छवि हासिल गर्दै विश्वमञ्चमा उभिन ज्याङका लागि चुनौतिपूर्ण हुनेछ। ज्याकले कम्पनीका स्टाफबाट मात्रै होइन, विश्व समुदायबाटै सम्मान र स्नेह हासिल गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.