|

जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पनि योजनाको विषयलाई लिएर प्रमुख र उपप्रमुखबीच विवाद चर्केको छ।

प्रमुख रामबाबु यादवले एकलौटी ढंगबाट योजना छनोट गरेको भन्दै उपप्रमुख मीना यादवले आपत्ति जनाएका हुन्।

विवाद चर्केपछि उपप्रमुख यादवको मंगलबार नगरपालिकामा तालाबन्दी गर्न पुगेकी थिइन्। तर प्रहरीले कार्यालयमा तालाबन्दी गर्न दिएनन्। तालाबन्दी गर्न खोज्दा प्रहरीसँग केहिबेर तनाव सिर्जना भएको थियो।

किसानका लागि बजेट विनियोजन नगरेकाले नगरपालिकामा ताला लगाउन खोज्दा प्रमुख यादबले प्रहरी लगाएर तनाव सिर्जना गरेको उपप्रमुख यादवले बताइन्। उनले प्रमुखले पावरको दुरुपयोग गरेको आरोप समेत लगाएकी छिन्। उनले भनिन्, ‘प्रमुखले बलजफ्ती गर्छन्। विरोध गर्दा प्रहरीको प्रयोग गर्छन्।’

उपप्रमुख यादवले योजना तर्जुमाको बैठक नै बस्न नदिएर कार्यपालिका बैठकबाट योजना ल्याएको आरोप समेत लगाए। उनले प्रश्न गरिन्, ‘योजना तर्जुमा बैठकबाट योजना बन्नु पर्ने हो। तर प्रमुखले कार्यपालिका बैठकबाट योजना ल्याएर नगरसभाको बैठक भोलिका लागि बोलाएको छ।’ उनले नगरसभा गर्न नदिने समेत चेतावनी दिए।

यता, प्रमुख यादबले यहाँ रहेको एउटा साना किसान बैंकका लागि २० लाख बजेट विनियोजन गर्न उपप्रमुखले दबाब दिएको र कानूनले बजेट दिन नमिल्ने बताएपछि तालाबन्दी गर्न खोजेको प्रतिक्रिया दिए। उनले नगर कार्यपालिकाको बैठकमै सबै वडाध्यक्षले योजना पेश गरेको बताए। उनले नगर कार्यपालिका सदस्य २१ जना रहेकोमा १९ जनाले समर्थन जनाएको समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.