प्रदेश सरकार भन्छ : डेंगु नियन्त्रणमा छ

|

बुटवल : प्रदेश-५ मा हालसम्म १२७ जनामा डेंगु रोग देखिएको छ। सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांकअनुसार डेंगु रोग देखिएका बिरामीमध्ये ८७ जना उपचारपछि घर फर्किएको र अहिले ३९ जना मात्रै उपचाररत छन्। त्यस्तै, एकजनाको मृत्यु भएको छ।

गत शनिबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कपिलवस्तु वाणगंगा नगरपालिकाकी–७ की ६१ वर्षीया सावित्रा आचार्यको डेंगु संक्रमणको कारण मृत्यु भएको थियो।

साउन २८ गते रुपन्देहीमा यो वर्ष पहिलो पटक डेंगु रोगको संक्रमण देखिएको थियो। त्यसपश्चात् प्रदेश ५ को राजधानी बुटवल र आसपासका  जिल्लामा डेंगुका बिरामी ह्वात्तै बढेका छन्। बिरामी वृद्धिको संख्या हेर्दा यसले प्रदेश राजधानीमा महामारीको रूप लिने संकेत देखिन थालेको छ। रुपन्देही जिल्लामा हालसम्म ९० जनामा डेंगुको संक्रमण देखिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले साउन २८ गतेदेखि रुपन्देहीमा डेंगुका बिरामी भेटिएको र भदौ १५ पछाडि बिरामी ह्वात्तै बढेको जानकारी दिए। गएका केही वर्षमा असोज अन्तिम सातातिर देखिने डेंगु अहिले साउनमै देखिएको हो।

संक्रमित बिरामी प्रादेशिक अस्पताल, बुटवल अस्पताल प्रालि, क्रिमसन अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवा, सिद्धार्थ महिला तथा बाल अस्पतालमा उपचार भइरहेको गिरीले जानकारी दिए। पछिल्ला दिनमा रुपन्देहीमा दैनिक १० जनाभन्दा बढी नयाँ डेंगुका बिरामीहरू फेला परेका छन्।

अंक चित्रमा डेंगु 

रूपन्देहीमा आर्थिक वर्ष २०६७/०६८ मा पहिलोपटक डेंगुका बिरामी फेला परेका थिए। उक्त वर्ष रुपन्देहीमा मात्रै चारजनाको मृत्यु भएको थियो। त्यस्तै ०७३/०७४ र ०७४/०७५ मा दुई/दुई जना गरी चारजनाको मृत्यु भएको थियो। डेंगु देखिएयता आठ जनाको मृत्यु भइसकेको छ।

०७४/०७५ मा चितवन र रूपन्देहीमा महामारी नै फैलिएको थियो। ८ वर्षको अन्तरालमा रूपन्देहीमा करीब १५ सयमा डेंगु रोग लागिसकेको छ। प्रत्येक वर्ष डेंगु संक्रमित भेटिए पनि रूपन्देहीमा पछिल्लो दुई वर्षयता रोकथामका लागि बजेट आएको छैन।

सरकारको ध्यान खोई?

विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्य क्षेत्रको सबै जिम्मेवारी बहन गर्दै आएकोमा स्थानीय सरकार गठनपछि स्वास्थ्यको जिम्मेवारी स्थानीय तहमा सरेको छ। तर, संघ र प्रदेश सरकारले पनि समन्वय नगरेपछि जनस्वास्थ्यसँग जोडिएको डेंगु नियन्त्रणमा स्थानीय तह उदासीन देखिएका छन्। प्रदेशको स्वास्थ्य हेर्ने सामाजिक विकास मन्त्रालयले कुनै अभियान सुरू गरेको छैन।

डेंगु संक्रमण फैलिरहँदा पनि रूपन्देहीका स्थानीय तहले अहिलेसम्म कुनै योजना बनाएका छैनन्। बुटवल उपमहानगरपालिकाले सामान्य जनचेतना जगाउने काममा मात्रै सक्रियता देखाएको छ। जनस्वास्थ्य अधिकृत कपिलप्रसाद गौतमले विभिन्न वडाहरूमा स्वास्थ्य स्वयंसेविकाहरूमार्फत जनचेतना जगाउने काम भइरहेको बताए। ‘ठोस रूपमा काम अघि बढेको छैन, अब एक सातामा खोज र नष्ट गर अभियान सञ्चालन गर्छौं,’ उनले भने।

उपमहानगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य केन्द्रहरूमा सामान्य ल्याब परीक्षणको व्यवस्था गर्ने बाहेक उपमहानगरपालिकाले पूर्व तयारीका कार्यक्रम गरेको छैनन्। अहिले टोलटोलमा यसबारे जनचेतना जगाउने, विद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्नेलगायतका काम मात्र गरिएको उनले बताए। रुपन्देहीबाहेक कपिलवस्तु, दाङ, पाल्पा, नवलपरासीलगायतका जिल्लामा डेंगुका बिरामी भेटिएका छन्।

यता रुपन्देहीको देवदह नगरपालिकाले बल्ल योजना बनाउने गृहकार्य थालेको जनाएको छ। ‘जनचेतनाका लागि ब्रोसर छाप्न दिएका छौँ, त्यो तयार भएपछि सचेतनाको काम सुरू हुन्छ,’ देवदह नगरपालिकाका स्वाथ्य शाखा संयोजक ध्रुवराज घिमिरे भने, ‘अब छिट्टै नै कार्यपालिकाको बैठक बसेर खोज र नष्ट गर अभियान चलाउँछौं।’

सैनामैना नगरपालिकाको पनि कुनै तयारी गरेको छैन। बजेट अभावले डेंगु नियन्त्रण अभियान सञ्चालन गर्न नसकिएको सैनामैनाका जनस्वास्थ्य निरीक्षक युवराज पाण्डेले जानकारी दिए।

स्थानीय तहहरूले भने बजेट छुट्टयाएर पनि काम गरेका छैनन्। जनस्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले डेंगु नियन्त्रणका लागि स्थानीय तहमा बजेट र कार्यक्रम गएको तर स्थानीय तहले नियन्त्रणका लागि पहल नगरेको दाबी गरे। 

डेंगु नियन्त्रणमै छ : मन्त्री बराल

प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश-५ मा डेंगु रोगको संक्रमण बढे पनि नियन्त्रण बाहिर नभएको बताए। मन्त्री बरालले डेंगुको जाँच र उपचारकालागि प्रदेश सरकारसँग आवश्यक जनशक्ति तथा उपकरण रहेको दाबी गरे। अस्पतालमा डेंगु रोगको परीक्षण गर्न आउनेको संख्या बढेको भए पनि डेंगुको महामारीको रुपमा नफैलिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.