|

पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले पक्षपात र भेदभावको शासन गरेको बताए। पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भमा मंगलबार पोखरामा नेता पौडेलले पक्षपातपूर्ण ढङ्गले आफ्ना कार्यकर्तालाई पोस्ने गरी बजेट विनियोजन गरिएको र विपक्षी पार्टीलगायत अन्यलाई वामपन्थीले थिचोमिचो गरेको बताए। 

दुई तिहाइ मतसहितको सरकारले मतको सदुपयोग गरेर जनतामा उत्साह ल्याउन नसकेको उल्लेख गर्दै उनले भने, "अहिले देशमा निराशाको बादल छाएको छ। कम्युनिष्टको शासन हेरेर जनतामा असन्तोष फैलिएको छ। सरकार असफल भइसकेको छ।'

डेङ्गुले देशका अस्पताल भरिँदासमेत सरकारले विशेषज्ञसहितको स्वास्थ्य सेवामार्फत रोग नियन्त्रण गर्ने काम गर्न नसकेको नेता पौडेलले उल्लेख गरे। बिपीको आचरण र विचारलाई बुझेर कार्यकर्ताले अनुसरण गर्नुपर्ने बताउँदै वरिष्ठ नेता पौडेलले भने, 'वास्तवमा बिपीले ठूलो कुरा गर्नु भएन। सबै नेपाली समान र बराबर हुन् र दुनियाँमा कोही सानो ठूलो छैन भन्नुभएको छ। उनको विचारको अनुसरण गर्नु आवश्यक छ।'

कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा पार्टीले उठाएको उम्मेदवारलाई भोट हाल्न कार्यकर्तालाई निर्देशन दिँदै उनले कांग्रस हुँ भन्नेले रूखमा भोट दिए जीत सुनिश्चित हुने बताए। 

पार्टीका केन्द्रीय प्रतिनिधि धुव्र वाग्लेले पार्टीमा नैतिकवान् र पारदर्शी नेताको खाँचो रहेको औँल्याउँदै केन्द्रमा बस्ने नेता नबदलिएसम्म पार्टी बलियो नहुने उल्लेख गरे। अर्का केन्द्रीय प्रतिनिधि हरिप्रसाद श्रेष्ठले उपनिर्वाचनलाई पार्टीले जनमत सङ्ग्रहका रूपमा लिएको बताउँदै चुनाव पार्टीका लागि जीवनमरणको सवाल रहेकामा जोड दिए । 

कार्यक्रममा राष्ट्रियसभा सदस्य विन्दादेवी राना, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, कास्की पार्टीका कार्यवाहक सभापति आइबहादुर गुरुङ, क्षेत्रीय सभापतिहरू विजयराज बाँस्तोला, दीपेन्द्र मरासिनी, क्षेत्रीय सचिव शङ्कर बाँस्तोला लगायतले उपनिर्वाचनमा पार्टीले जित्ने गरी केन्द्रदेखि जिल्लास्तरीय नेता परिचालित हुनुपर्ने बताए। 

सो अवसरमा वरिष्ठ नेता पौडेलले वृक्षरोपण गरे। कांग्रेसको दोस्रो चरणको जनजागरण अभियान असोज ७ गतेसम्म जारी रहनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.