‘व्यक्तिका गल्ती, कमजोरी र आर्थिक वा अनैतिक लाभको पापको भारी सेनाले किन बोक्ने?’

|
प्रधानसेनापति थापा

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले संक्रमणकालको अन्त्यसँगै जनताका आकांक्षा बढ्नु र छिमेकी राष्ट्रमा तथा क्षेत्रीय स्तरमा भइरहेका गतिविधिले नेपालमा सुरक्षा चुनौती थपिएको बताएका छन्।

प्रधानसेनापति थापाले पदभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा व्यक्त गरेको मन्तव्यमा भनेका छन्, ‘राजनैतिक स्थिरतासँगै आज देश लामो संक्रमणकालबाट क्रमशः पार हुँदैछ। यद्यपि संक्रमणकाल पार गर्ने क्रममा बढ्दो जनआकांक्षा र अन्योलले सुरक्षा चुनौती थपिन सक्ने यथार्थलाई भने नकार्न सकिन्न।’

छिमेकी राष्ट्रहरूको उन्नतिले पनि नेपाली जनतामा आकांक्षा बढेको प्रधानसेनापति थापाको भनाइ छ। जुन पूरा गर्न राज्य सफल नहुँदा सुरक्षा चुनौती थपिने उनको आशंका छ। उनले भनेका छन्, ‘छिमेकी राष्ट्रहरूको उन्नतितर्फको यात्रा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिघटना र परिदृश्यहरूका कारण आगामी केही समय अनिश्चितताको अवस्थाले नै निरन्तरता पाउन सक्ने देखिन्छ।‘

जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति थापाले ‘अन्तर्राष्ट्रिय परिघटना र परिदृश्य’ के हुन्? भन्ने प्रस्ट पारेनन्। उनले ‘छिमेकी राष्ट्रहरू’ भनेकाले भारत र पाकिस्तानबीचको द्वन्द्व र त्यसमा चीनको चासोलाई संकेत गरेको बुझिन्छ। त्यस्तै क्षेत्रीय शान्तिमा खतरा उत्पन्न भइरहेका बेलामा प्रधानसेनापति थापाको यो भनाइले धेरै महत्त्व राख्ने गर्दछ। उनले ती परिस्थितिको नेपालले समयमा नै आकलन गरेर सजक भइराख्नुपर्ने धारणा राखेका छन्।  

सुरक्षा चुनौती रहेको आशंका व्यक्त गरेका प्रधानसेनापति थापाले नेपाली जनताको भविष्य राम्रो रहेको कुरा पनि बताएका छन्। राजनीतिक स्थिरतासँगै सरकारले लिएका कार्यक्रमले गर्दा विकासको सम्भावना रहेको बताउँदै उनले भविष्य राम्रो रहेको बताएका हुन्। उनले भनेका छन्, ‘आन्तरिक राजनैतिक परिवेश, विकासको आवश्यकता र सम्भावनाहरूका कारणले नेपाल सरकारले परिकल्पना गरेझैँ ‘समृद्ध नेपाल, सुखी नेपाली’ हाम्रो आगामी भविष्य हुने कुरोमा हामी विश्वस्त हुन सक्ने थुप्रै आधारहरू रहेका छन्।‘

नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको  सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली' को नारा पूरा गर्न पनि सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहनुपर्ने प्रधानसेनापति थापाको भनाइ छ। ‘‘समृद्ध नेपाल, सुखी नेपाली'को परिकल्पना, विश्वसनीय प्रतिरक्षा प्रणाली र आन्तरिक सुरक्षा व्यवस्था बिना म सम्भव देख्दिन’, सेनापति थापाले भनेका छन्, ‘हामीले भन्दै आएको ‘बलियो सेना बलियो राष्ट्र,कमजोर सेना कमजोर राष्ट्र’ (Strong Army – Strong Nation, Weak Army – Weak Nation) को यथार्थ तपाईहरूमाझ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु। यस अर्थमा, बाह्य स्वार्थको प्रभावबाट हरेक तहतप्का सतर्क र सुरक्षित रहँदै आफ्ना राष्ट्रिय हित तथा स्वार्थहरूको संवर्धन गर्नु नै आगामी राष्ट्रिय चुनौती हो।’

प्रधानसेनापति थापाले आन्तरिक सुरक्षा चुनौती निस्तेज पार्न सरकारले लिएका नीति सफल हुँदै गएको बताएका छन्। ‘दीर्घकालीन प्रभाव पार्ने विषयहरूमा हाम्रा रणनीतिक निर्णयहरू, संवैधानिक लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने कुरो हामी सबैले बुझेका छौँ’, उनले थपेका छन्, ‘राष्ट्रका सम्भावनाहरूबाट नै समस्याहरू समेत प्रकट हुने भएकोले समयमा नै समस्याहरूको सही पहिचान र त्यसको यथोचित समाधान हाम्रो राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनको मियो बन्न सक्यो भने आम नागरिकले अपेक्षा गरेभन्दा थप उपलब्धिहरू हासिल गर्न सक्ने प्रशस्तै आधारहरू मैले देखेको छु।‘

प्रधानसेनापति थापाले नेपाली सेना नेपाल सरकारको महत्त्वपूर्ण र बलियो अंग भएको बताएका छन्। उनले यसबारेमा भनेका छन्, ‘नेपाली सेना नेपाल सरकारको एक महत्त्वपूर्ण अंग हो । यो एउटा संस्था मात्रै होइन, एउटा मजबुत संगठन पनि हो। यसको विशिष्ट चरित्रका कारण यो नेपाल सरकारको एउटा महत्त्वपूर्ण अंग वा शक्ति अर्थात् One of the four major elements of National Power,अर्थात् Diplomatic Power, Informational Power, Military Power/Economic Power मध्येको एउटा शक्ति हो।‘

सेनालाई कमजोर बनाउन कोही शक्ति लाग्नेबारे नेपाली सेना सचेत रहनुपर्ने प्रधानसेनापति थापाको भनाइ छ। उनले भनेका छन्, ‘नेपाली सेना राज्यशक्तिको महत्त्वपूर्ण अंग हो भन्ने जानेर वा नजानेरै पनि यसलाई कमजोर बनाउने वा देखाउने प्रयास हुन सक्दछ। यसमा सच्चा नेपाली नागरिक सचेत छन्, र हुनु पनि पर्दछ।’

नेपाली सेनाले राष्ट्रको शाखलाई कायम राख्न र उच्च बनाउन भूमिका खेल्नुपर्ने प्रधानसेनापतिको भनाइ छ। ‘हाम्रो सानो गल्ती–कमजोरीले संगठनलाई र यो राष्ट्रलाई समेत हानी पुर्‍याउन सक्दछ। उच्च नेतृत्वले सेवाको उत्तरार्धमा हामीले नेपाली सेनालाई सही र भविष्यसम्म प्रभाव पर्ने खालको उपलब्धि दिन सक्यौँ भने त्यो जति ठुलो योगदान केही हुने छैन। हामीले यो संगठनलाई भविष्यका लागि तयार गर्ने गरी काम गरेनौँ भने तपाई हामीले भन्दै आएको वा सुन्दै आएको–कसैले गरेनन् र गर्दैनन्, अर्थात् जो आए पनि उस्तै हो भन्ने जस्ता निराशाजनक भाव भविष्यमा पनि सुन्नै पर्ने बाध्यता कायमै रहन्छ, जसले गर्दा अन्ततोगत्वा संगठन र यो देश सङ्कटापन्न अवस्थामा पुग्ने खतरा बढ्दै जानेछ। त्यस कारण संगठनमा सही नीति वा सही पद्धतिको विकास गर्नु जरुरी हुन्छ। त्यो तपार्इं हामी सबैको सामूहिक जिम्मेवारी हो’, प्रधानसेनापति थापाको भनाइ छ।

नेपाली सेनाले आफ्नो दायित्वका अतिरिक्त सरकारले तय गरेका लक्ष्य हासिल गर्ने कार्यमा पनि भूमिका खेलिरहेको र आगामी दिनमा पनि खेल्ने प्रधानसेनापति थापाले प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली सेनामा रहेका गलत र सांगठनिक हित विपरीतका प्रवृत्तिमा सुधार नगरी नेपाली सेनालाई आधुनिक सेनामा रूपान्तरण गर्ने कुरा परिकल्पना गर्न नसकिने प्रधानसेनापति थापाको धारणा छ। उनले भनेका छन्, ‘गलत प्रवृत्तिलाई भत्काउन ढिलो गर्नुहुँदैन, राम्रा संस्कार र कार्यसंस्कृतिलाई भने जगेर्ना गर्नै पर्दछ।’

कसैले गल्ती गरे त्यसको रक्षा सेनाले गर्दैन

प्रधानसेनापतिको कार्यभार आफूले सम्हालेपछि लिएका लक्ष्य अधिकांश हासिल भएका थापाले उल्लेख गरेका छन्। उनले आफ्नो पहिलो वर्षको कार्यकालबाट आफू सन्तुष्ट रहेको बताए। उनले अरूले गरेका गल्तीलाई आफूले र समग्र संगठनले लिन नसक्ने पनि बताएका छन्। सैनिक अधिकारीहरूले व्यक्तिगत रूपमा कुनै गल्ती गरे वा संगठनलाई हानी हुने काम गरे त्यसको संरक्षण सेनाले नगर्ने बताएका हुन्।

सुरुदेखि नै सेनाको छवि सुधार्नमा लागेका प्रधानसेनापति थापाले भनेका छन्, ‘एउटा विषय आज तपाईहरू सामू म स्पष्ट रूपमा राख्न चाहन्छु- अरूले गरेको गल्ती, कमजोरी र आर्थिक वा अन्य कुनै अनैतिक लाभको पापको भारी मैले किन बोक्ने? अझ त्योभन्दा पनि पेचिलो विषय व्यक्तिले गरेका अपराधको कारणबाट नेपाली सेना जस्तो संगठनको प्रतिष्ठामा आँच आउन किन दिने?’ यी चेतावनीसँगै उनले भनेका छन्, ‘अझै पनि सच्चिने र सकारात्मक ढंगबाट संगठनमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई कुर्ने धैर्यता गर्नेछु। म फेरि पनि दोहोर्‍याउन चाहन्छु– एकाध व्यक्तिको अनैतिक कार्य र सैनिक चरित्र विपरीतको कामको कारण समग्र संगठन किन बदनाम हुने? यो सांगठनिक हिसाबले अत्यन्त गम्भीर विषय हो, हामी सबैले मनन् गर्नै पर्दछ।‘

प्रधानसेनापति थापाले भनेका छन्, ‘कोही कसैले गरेको र गर्न सक्ने संगठनको हित विपरीतको कार्यमा नेपाली सेनामाथि भविष्यसम्म पनि प्रश्न चिह्न खडा हुने र त्यसका कारणले पूर्ण निष्ठा, स्वाभिमान र बफादारीताका साथ राष्ट्र सेवामा समर्पित सकलदर्जाले अपहेलित हुनुपर्ने र त्यसो गर्ने चाहिँ चोखिएर जाने अवस्थाको कल्पना अब गर्न सकिँदैन।‘

सेनाभित्र आर्थिक पारदर्शिता कायम गर्ने र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता अपनाउने प्रधानसेनापति थापाको उद्घोष छ। उनले यो नीतिलाई कडाइपूर्वक अंगीकार गरिने बताएका छन्। आर्थिक पारदर्शीताको उदाहरण पनि प्रधानसेनापति थापाले आफूबाटै सुरुवात गरेका छन्। उनले नेपाली सेनाको इतिहासमा पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति विवरण जंगी अड्डाबाटै सार्वजनिक गर्न लगाएका छन्।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.