कुखुरा फर्म र बिल सबै नक्कली

|
बरामद गरिएका तस्करका मोटरसाइकल र बोइलर कुखुरा दुहबी प्रहरी चौकीमा।

विराटनगर : पक्षी तथा पक्षीजन्य वस्तु (कुखुरा, अण्डा) आयातमा सरकारले लगाएको अघोषित प्रतिबन्ध वर्षौं बितिसकेको छ। तर, यतिबेला प्रहरीसँगको सेटिङमा नक्कली बिल बनाएर सुनसरीका सीमावर्ती क्षेत्रबाट दैनिक हजारौं बोइलर कुखुरा तस्करी भइरहेको खुलासा भएको छ।

आफ्ना फर्मका कुखुरा बिक्री हुन छाडेपछि सुनसरीका दर्जनबढी कुखुरा व्यवसायीले भारतीय नाका चेकजाँचमा एक हप्ता अगाडि निस्किए। चेकजाँच गर्दा रातारात हजारौं कुखुरा सीमावर्ती क्षेत्रका बनिबनाउ खोरमा भर्ने र दिनभरी सप्लाई गर्ने गरेको खुलासा भयो। त्यसपछि उनीहरूले गस्ती सुरु गरे।

प्रहरीको मिलेमतोको आशंका

लामो समयदेखि तस्करी भएको थाहा पाएका व्यवसायीले प्रहरी प्रशासनलाई दबाब दिएर मंगलबार बिहानै सीमाक्षेत्रमा लागे। त्यसपछि अझै स्पष्ट भयो यहाँ रातारात कुखुरा तस्करी हुँदो रहेछ।

मंगलबार कुखुरा व्यवसायी र प्रहरीको टोलीले ११ वटा मोटरसाइकलमा ५ सय ७२ वटा कुखुरा अर्थात् झण्डै १७ क्विन्टल जिउँदो कुखुरा नियन्त्रणमा लियो। व्यवसायीले तस्करीमा संलग्न व्यक्तिसहित कुखुरा नियन्त्रणमा लिएको थियो। तर प्रहरीले तस्कर भगाएर बेवारिसे कुखुरा फेला भनेर रिपोर्ट दियो।

सुनसरी दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले दिएको रिपोर्ट (मुचुल्का) पशु क्वारेन्टाइन विराटनगर कार्यालयलाई दिएको छ। रिपोर्टमा बेवारिसे अवस्थामा कुखुरा र मोटरसाइकल फेला परेको उल्लेख छ।

पक्राउ गरेर ल्याइएका कोही पनि व्यक्तिको फोटो खिच्न वा तस्करीका कुखुराको भिजुयल फोटो खिच्न पनि संचारकर्मीलाई दिएन। व्यवसायीले कुखुरा तस्करीमा संलग्नलाई कारबाही गर्न दबाब दिए पनि प्रहरीले मानेन। व्यवसायीले भने कुखुरा तस्करलाई छोड्दा प्रहरीको मिलेमतो भएको आशंका गरेका छन्।

‘विगत केही दिनदेखि भारतीय कुखुरा व्यापक रुपमा तस्करी हुने गरेको छ,  विराटनगर, इनरुवा, इटहरी, झुम्का, खनार, दुहबीदेखि पथरीसम्म तस्करीका कुखुरा जान्छन्,’ इनरुवाका कुखुरा व्यवसायी मनोज कुँवरले भने, ‘मोटरसाइकलमा नेटको झोलाभित्र कुखुरा हालेर नक्कली बिल, नक्कली दाना चल्लाको बिल बनाएर तस्करी गरिरहेका छन्।’

बोर्डर छलेर आएको अवस्थामा तस्करीमा संलग्नलाई जनही २५ हजार तथा त्यस्ता बस्तुमा बर्डफ्लु वा कुनै रोग देखिएमा त्यसको दोब्बर जरिमाना हुने व्यवस्था छ। तर यतिकै उनीहरुलाई छाडिएको व्यवसायीको गुनासो छ।

सुनसरीको सीमावती नाका घुस्की, भुटाहा, हरिनगरा हुँदै तस्करीका कुखुरा मोरङ र सुनसरीलगायतका ठाउँमा पुग्छ। अपुष्ट जानकारीअनुसार यहाँबाट तस्करी भएका कुखुरा काठमाडौं सम्म पुग्ने गरेको व्यवसायी दाबी गर्छन्।

मोटरसाइकलमा लामा लामा बाँस बाँधेर एकैपटक दर्जनौं नेटको झोलाभित्र कुखुरा हालेर नक्कली बिल, नक्कली दाना चल्लाको बिल बनाएर तस्करले कुखुरा तस्करी गरिरहेका छन्।

‘प्रहरीले फाट्ट–फुट्ट पहिले पनि पक्राउ गर्थ्यो, नेपालमा खोर बनाएको हुन्छ, नेपाली पान नम्बरमा बिल पनि बनाएको हुन्छ,’ खनारका कुखुरा व्यवसायी सुरेशकुमार माझीले भने, ‘चल्ला हाल्दैनन् तर राती माउ कुखुरा ल्याउने र दिउँसो सप्लाइ गर्ने काम गर्छन्। तस्करहरुले दैनिक ५ हजारबढी कुखुरा तस्करी गर्ने गरेको हाम्रो अनुमान छ।’

कुखुरा वा कुखुराजन्य वस्तुको आयातमा सरकारले प्रतिबन्ध लगाएपछि नेपालमा कुखुरा व्यवसायीलाई राहत भएको थियो। त्यति मात्रै होइन व्यापार घाटाले चुर्लुम्म डुबेको अर्थतन्त्रलाई जोगाउन नेपालको पोल्ट्रि व्यवसायले मनग्ये भूमिका खेलेको छ। तर, रातारात हुने तस्करी नियन्त्रण गर्न पशु क्वारेन्टाइन मात्रै होइन प्रहरी पनि असक्षम सावित हुँदै गएको छ। केही दिन अगाडि मोरङको कानेपोखरीमा बर्डफ्लुको संक्रमण देखिएको थियो।

त्यसपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा कुखुरा तथा कुखुराजन्य वस्तु ओसारपसारमा रोक लगाएको पशु क्वारेन्टाइन विराटनगर कार्यालयका प्रमुख केशवकुमार सिंहको भनाइ छ।

तर, तस्करी भएर भारतबाट भने खुलेआम कुखुरा आयात भइरहेको छ। पशु क्वारेन्टाइन विराटनगरका अनुसार गत शनिबारयता मात्रै भारतबाट आयातित लगभग ८ सयवटा कुखुरा नष्ट गरिएको छ। आफूहरुले मात्रै तस्करी नियन्त्रण गर्न नसक्ने भएको कारण प्रहरीको सहयोगमा काम भइरहेको कार्यालय प्रमुख सिंहको भनाइ छ।

प्रतिबन्ध अगाडि भारतबाट नेपालमा रोगी, सडेगलेका तथा जथाभावि औषधि हालेका वस्तु भारतबाट निकासी हुने गरेको थियो। अहिले पनि लुकिछिपी त्यसखालका वस्तुको आयात भइरहेको छ।

क्वारेन्टाइनले बेलाबेलामा सीमामा अनुगमन गर्ने गर्छ। तर रोकिन नसक्नु प्रहरी प्रशासनको असफलता हो। भारतबाट तस्करी गरि ल्याएको कुखुराले नेपाली कुखुरा कृषक मारमा परेका छन् भने यसले बर्डफ्लुको संक्रमण भित्रने खतरा पनि उत्तिकै रहेको छ।

सीमावर्ती क्षेत्रमा राखिएका प्रहरी पोष्टका इन्चार्जहरुको मिलेमतो हो भने माथिल्लो निकायबाट खोजी र अनुसन्धान हुनु जरुरी भएको कुखुरा व्यवसायी बताउँछन्। सीमा क्षेत्रमा डेरा जमाएर बसेका तस्करको जालो तोड्नुको साटो सेटिङमा कमाउ धन्दामा प्रहरीको माथिल्लो निकायका अधिकारीनै संलग्न हुनसक्ने उनीहरुको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.