चुनावको चर्चाबीच के भन्छिन् रवीन्द्र पत्नी विद्या भट्टराई?

|
फाइल फोटो

पोखरा : निर्वाचन आयोगले आगामी मंसिर १४ गते देशका विभिन्न कारणले खाली रहेका निर्वाचन क्षेत्रका लागि उपनिर्वाचनको मिति तोकेको छ। देशका विभिन्न क्षेत्रमा हुने उक्त उपनिर्वाचनमा प्रतिनिधिसभाको लागि हुने क्षेत्र भने कास्की २ मात्र हो।

गत वर्षको फागुनमा तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की निर्वाचन क्षेत्र २ खाली छ। योसँगै गण्डकी प्रदेशको बाग्लुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) पनि खाली छ। यस क्षेत्रका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको जण्डिसको कारण केही महिनाअघि मृत्यु भएपछि यो क्षेत्र खाली भएको हो।

योसँगै तीन ठाउँमा वडाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ। बाग्लुङ बडीगाड गाँउपालिका २, नवलपुरको बौदिकाली ५, र लमजुङ सुन्दरबजार २, मा उपनिर्वाचन हुँदैछ।

रवीन्द्रको ह्याट्रिक एरियामा होला त वामदेवको इन्ट्री?

अहिले तत्कालीन माओवादी र एमाले मिलेर नेकपा बनेको छ। स्वर्गीय नेता अधिकारी एमालेबाट चुनाव जितेको भएर उनको क्षेत्रमा तत्कालीन एमालेबाटै उमेदवार बन्ने निश्चित छ। कास्कीकै नेकपाका नेताले पनि अधिकारीको क्षेत्रबाट चुनाव लड्ने सुर नकसेका भने होइनन्, तर उनीहरूमा पनि एउटा स्वार्थ छ।

‘यहाँ चुनाव लड्न स्थानीय नेता नभएका होइनन्। तर, यहाँका नेताहरूले केही स्वार्थ लिएका छन्’, नेकपा कास्कीका एक नेताले भने, ‘अहिले वामदेवलाई चुनाव लड्न दियो भने अर्को पटकलाई डिस्टर्ब गर्दैनन्। यो उपयुक्त बेला पनि हो। त्यसैले यहाँका नेताहरूमा इच्छा भए पनि चुनाव लड्दैनन्।’

एक थरी नेताले कास्कीमा चुनाव जितेर गए वामदेव प्रधानमन्त्री नै हुने महत्वकांक्षा पनि पालेका छन्। एक नेताले भने, ‘वामदेव पार्टीमा कस्ता नेता हुन भनेर त मैले भन्न नपर्ला। उनलाई यहाँ चुनाव जिताएर पठाए प्रधानमन्त्री हुने हैसियत राख्छन्। प्रधानमन्त्री भइहाले कसो यहाँ विकास नल्याउलान् र, पक्कै रवीन्द्रलाई बिर्साउनेछन्।’

वामदेवले फकाएकै हुन त नेतालाई?

वामदेवलाई जसरी पनि पार्टी मात्र हैन आफू नै सरकारमा रहन पद चाहिएको छ। यसअघि पनि काठमाडौंका सांसदलाई नै राजीनामा गराएर चुनावमा उत्रने ताल कसेका उनले यसपटक भने सहजै पाउने नेकपाकै नेता बताउँछन्।

‘वामदेवका नजिकका नेतादेखि सचिवालयका केही नेता कास्की आएर यहाँको नेताको विचार बुझेर गइसकेका छन्,’ नेकपाका नेताले भने, ‘सचिवालयका पदाधिकारीले यहाँका नेतृत्वलाई एक्लाएक्लै भेटेर फर्केका छन्।’

के भन्छिन् विद्या भट्टराई?

स्वर्गीय पर्यटनमन्त्री अधिकारीकी पत्नी विद्या भट्टराई चुनावमा उठ्नुपर्ने तल्लो तहका नेकपाका नेता कार्यकर्ताको मत छ। तत्कालीन एमालेकै राजनीतिक पृष्ठभूमी भएकी र विद्यार्थी नेतृत्वमा समेत रहेकी विद्यालाई रवीन्द्रको ठाउँमा चुनाव लडाउनु पर्ने एक थरीको माग छ। तर, उनलाई कुनै उपाय लगाएर राष्ट्रियसभामा ल्याएर कास्की २ बाट भने वामदेवलाई नै उठाउने तयारी नेकपा नेतृत्वको छ।

विद्या भने पार्टीले गर्ने निर्णयमा आफ्नो सहमत रहने बताउँछिन्। ‘मैले नै टिकट पाउनुपर्छ भन्दिनँ। तर, जनताको इच्छा र मतको कदर भने पार्टीले गर्नुपर्छ,’ उनले भनिन्, ‘पार्टीको निर्णय मलाई मान्य छ।’ विद्यालाई राष्ट्रियसभाका लागि मनाएर वामदेवको लागि वातावरण बनाउनुपर्ने नेकपा कास्कीका नेता पनि कसिएका छन्।

‘जिल्लामा छलफल नै भएको छैन’

नेकपा स्रोतले केन्द्रबाट वामदेवका सचिवालयबाट र वामदेव प्यानलका केही नेता आएर कास्कीमा छलफल गरेर गएको बताए पनि नेकपा कास्कीको नेतृत्व निर्वाचन केन्द्रित भएर छलफल नभएको बताउँछ।

‘यहाँ को चुनाव लड्ने, को-कोले इच्छाएका छन् पनि थाहा छैन,’ नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘निर्वाचनको लागि यहाँ छलफल भएको छैन।’

कांग्रेसबाट उमेदवार को?

नेकपामा जस्तो रस्साकस्सी छ, कांग्रेसमा पनि उत्तिकै छ। प्रखर वक्ताको रूपमा चिनिएका देवराज चालिसे पुनः चुनाव लड्ने सुरमा छन्। उनी स्वर्गीय रवीन्द्र अधिकारीको निकटतम प्रतिद्वन्दीसमेत हुन्। उनी यो पाँच वर्षको लागि आफू नै उमेदवार भएको दाबी गर्छन्।

तर, उनले भनेजस्तो सजिलो छैन। उमेदवार बन्न कांग्रेसको तर्फबाट अग्रपंत्तिमा नाम आए पनि अर्का नेता धनराज गुरुङको पनि चर्चा उत्तिकै छ। गुरुङले त सामाजिक सञ्जालमै लेखेर आफू कास्कीमा चुनाव लड्न तयार रहेको समेत बताएका छन्। कांग्रेसमा पनि आधा दर्जन नेताले इच्छा देखाएका छन्। 

रवीन्द्रको व्यक्तित्वले अब काम गर्ला?

रवीन्द्र नेकपामा मात्र हैन नेपालमै राजनीतिक दलभित्र उदयमान युवा नेता थिए। उनको ओझिलो व्यक्तित्वको कारण पनि उनले चुनावमा ह्याट्रिक गरे। रवीन्द्रले अन्तिम पटक चुनाव लड्दाको मतपरिणाम हेर्ने हो भने पनि उनको व्यक्तित्व र छविले चुनावमा गतिलो काम गरेको देखिन्छ।

२०७४ को चुनावमा रवीन्द्र आठ हजार ५४६ मत बढी ल्याएर विजयी भएका थिए। रवीन्द्रले २७ हजार २०७ मत ल्याएका थिए। निकटतम् प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार ६६१ मत थियो। समानुपातिकतर्फ भने मत यतिधेरै भिन्नता देखिँदैन। समानुपातिकमा भने ६ हजार ५०० को मतान्तर रहेको थियो।

हल्ला धेरैको भिडन्त नेकपा र कांग्रेसको

देशकै ठूलो महानगरसमेत पर्ने यस क्षेत्रमा चुनाव लड्न साझा पार्टीका नेता रवीन्द्र मिश्र पनि आउने चर्चा छ। उनको पार्टी नफुट्दा काठमाडौंमा राम्रै मत ल्याएको थियो। तर, कास्कीमा तत्काल रवीन्द्रको पार्टी प्रमुख प्रतिस्पर्धीमा रहने देखिँदैन। यहाँ उही पुराना शक्तिहरू नेकपा र नेपाली कांग्रेसबीच चुनावी भिडन्त हुने देखिन्छ जुन अघिल्लो चुनावमा पनि हुँदै आएको थियो।

अलिअघि पोखरा आएका कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताले पनि कास्की २ जसरी पनि कांग्रेसले जित्नुपर्ने अभिव्यक्ति दिएका थिए। कांग्रेसले आन्तरिक तयारीसमेत गरेको देखिन्छ। पार्टीको केन्द्रीय नेतृत्वको बाक्लो पोखरा आउजाउले पनि यो प्रष्ट हुन्छ।

उपनिर्वाचनमा कास्की २ मा ७२ हजार २६१ मतदाताले मतदान गर्न पाउनेछन्। यो तथ्यांकमा अघिल्लो निर्वाचनपछि थपिएका मतदाताको संख्यासमेत जोडिएका छन्। गण्डकीका अन्य ठाउँ बाग्लुङको २ (ख) प्रदेशमा तत्काली जनमोर्चाका प्रदेशसभाका सदस्यको निधन भए पनि आगामी उपनिर्वाचनमा पनि जनमोर्चाकै बाहुल्यता रहने देखिन्छ। अन्य खाली भएका ठाउँमा तत्कालीन उमेदवार बनेका पार्टीकै उमेदवारले चुनाव जित्ने सम्भावना रहेको बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.