|

म्याग्दी : हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा मजदुर जोखिम मोलेर सडक मर्मत कार्यमा लागेका छन् भने पैदल यात्री पहिरो छिचोल्दै यात्रा गर्न बाध्य छन्। गत आइतबार घोप्टेभीरमा कालीगण्डकी नदीको कटानका कारण सडकमा क्षति पुगेपछि यस्तो अवस्था आएको हो।

वैकल्पिक पदमार्गको अभावमा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक एवं तीर्थयात्री जोखिम मोलेर वारपार गर्न बाध्य भएका हुन्। सडकमा चार दिनदेखि सीधा सवारी अवरुद्ध बनेपछि बेनी-जोमसोम कोरला सडक आयोजनाले सडक खुलाउन विस्फोटक पदार्थ प्रयोग गरी मर्मतका काम थाले पनि अझैसम्म सफल हुन सकेको छैन।

सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभीरमा कालीगण्डकी नदीको कटानले क्षति पुर्‍याएको ठाउँमा स्काभेटरमाथि चढेर मजदुरले पहरो खापिरहेका छन्। अलिकति असावधानी भयो भने ज्यानैसमेत जानसक्ने सम्भावना रहेको भए पनि जोखिम मोलेर सडक खुलाउने प्रयास भइरहेको बेनी-जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रशिंह शेरचनले जानकारी दिए।

पहिरोले सडकको करिब १० मिटर सडकको आधार नै भत्काएकाले भीरमा विष्फोटक पदार्थको प्रयोग गरी नयाँ ट्याक निर्माणको तयारी गरिएको उनको भनाइ छ। चार दिनदेखि सडक अवरुद्ध हुँदा मुस्ताङ जाने र त्यहाँबाट फर्कने यात्रुलाई समस्या भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.