|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ। राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान संञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

 “सरकार कुहिरोका काग बनेको छ। यसलाई अंग्रेजीमा क्लु लेस भन्छ। ७७ जिल्ला मध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ती मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यको क्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। कतिजना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ? ” अधिकारीले भने।

उपचारमा संलग्न चिकित्सकदेखि मन्त्रीसम्मलाई डेंगुको संक्रमण हुदा पनि सरकार तथा सम्बन्धीत निकाय स्वास्थ्य मन्त्रालय जिम्मेवार बन्न नसकेको आरोप लगाए। उनले भने “के अझै पनि सरकार कुम्भकर्ण निन्द्राबाट व्यूँझिन चाहदैन ? सरकारले सदनमा उपस्थित भएर डेंगुको बारेमा सदनलाई जानकारी गराओस्।”

बैठकमा सत्तारुढ दलकै सांसद कोमल ओलीले पनि डेंगु संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गरे। उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर डेंगु संक्रमण तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।  डेंगु संक्रमणले महामारीको रुप लिईसकेको भन्दै उनले प्रभावकारी ढंगले प्रकोप नियन्त्रण गर्दै भविश्यमा आउन नदिन आवश्यक तयारी गर्न सरकारसंग माग गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.