|

म्याग्दी : डेढ दशकको सहरको बसाईलाई विट मारेर यहाँका एक युवा गाउँ फर्किएर व्यावसायिक रुपमा माछापालन थालेका छन्।

अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका सुजन राम्जाली १७ वर्षे पोखरा वसाईलाई विट मार्दै गाउँ फर्किएर रेन्बो ट्राउट जातको माछाको व्यवसायिक उत्पादन सुरु गरेका हुन्। गाउँमा माछापालनको राम्रो संभावना देखेर नौलो तरिकाले व्यवसाय सुरु गरेका उनको भनाइ छ।

गाउँमा संभावना नदेखेर युवाहरु सहर तर्फ आकर्षीत भएका समय सुजनले भने गाउँमा अथाह संभावना देखेर फर्किएका हुन्। स्थानीय स्रोत साधन र सीपलाई उपयोग गर्न सकेमा गाउँमा पनि पैसा कमाउन सकिने उदाहरण सुजनले प्रस्तुत गरेका छन्। सुजन र स्थानीय अर्का युवा इन्द्र थापाले संयुक्त रुपमा तातोपानी रेन्बो ट्राउट फर्म दर्ता गरी व्यवसायिक रुपमा माछापालन सुरु गरेका हुन्।

पोखरा बस्दा भुजुङ खोलास्थित गण्डकी ट्राउट फर्मको अवलोकन गरेपछि मन लोभिएर आयो राम्जालीले भने, ‘गाउँमै फर्किएर व्यवस्थित तरिकाले माछापालन गर्ने सोच पलायो।’ ‘आफ्नै जग्गा र पानीको स्रोत पनि प्रशस्त भएकाले माछापालनको संभावना देखेर गाउँ फर्किएको हुँ।’ उनले भने। गाउँ फर्किएर नौलो व्यवसाय गरौं भन्ने मन जागेर आयो। सहर बसेको युवा गाउँ फर्किएको देख्दा सुरुमा गाउँलेहरुले गाली गर्ने गरेको सुनाउँदै सुजनले भने ‘माछापालन देखेर गाउँलेहरु दंग परेका छन्। फर्ममा आएर गाउँलेहरुले तस्विर खिच्छन र मलाई बधाई दिन्छन्।’

अहिलेसम्म २० लाख रुपियाँ सम्म लगानी भइसकेको र आगमी दिनमा अझै व्यवसायलाई विस्तार गर्ने सोच रहेको उनले बताए। थप २० लाख लगानी गरेर व्यवस्थित फर्म सञ्चालन गर्ने योजना राम्जालीले बनाएका छन्। फर्मको अवलोकनमा आउने पर्यटकहरुलाई रेन्बो ट्राउटको स्वाद चखाउन भविष्यमा रेष्टुरेन्ट पनि सञ्चालन गर्ने सोच रहेको राम्जालीले बताए।ठाडो खोलामा रहेको पानीको स्रोतलाई उपयोग गरेर ८ वटा व्यवस्थित पोखरी निर्माण गरिएको छ।

पोखरीमा अहिले रेन्बो ट्राउट जातका २५ हजार भुराहरु छाडिएका छन्। तिनवटा पोखरीमा विक्री गर्न योग्य करिब ४ सय केजी भन्दा वढी रेन्बो ट्राउट माछा छन्। रेन्बो ट्राउट सँगै दुइपोखरीमा ग्रासकाप जातका माछा पनि छन्।

महंगो भएपनि माछा स्वादिष्ट भएकाले उपभोक्ताले खुसी भएर खरिद गर्ने उनको भनाई छ। तातोपानीमा बास वस्न आउने आन्तरिक एवम् वाह्य पर्यटकहरुले रेन्बो ट्राउटको स्वाद लिन चाहने भएकाले पनि बजारको कुनै समस्या छैन। तातोपानी बजारमा पर्यटकको चहलपहल हुने भएकाले उत्पादित माछा विक्रीमा कुनै समस्या नभएको राम्जालीले बताए।

प्रति केजी एकहजार तिनसय रुपियाँमा सहजै विक्री वितरण भएको छ उनले भने  ‘उत्पादन गर्न सके बजारको कुनै समस्या छैन।’ गाउँपालिकाले तालिम र अनुदानको व्यवस्था गरिदिए उत्साह मिल्ने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.