|

भारी सभामा होस या सानोतिनो पञ्चायतीमा पनि उखान तुक्का झिकेर मन्त्रमुग्ध बनाउने केपी ओलीले यसपटक कथा झिके। उनको कथाको मेहेरो चैं सत्तारुढ दल र मधेसी मोर्चापट्टी लक्षित थियो। सभामा एमाले कार्यकर्ताको बाक्लो उपस्थिति थियो। केपीले केही न केही नयाँ नौतुन उखान झिक्लान भनिकन कार्यकर्ताको मुख बँदेलको झैं चुच्चो र कान खरायोको झैं ठाडा भैसकेको थिए।

ओलीले ढिलो नगरीकनै कथा हाल्न थाले, ‘उहिले हामी सानो छँदाको कुरा हो। भारतबाट धेरै चटकेहरु नेपालको हाट बजारमा जादु देखाउने टिनको बाकस लिएर आउँथे। तिनले बाकसभित्र भारतका नामुद ठाउँ, मन्दिर, महलहरुको तस्विर टाँस्थे। ती चिज हेर्न बाकस बाहिर दुलाहरु बनाइएका हुन्थे। ती दुलाहरुबाट भित्रका रहस्यमय तस्विर हेर्न चटकेलाई पहिले नै दस्तुर बुझाउनु पर्दथ्यो। अहिलेको जस्तो सञ्चारको सुविधा भएको युग थिएन। सिनेमा हेर्न समेत ठूला सहर वा भारतमा पुग्नु पर्दथ्यो। गाउँ घरमा त तस्विर हेर्न पनि मौका जुर्नु पर्दथ्यो। ती भारतीय चटकेलाई पैसा तिरेपछि तिनले दूलोमा चियाउन दिन्थे। र चटकेले बाकसमाथि भएको हेण्डिल घुमाउँदै तस्विरको बारेमा बुझाउँदै भन्थे, कलकत्ताका हाउडाका पुल देखो, आगराका ताज महल देखो, दिल्लीका कुतुव मिनार देखो, इन्डिया गेट देखो आदि आदि। अहिले त्यस्तै सत्तारुढ दल र मधेसी मोर्चाहरुले चटके झैं पहिचानको देखो, संविधान संशोधनको देखो, संघीयताको देखो, धर्म निरपेक्षताको देखो भनेर जनतालाई अल्मल्याइ रहेको छन्।’

ओलीले कथाको अन्तिम हरफ भनिसिध्याएका थिएनन् उपस्थित कार्जेकर्ताले गडगडाहट ताली पड्काउन सुरु गरे। तालीको गडगडाहट र जोसलाई हेर्दै केपी खेलो हराएझै चारैतिर मुण्टो घुमाउँदै चुपचाप रोष्टममा उभिरहे। कथाको चुरोले वर्तमान समसामयिक राष्ट्रिय राजनीतिको रङ्ग घोलिसकेको थियो। कुनाकानीमा बस्ने केहीले ‘जनताको बहुदलीय जनवाद–जिन्दावाद’ को नारा लगाउन थाले। महेश बस्नेत टोली कालो भादगाउँले टोपीमा चन्द्र सूर्य अङ्कित झण्डा बोकेर उभिएका थिए। बस्नेतको इसारा पाउना साथ तिनले नारा घन्काए, ‘महान राष्ट्रवादी नेता केपी– हाईहाई। राष्ट्रघाती बाँकी नेता– बाईबाई।’

सभाको माहोल आधुनिक गीतगायनको कन्सर्ट जस्तै होहल्लामय हुँदै गयो। सभा दर्शकका क्रियाकलापमा केन्द्रित भैसकेको थियो। रोष्टममा उभिएका ओलीलाई कुनै कुरा सुझिरहेको थिएन। पहिचानको देखो, संविधान संशोधनको देखो, संघीयताको देखो, धर्मनिरपेक्षताको देखो भनेर खिल्ली उडाउँदै दर्शकदीर्घा पुरै सत्तारुढ माओवादी, कांग्रेस र मधेसी मोर्चाको खोइरो खन्न उर्लिसकेको थियो। उता कुनामा बसेर ‘जनताको बहुदलीय जनवाद– जिन्दावाद’ नारा लगाउने घनश्याम भुषालहरुको नारा मधुरो हुँदै गयो।

राष्ट्रवादी कम्ब्याटयान्ट फेसनका बस्नेतमार्का ‘भालेमुङ्ग्रो’हरुले सभालाई आफ्नो कब्जामा लिइसकेका थिए। बायाँ हातमा सूर्य छाप झण्डा, दायाँ हात उचाल्दै तिनले कोलाहलमय वातावरणलाई निरन्तरता दिइरहे। गधा पच्चिसी उमेर ननाघेका भालेमुङ्ग्रोहरुको ताकतबाट झिकेर सभालाई पूर्व अवस्थामा फर्काइ पुन सभामा रुपान्तर गर्ने गुञ्जायस कम हुँदै गैरहेको थियो। 

धम्मरधुस आसन ग्रहण गरी रहेका नेता माधव नेपाल, झलनाथ खनाल खेलो हराए झैं ट्वाल्ल परेर बसेका थिए। खनालको सोभायमान फेसनले दर्शकदीर्घामा कुनै प्रभाव पारेको थिएन। पूर्व सभामुख तिल चाम्ले जुँगाबीच मुस्किलले पच्चिस प्रतिशत जती मुस्कान छोडेर बसिरहे। उनले विगतमा संसद चलाउँदा जुन प्रकारको भूमिका देखाउँथे सायद यो भन्दा बढी गर्न रुचाएनन्। घनश्याम भुसालको भेजोमा पनि यो स्वतस्फुर्त माहोललाई अन्यत्र मोड्ने कुनै चिन्तनधारा आइनसकेकोले हुनसक्छ, उनी पनि जुल्फी हल्लाउँदै दर्शकदीर्घाका स्रोता जस्ता मात्र देखिएका थिए। प्रदीप ज्ञवाली, उनको तथाकथित साहित्यिक शालीन अनुहारमा चमक ल्याउन खोजे पनि उनको नाक, आँखा र मुख खुम्च्याइले यस्तै हो भन्नेमा एमालेका भद्रहरुलाई सम्झाइ रहेको जस्तो देखिन्थ्यो। उनको बडी लेङ्ग्वेजले ‘अन्धाको देशमा आँखा चिम्लिनु, लङ्गडाको देशमा खुट्टा खुम्च्याउनु’ भन्ने सन्देश दिइरहेको भान हुन्थ्यो। 

दर्शकको सक्रिय उत्तेजना थामिने कुनै संकेत नदेखेपछि ओलीले साम्य हुने इशारा गर्दै मुख खोले, ‘ल ल आज तपाईंहरुले जुनस्तरमा कुरा बुझ्नु भयो त्यो उच्च चेतनायुक्त छ। बाह्रवर्ष रामायण पढाउँदा पनि कतिले राम र सीता को थिए भन्ने बुझ्दैनन्। तर तपार्इँहरुले एउटा सानो कथा हाल्दा नेपालको पुरै समसामयिक राष्ट्रिय राजनीतिको चुरो थाहा पाउनु भयो। एउटा सानो आँखीझ्यालबाट सारा संसार थाहा पाइन्छ भनेको यही हो।’

दर्शकदीर्घाबाट फेरि नारा घन्कियो, ‘पहिचानको देखो, संविधान संशोधनको देखो, संघीयताको देखो, धर्म निरपेक्षताको देखो।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.