|

  • अनिल खत्री 

गुल्मी : प्रेममा न उमेरको सीमा हुन्छ, न त जन्मको बन्धन। त्यसैले प्रेममा सबै थोक जायज हुन्छ भन्ने भनाई चर्चित छ। तर, गुल्मीका एक प्रेम जोडीको हकमा यो भनाइ लागू भएन।

अर्बेनी–५ का ७८ वर्षीय वृद्ध लालबहादुर सुनार आफुभन्दा ३४ वर्ष कान्छीसँगको प्रेममा फसेपछि घर न घाटको भएका छन्। ४४ वर्षीया सावित्रा न्यौपानेसँग बसेको प्रेमको परिणाम स्वरुप उनी गाँउ निकाला भए।  पुस १ गते अर्बेनी गाँउ विकास समितिमा बसेको सर्वदलीय भेलामा 'लालबहादुर सुनार र सावित्राले पति-पत्नीका रुपमा एकअर्कालाई' स्विकार्ने कागज गरेका थिए। त्यसपछि उनीहरुलाई गाँउलेले मिलेर गाँउ निकाला गरे।

यसरी सुरु भयो घटना

४४ वर्षकी सावित्रा न्यौपानेको श्रीमान् चन्द्रकान्त न्यौपानेसँग राम्रो सम्बन्ध थिएन। चन्द्रकान्त कहिले वैदेशिक रोजगारीका क्रममा कहिले भारत जाने गर्थे त कहिले नेपालमै बस्‍ने गर्थे। सावित्रा अत्यन्तै विपन्न परिवारकी हुन्। उनी विगत ३ वर्षदेखि लालबहादुर सुनारसँग नजिक थिइन्। लालबहादुर सुनारकी पत्नीको २२ वर्षअघि नै निधन भैसकेको थियो।

गाउँलेले लालबहादुर र सावित्राबीचको सम्बन्धलाई लिएर अनेक टिकाटिप्पणी गर्न थाले। सम्बन्धका विषयमा टुंगो लगाउन गाउँमा सर्वदलीय बैठक नै राखियो। दलका स्थानीय नेता तथा गाउँ विकास समितिका कर्मचारीले न्यायाधिसका रुपमा फैसला गर्ने भए। अन्तत लालबहादुर र सावित्रालाई कागज गराइयो। कागजमा लेखिएको थियो,' अब देखि सुनार र सावित्रा पति-पत्नीका रुपमा रहने र चन्द्रकान्त न्यौपानेको सम्पत्तिमा सावित्राले अंश दाबी नगर्ने तथा काज किरियासमेत गर्न नपर्ने,' पुस १ गते यो कागजमा सावित्रा र लालबहादुरले हस्ताक्षर गरे। उनीहरुसँगै गाविस सहायक झविलाल न्यौपाने, कांग्रेस गाउँ सभापति रामप्रसाद न्यौपाने, एमाले अध्यक्ष देवी न्यौपाने, माओवादी केन्द्रका पुनाभद्र न्यौपाने र महिला प्रतिनिधि हरिकला न्यौपानेलेसहित स्थानीय २८ जनाले कागजमा हस्ताक्षर गरेका छन्।

कागजमा हस्ताक्षर गर्ने प्रमुख तीन दलका नेता र गाविस सचिव झविलालसहित अधिकांश व्यक्तिहरु सावित्राका श्रीमान् चन्द्रकान्त न्यौपानेका नातेदार हुन्।

बेपत्ता भए लालबहादुर

गाविस कार्यालयमा सर्वदलीय बैठक बसेपछि लालबहादुर र सावित्रा एकाएक गायब भएका थिए। त्यसपछि लालबहादुरका छोरा अनुरामले बाबुको खोजी गरिदिन निवेदन दिए। अधिकारकर्मीहरुले लालबहादुरलाई ओडारमा भेटे।

के भएको थियो पुस १ गते

पुस १ गते श्रीमान्-श्रीमतीका रुपमा एक अर्कालाई स्विकार्न बाध्य बनाएपछि सबैले मिलेर गाँउ निकाला गरिदिएको लालबहादुरको भनाइ छ। उनले गाविस कार्यालयमा कागज गरे लगत्तै आफ्नै छोरा समेतको संलग्नतामा गाँउले घर भत्काइदिएको आरोप लगाएका छन्। लालबहादुरलाई उद्धृत गर्दै अधिकारकर्मीहरुले भनेका छन्,'गाविस कार्यालयमै छलफल गराएर कागज गराई गाउँ निकाला गरिएको पाइएको छ। यस क्रममा सुनारको घर समेत भत्काइएको छ।'

गाँउलेले मिलेर घर भत्काइदिएपछि दुई रात जंगलको ओडारमा सुत्न बाध्य भएको लालबहादुरको दाबी छ।  आफ्ना बाबु खोज्नका लागि निवेदन दिने अनुराम आफैं बाबुलाई गाँउ निकाला गर्न अग्रसर भएको अधिकारकर्मीहरुको आरोप छ।

अर्बेनी गाँउ विकास समितिका कार्यालय सहायक झविलाल न्यौपाने र यही गाउँका चिन्तामणी न्यौपानेले गाँउ निकाला गर्ने अभियानमा अनुरामलाई सघाएको अधिकारकर्मीहरुको आरोप छ। पीडित लालबहादुरले अनुराम, चिन्तामणी र झविलाल विरुद्ध प्रहरीमा उजूरी गरेका छन्।   

घटनाबारे प्रहरीमा उजुरी परेपछि दोषीमाथि कारबाही गर्न अधिकारकर्मीहरुले माग गरेका छन्।

एमाले निकट उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य कृष्ण सुनार, इन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्याल, पत्रकार प्रेम सुनार लगायतको टोलीले डीएसपी महेन्द्र नेपाललाई भेटेर दोषीमाथि कारबाहीको माग गरेका छन्।

गाउँ निकाला जघन्य अपराध भएको दलित आयोगको ठहर 

यस विषयमा दलित आयोगको टोलीले अर्बेनीमा पुगेर स्थलगत अनुगमन गरेको छ। दलित आयोगका सदस्य गोविन्द सुनारको नेतृत्वमा स्थलगत अनुगमनका लागि गएको टोलीले यस घटना अहिलेसम्मकै मानवअधिकार हननका घटनामध्यै सबैभन्दा ठुलो रहेको निष्कर्ष निकालेको छ। आयोगका सदस्य गोविन्द सुनारले दोषीलाई कारबाही गर्न माग गरेका छन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भोलाबहादुर रावलले आरोपित दुबै जना गाउँमा नभई फरार रहेकोले पक्राउ गर्न नसकिएको बताए। दिनहुँ जसो साझा पोशाकमा प्रहरी त्यस गाउँमा पठाए पनि उनीहरु फेला नपरेको जानकारी दिए।

घटनाको बिषयलाई लिएर राष्ट्रिय स्तर सम्मका सञ्चार माध्यमले समेत सुरु देखि नै निरन्तर पछ्याई रहेपछि सरोकारवाला निकाय ध्यानकृष्ट भैरहेको छ। थप दबाब सिर्जना गर्न आयोगका सदस्य गोविन्द सुनारसहित जिल्लाका दलित अगुवा र पत्रकार एवं मानव अधिकारकर्मीको टोलीले जिल्ला प्रसासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

प्रधानमन्त्रीलाई ध्यानकर्षण पत्र

नेपाल दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष धर्म बिश्वकर्माले यस घटनामा गाउँका प्रमुख राजनीतिक दलका नेताहरु नै गलत देखिएको बताए।

उनले सार्वजनिक अपराधको मुद्दा दायर भएको एक साता बितिसक्दा समेत आरोपितलाई पक्राउ गर्नुको सट्टा उल्टै काँधमा बोकेर घटना थामथुम पार्ने प्रयास गर्नु निन्दनिय रहेको बताएका छन्। यस घटनाका विषयमा नेपाल दलित मुक्ति मोर्चाले ज्ञापन पत्र समेत बुझाएको छ।  ज्ञापन पत्र बुझ्दै प्रसासकिय अधिकृत भक्तिराम मरासिनीले प्राप्त ज्ञापनपत्र र पीडितको निवेदन प्रधानमन्त्री कार्यालयमा पठाउने बताएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.