|

एकासी वर्षीय वृद्धको भेष बनाएर अमेरिका जान लागेका एक भारतीय युवा विमानस्थलबाट पक्राउ परेका छन्।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्यूयोर्क जान लागेका ३२ वर्षीय जयेश पटेललाई भारतीय प्रहरीले पक्राउ गरेको हो । उनलाई विमान चढ्न लागेको बेला नक्कली राहदानीसहित गत आइतबार पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

फुलेको दाह्री र मोटो चस्मा लगाएका ती युवाले प्रारम्भिक सुरक्षाजाँच र अध्यागमन ह्वीलचेअरमा बसेर पार गरेका थिए। तर उनले सबै अधिकारीहरूलाई झुक्याउन भने सकेनन्। 

सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि उनीमाथि शङ्का बढेको भारतीय अधिकारीले जनाएका छन्।  यात्रुको हुलिया र छाला हेर्दा राहदानीमा उल्लिखित उमेरसँग मेल खाएजस्तो नदेखिएको उनीमाथि जाँच गरिएको थियो। 

जाँचका क्रममा पटेलले आफूले वृद्धको भेष बनाएको र उक्त राहदानी गैरकानुनी रहेको स्वीकार गरेका थिए। उनलाई पक्राउ गरेर अध्यागमनका अधिकारीहरूलाई जिम्मा लगाइएको थियो। उनीमाथि छानबिन जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

पटेल रोजगारीका लागि उनी अमेरिका जाने तयारीमा थिए। तर उनको प्रोफाइलका कारण सहजै भिसा प्राप्त गर्न सक्ने अवस्था थिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.