'सैन्य अभ्यास गर्ने अमेरिकी प्रस्ताव नेपालले अस्वीकार गरोस्'

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले 'इन्डोप्यासिफिक'बारे सरकारलाई अमेरिकी दूतावासले स्पष्टिकरण सोधेको हो कि होइन? भन्नेबारे स्पष्ट पार्न माग गरेकी छन्। साथै उनले अमेरिकी सेना र सशस्त्र प्रहरीबीच हुने भनिएको सैन्य अभ्यास रोक्न पनि माग गरेकी छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भुसालले संचारमाध्यममा आएजस्तो इन्डोप्यासिफिक सैन्य गठबन्धनमा नेपाल रहेको हो कि होइन? भनेर जवाफ मागेको हो कि होइन भनेर सरकारले स्पष्ट पार्नुपर्ने बताएकी हुन्। उनले नेपालले आफूलाई असंलग्न परराष्ट्र नीतिमा कायमै राख्नुपर्ने पनि बताइन्।

विश्व दुई ठूलो ध्रुवमा रहँदा पनि नेपाल असंलग्न रहेको स्मरण गर्दै सांसद भुसालले आगामी दिनमा पनि नेपालले आफूलाई तटस्थ राख्नुपर्ने बताइन्।

सांसद भुसालले भनिन्, 'पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिमा अडिग रहेको र इन्डोप्यासिफिकमा नेपाल नरहेको भनेको कुरालाई अमेरिकी सरकारले दूतावासमार्फत नेपाल सरकारसँग स्पष्टिकरण माग्दैछ भनेको सुनियो, यसमा सरकारले सपष्ट पारोस्।'

सांसद भुसालले अमेरिकी सेनासँग सशस्त्र प्रहरीलाई सैन्य अभ्यास नगराउन पनि सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले भनिन्, 'अगष्ट महिनामा अमेरिकी दूतावासले नेपाल सरकारलाई चिठी लेखेको छ। नोभेम्बर ४ देखि १५ सम्म नेपालको सशस्त्र प्रहरीसँग दुई सैन्य अभ्यास गर्ने भनेर। अन्नपूर्ण र कुरिनटारमा अभ्यास गर्ने भनेर चिठी लेखेको छ। यो प्रकारको अभ्यास नगरियोस् भन्ने आग्रह गर्दछु।'

नेपाल इन्डोप्यासिफिक सैन्य समूहमा नरहेकाले उक्त अभ्यास गर्न नहुने भुसालको भनाइ थियो। उनले भनिन्, 'सशस्त्र प्रहरीसँग अमेरिकी सेनासँग सैन्य अभ्यास नगरियोस्। नेपालले अमेरिकी प्रस्ताव अस्वीकार गरोस्।'

सम्बन्धित समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.