कर नतिरे एनसेलका टावर फुकालिदिने

|

काठमाडौं : सत्तारुढ नेकपाका सांसद राजबहादुर बुढाले निजीक्षेत्रको मोबाइल फोन सेवाप्रदायक कम्पनी एनसेलका टावर जनताले फुकालेर सरकारलाई बुझाइदिने बताएका छन्। उनले सर्वोच्च अदालतले एनसेलबारे गरेको फैसलाको पनि आलोचना गरेका छन्। 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बुढाले सरकारले तोकेको कर तिर्न अटेरी गरेर एनसेलका देशभरका टावर फुकालिदिने बताएका हुन्।

कर्णालीका जनताले राजधानी सुर्खेतमा एक डोको स्याउ बेच्दा कर तिरिरहेको बताउँदै सांसद बुढाले खर्बौं कारोबार गर्ने एनसेलले कर तिर्नुनपर्ने अवस्था कसले ल्याएको भन्दै प्रश्न गरे। उनले कर नतिरी दादागिरी गर्ने एनसेललाई ठेगान लाउने चेतावनी दिए। 

‘एनसेलका टावरमा तोडफोडका कुरा गर्दैनौँ तर यसैगरी कर तिर्न अटेरी गरेर हामी टावर फुकाल्न बाध्य हुनेछौँ’, उनले भने, ‘कर नतिर्ने एनसेलले राज्य कब्जा गर्न लागिसक्यो। एउटाले सकेन भने राज्यका तीनै अंग मिलेर एनसेलविरुद्ध लड्नुपर्यो।’

सरकारले तोकेको ६२ अर्ब कर एनसेलले नतिर्नुपर्ने गरी सर्वोच्च अदालतले गरेको फैसलाप्रति सांसद बुढाले कडा आपत्ति जनाए। उनले सर्वोच्चमा पछिल्लो समय भाइरस नै पसेको दाबी गरे।

‘पछिल्लो समय सर्वोच्च अदालत (न्यायालय) मा कुन भाइरस पस्यो? सर्वोच्चले एनसेललाई कसरी चोख्यायो?’, उनले भने, ‘एनसेलले नै देश कब्जा गर्ने भयो। अर्को यस्तै एनसेल आयो भने के गर्ने? न्यायालयको यो निर्णयबारे समीक्षा हुनु आवश्य छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.