|

विदुर कटुवाल

उदयपुर : सरकारी कार्यालयहरु अपाङ्गमैत्री बनाउन ‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९’ जारी भएको छ। तर ४ वर्षसम्म पनि यो निर्देशिका पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन्। 

निर्देशिका कार्यान्वयनमा नआउँदा उदयपुरका सरकारी तथा गैरसरकारी कार्यालय अपाङ्गमैत्री छैनन्। 

अपांग विकास संघ उदयपुरका अध्यक्ष चन्द्र राईले सबै सरकारी तथा गैरसरकारी कार्यालयहरु अपाङ्गमैत्री बनाउनुपर्ने माग गर्दै आएको बताए। ‘अधिकतर ठूला र बढी जनसरोकारका कार्यालयहरु नै अहिलेसम्म अपाङ्गमैत्री छैनन,’ राईले भने,‘जिल्ला विकास समिति, त्रियुगा नगरपालिकाजस्ता बढी जनसरोकार राख्ने कार्यालयमा अपाङ्गलाई सेवा लिन सहयोग माग्नु पर्छ।’

अपाङ्गता भएकाहरुलाई दोस्रो तलाको कार्यालयमा छिर्न समस्या हुने गरेको अपाङ्गता संघका पूर्व अध्यक्ष सीता पौडेल बताइन्। ‘पहिलो तलामा जसोतसो काम लिएपनि दोस्रो तलामा जान गाह्रो छ,’ पौडेलले भन्नि, ‘कार्यालय भवनमा अपाङ्गतामैत्री पूर्वाधार नभएका कारण हामीजस्ता अपाङ्गता भएकालाई धेरै समस्या छ।’ 

संघका अनुसार सदरमुकाममा केवल आधा दर्जन कार्यालयको भुँईतला अपाङ्गतामैत्री छ। बाँकी कुनै पूर्वाधार अपाङ्गमैत्री छैन।

यी कार्यालय अपाङ्गमैत्री छन् 
जिल्ला अस्पताल, जिल्ला प्रशासनको पुरानो भवन, जिल्ला अदालत, महिला तथा बालबालिका कार्यालय र मालपोतका भुँईतला अपाङ्गमैत्री बनाइएको छ। 

यी महत्वपूर्ण कार्यालय अपाङ्गमैत्री छैनन्

जिविस, नगरपालिका, प्रहरी, सिंचाई डिभिजन, खानेपानी डिभिजन, जिल्ला कृषि विकास, भूसंरक्षण, सगरमाथा आयुर्बेदिक औषधालय, सडक कार्यालय, नापी शाखा, निर्वाचन, शिक्षा, वन, रेडक्रस, सहकारी, कारागार, कोष तथा लेखा नियन्त्रक कार्यालय, साना सहरी, जिल्ला प्रशासन कार्यालयको नयाँ भवन र ग्रामिण पूर्वाधार विकास कार्यक्रमको कार्यालयमा अपाङ्गमैत्री पूर्वाधार छैन। 

यथाशक्य अपाङ्मैत्री भवन बनाउन माग 
कार्यालय भवनहरु यथासिघ्र अपाङ्गमैत्री बनाउन अपाङ्ग संघले माग गरेको छ। ‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९’ ले अपाङग्मैत्री कार्यालय अनिवार्य गरेकाले निर्देशिका कार्यान्वयन हुनुपर्ने संघको माग छ। संघका अध्यक्ष चन्द्र राईले सरकारी भौतिक संरचना, भवन तथा कार्यालयहरु अपाङ्गमैत्री नहुँदा समस्या उत्पन्न भएको बताएका छन्। सदरमुकामका ३ नगरपालिका र जिल्लाका ४०  गाविसका कुनै पनि भवन अपाङ्गमैत्री नभएको संघले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.