|
फोटो : भूकम्पपछि ध्वस्त लिपिङ बजार

  • रमेश पराजुली

सिन्धुपाल्चोक : जुरे पहिरो, भूकम्प र भोटेकोशीको बाढीका कारण तहसनहस भएको चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी बजारमा चहलपहल बढ्न थालेको छ।

नेपाल–चीनबीचको सीमा सुरक्षा बैठक बसेको एक साता नबित्दै नेपाली अधिकारीहरूलाई खासामा बोलाएर चीनले नाका खोल्ने संकेत दिएको थियो। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल चिनियाँ पक्ष नाका खोल्न इच्छुक देखिएको बताउँछन्। ‘उनीहरूको सक्रियाताले नाका सञ्चालन गर्न खोजेको देखिन्छ,’ प्रजिअ सिलवालले भने। केही समयअघि मात्रै चिनियाँ अधिकारीहरुले उनीसँग खासामा छलफल गरेका थिए।

सिन्धुपाल्चोकको चौतारामा सम्पन्न सीमा सुरक्षा बैठकमा नेपाली अधिकारीहरूले नाका सञ्चालनको कुरा प्राथमिकताका साथ उठाएपछि चिनियाँले खासामा बोलाएर नाका खोल्ने औपचारिक सूचना दिएका थिए।

चिनियाँले पक्षले सडक स्तरोन्नतिपछि नाका सञ्चालन हुने जानकारी गराएको छ। भोटेकोसी बाढीले क्षति पु¥याएको अरनिको लोकमार्गको जुरेपहिरो खण्ड र निर्माणाधीन सुख्खा बन्दरगाहदेखि मितेरी पुलसम्मको सडक चिनियाँ पक्षले तीव्र गतिमा मर्मत गरिरहेको छ।

चीनका प्राविधिकले भूकम्पपछिको पहिरो हटाउँदै व्यापारिक नाका जोड्ने सडक पूर्वअवस्थामा ल्याएका छन्। सडक सुधारसँगै नाकाबाट व्यापार सञ्चालन हुने आशमा स्थानीयबासी हर्षित छन् । सुख्खा पहिरो रोकिएकाले चहलपहल बढेजस्तो लाग्छ,’ स्थानीय सांगे शेर्पाले भने, ’तातोपानी नुहाउन आउने पनि बढेका छन्।’

जुरे पहिरो, भूकम्प र गत असारको भोटेकोसी बाढीले सीमाको लिपिङ बजार प्रभावित भएको थियो। भूकम्प आएकै दिन गएको पहिरोले सीमाका घरहरू भत्केका थिए। डेढ बर्षसम्म तातोपानी नाका सुनसान थियो। तर अहिले सडक मर्मतको काम तिव्र भएसँगै बिस्थापित भूकम्प तथा बाढीपीडितहरु घर र्फकन थालेका छन्। 

सडक मर्मत सुरु भएसँगै नाका सञ्चालन हुने आशामा स्थानीयले साना किराना पसल, होटल र तरकारी पसलहरू खुलाउन थालेका छन्।

गत वर्षामा मात्रै भोटेकोसी उर्लिएपछि करिब ८० भन्दा धेरै घर बगाएको थियो। भोटेकोसीले सीमाका घरहरू सबै ढालेको थियो। तर अहिले सडक निमार्णको काम सुरु भएपछि स्थानीयमा फेरि तातोपानी बजार पुरानै अवस्थामा फर्कने आशा बढेको छ। तातोपानी गाविस सचिव डम्बरबहादुर श्रेष्ठ सीमामा चहलपहल बढेको बताउँछन्,‘नाका खोल्न समस्या त धेरै छन् तर आशा गर्ने ठाउँ पलाएको छ,’ श्रेष्ठले भने।

सीमामा अहिले भन्सार र अध्यागमन प्रहरी पोस्ट मात्र छन्।‘सडक बनेलगत्तै स्थानीयको आउजाउ बढेको छ,’ सीमास्थित सशस्त्र प्रहरी बलका नायब उपरीक्षक विमल डाँगीले भने। चीन सरकारको सहयोगमा रेलवे कन्ट्रक्सन कम्पनीले सीमा सडकको ९२ किमिदेखि मितेरी पुलसम्मको सडक मर्मत गरिरहेको छ। भूकम्प लगत्तै सरकारको अनुरोधमा सुरु भएको सडक मर्मत बाढीले रोकिएको थियो। २०७१ साउनमा गएको भीषण पहिरोले अवरुद्ध भएको यही सडकखण्डको जुरेमा पर्ने भाग चीनकै सहयोगमा मर्मत भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.