|

सिरहा : जिल्ला सदरमुकाम सिरहास्थित सिरहा जिल्ला अदालतमा न्यायाधीशको सवारी चालकलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ।

महोत्तरीको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट आएको टोलीले न्यायाधीश नरनारायण पौडेलका सवारी चालक करिब ३१ वर्षीय बृजमोहन यादवलाई बिहीबार दिउँसो १ बजेतिर पक्राउ गरिएको हो। सिरहास्थित खड्ग होटल एण्ड लजमा मुद्दाका पक्षसँग लिएको एक लाख १० हजार रुपैयाँ रकमसहित पक्राउ गरिएका यादवलाई बर्दिवासस्थित अख्तियारको कार्यालय लगिएको छ।

सिरहा जिल्ला अदालतका ३ नं. इजलाशका न्यायाधीश पौडेलका सवारी चालक यादवलाई अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान गरिने सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद घिमिरेले जानकारी दिए। अख्तियारको नियन्त्रणमा परेका यादव सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुरका बासिन्दा रहेको जनाइएको छ।

चालु आर्थिक वर्षमामा चार पक्राउ

बर्दिवासस्थित अख्तियारको टोलीले चालु आर्थिक वर्ष २०७६/०७७ को साउन ३ देखि भदौ २६ गते बिहीबारसम्म छुट्टाछुट्टै ठाउँबाट दुई लाख ४५ हजार रुपैयाँ घुस रकमसहित चारजनालाई पक्राउ गरेको छ। अख्तियारको टोलीले भदौ २३ गते जिल्ला सदरमुकाम सिरहास्थित नेपाल विद्युत प्राधिकरणमा कार्यरत इलेक्ट्रिसियन ४० वर्षीय इलेक्ट्रसियन छेदीलाल साह सोनारलाई पक्राउ गरेको थियो।

प्राधिकरणमा जागिर लगाइ दिने आश्वासन दिंदै एक व्यक्तिसँग घुसवापत् लिएको ८० हजार रुपैयाँसहित सोनारलाई चोहर्वा सहायक सडक खण्डको विष्णपुर १ स्थित चोकको चिया खाजा पसलबाट पक्राउ गरिएको थियो।

त्यस्तै, सिरहा मालपोतमा कार्यरत नायव सुब्बा ४२ वर्षीय मिथिलेश ठाकुर र बरियारपट्टी गाउँपालिका ३ घर भई मालपोतमा लेखापढी व्यवसायीको काम गर्ने ४२ वर्षीय राजवंशी चौधरी साउन १३ गते अख्तियारको फन्दामा परेका थिए। मोहीको लगतकट्टा वापत् सेवाग्राहीसँग लिएको पाँच हजार रकमसहित दुईजनालाई पक्राउ गरिएको थियो।

त्यसअघि साउन ३ गते सिरहाको गोलबजार नगरपालिकामा कार्यरत ओभरसियर २५ वर्षीया उमा श्रेष्ठ सेवाग्राहीसँग लिएको ५० हजार रुपैयाँसहित चोहर्वास्थित चिया पसलबाट पक्राउ परेकी थिइन्। स्थानीय अशोक साहको होटलबाट उपभोक्ता समितिसँग लिएको ५० हजार रुपैयाँसहित ओभरसियर श्रेष्ठ पक्राउ परेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.