|

काठमाडौं : सरकारले बहुप्रतिक्षित जोगवनी–किमाथांका सडकको १४ किलोमिटर चट्टानी खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ।

चीन–भारत जोड्ने यो सडक २०७५ सालमै निर्माण पुरा गर्ने लक्षसहित काम भए पनि यो १४ किमि चट्टानी खण्डका कारण सम्भव भएको थिएन। ३ सय ४० किलोमिटर लामो जोगवनी–किमाथांका सडकले विराटनगरको रानीस्थित भारतीय सीमादेखि संखुवासभाको किमाथांकास्थित चीनको तिब्बतलाई जोड्छ।

सडक थालिएको ११ वर्षपछि निर्माण सक्ने गरी १४ किमि लामो चट्टानी खण्ड फोर्ने जिम्मेवारी नेपाली सेनालाई दिइएको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले दिए। 

संखुवासभा सदरमुकाम खाँदबारीबाट उत्तर चीनको किमाथांकातर्फ जोड्न चट्टानी खण्ड बाधक भएपछि त्यसलाई फोर्ने जिम्मा अब सेनाले पाएको हो। काठमाडौं-तराई फास्ट ट्रयाकसहित विभिन्न विकासका काममा जोडिएको सेनाले यो सडकको पनि जिम्मा पाएको हो। 

यो पनि : मन्त्रिपरिषद्का १९ निर्णय: इन्द्रजात्रा मनाउन सरकारको अक्षय कोष

यो सडकखण्ड अन्तरगत खाँदबारीबाट उत्तर चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा ठूला चट्टान र पहाडका कारण निर्माण रोकिएको थियो। ती स्थानमा विस्फोट नै गर्नुपर्ने भएकाले त्यसको जिम्मा सेनालाई दिने निर्णय सरकारले गरेको हो। 

यो सडकखण्ड अन्तरगत खाँदबारी–किमाथांका १६२ किलोमिटर लामो छ।  यही सडकको च्याम्पाङदेखि घोङगोप्पासम्मको १४ किलोमिटर चट्टानी खण्ड फोर्ने काम अब सेनाले गर्नेछ। यो सडक आर्थिक वर्ष २०६५/०६६ देखि खन्न थालिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.