|

बाँके : नेपालगन्ज उपमहानगरपालिका–२३, हिरमिनियास्थित ल्याण्डफिल साइट विधिवत रुपमा संचालनमा आएको छ।

एसियाली विकास बैंकको सहयोगमा एकीकृत सहरी विकास आयोजनाअन्तर्गत ३८ करोड बढी रुपैयाँ लगानीमा आधुनिक ल्यान्डफिल साइट निर्माण पूरा भएपछि शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले उद्घाटन गरेपछि विधिवत रुपमा संचालनमा आएको हो। नेपालगन्जमा संचालनमा आएको ल्याण्डफिल साइट नेपालको पहिलो भएको दाबी गरिएको छ।

उद्घाटन गर्दै शहरी विकास मन्त्री राईले नेपालगन्जवासीको अथक प्रयासपछि ल्याण्डफिल साइट निर्माण पूरा भई संचालनमा आएको बताए। उनले फोहर व्यवस्थापनका लागि आवश्यक पर्ने जनशक्ति र उपकरण खरिदका लागि रकम अभाव हुन नदिने प्रतिबद्धता जनाए।

उनले ल्याण्डफिल साइटमा निर्माण गर्न बाँकी रहेका संरचनाका लागि शहरी विकास मन्त्रालयले बजेटको ब्यवस्था गर्ने बताउँदै एक बाँकेको समग्र विकासका लागि आफू निरन्तर सक्रिय रहने जिकिर गरे। नेपालगन्जमा संकलन भएर ल्यान्डफिल साइटमा जम्मा पारिएका फोहर छुट्याउने, फोहर पानी र फिल्टर गरिएको पानी फाल्ने ट्यांकी लगायतका संरचना निर्माण भएको छ।

ल्यान्डफिल साइटमा नेपालगन्ज नगरका शौचालयबाट लगिएको फोहोर भण्डारण गर्ने व्यवस्था समेत मिलाइएको छ।

आयोजनाले ल्यान्डफिल साइटका लागि आवश्यक पर्ने १२ वटा ई–रिक्सासमेत खरिद गरिसकेको एकीकृत सहरी विकास आयोजनाले जनाएको छ। फोहर संकलनका लागि ११ हजार थान ‘डस्टबिन’ ल्याइसकेको छ।

फोहर संकलन गर्ने चारवटा गाडीसमेत ल्यान्डफिल साइटमा पुगिसकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले बताए। निर्माण पूरा भइसकेकोले अब फोहोर संकलनका लागि उपमहानगरपालिकाले घर–घरमा डस्टबिन वितरण गर्ने तयारी गरेको उनको भनाइ थियो।

सड्ने र नसड्ने फोहर राख्नका लागि दुई थरिका डस्टबिन ल्याएर वितरण गरिने बताउँदै उनले फोहर बोक्ने चारवटा ट्रिपर र एउटा सक्सन ट्यांकर पनि ल्यान्डफिल साइटमा व्यवस्था भइसकेको जानकारी दिए।

ल्यान्डफिल साइटमा ३५ टनसम्म फोहोर प्रशोधन गर्न सकिन्छ भने दैनिक ८ टनसम्म फोहोर प्रशोधन गर्न सकिन्छ। ल्यान्डफिल साइट उद्घाटन समारोहको अध्यक्ष नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राणाले गरेका थिए भने प्रदेश सांसद आइपी खरेल, विजय यादव, शहरी विकास मन्त्रालय सचिवलगायत उच्च पदस्थ कर्मचारीको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.