|

बैतडी : नेपाल भारत सीमानाका बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागी सरकारलाई दवाव दिन लागि थालिएको अनशन आज पनि जारी छ।  

दुई दशकदेखि पुल निर्माणका लागि विभिन्न माध्यमबाट दबाब दिए पनि कुनै सुनुवाई नभएपछि झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिको अगुवाईमा यही भदौ २२ गतेदेखि रिले अनशन शुरु भएको हो। 

जिल्ला प्रशासन कार्यालय अगाडि शुरु गरिएको रिले अनशनको पाचौं दिन आज गैरसरकारी संस्थाहरूले साथ दिएका छन्। अनसनमा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, विभिन्न गैरसरकारी संस्था, नेपाल पत्रकार महासंघ, रेडक्रस,राजनीतिक दल लगायतको समर्थन रहेको छ। 

झुलाघाटमा पक्की पुल बनाउनका लागि सबै दलका शीर्षस्थ नेताहरुले आश्वासन दिए पनि अहिलेसम्म पूरा नभएकाले आफूहरू आन्दोलनमा उत्रेको  पुल निर्माण संघर्ष समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले जानकारी दिए। 

झुलाघाट नाकामा पक्की पुल नहुँदा सुदूरपश्चिमको समग्र आर्थिक क्षेत्रको विकासमा बाधा पुगेकाले सरकारलाई दबाब दिनका लागि रिले अनशन शुरु गरिएको हो। झुलाघाटमा पक्की पुल नहुँदा यो क्षेत्रको धार्मिक पर्यटनमा समेत व्यापक असर परेको र  यहाँ उत्पादित वस्तुहरु निर्यात गर्न नसकिएको संघर्ष समितिले जनाएको छ। 

झुलाघाट नाका पुरानो नाका भएकाले यो नाकाको सुधार भए मात्रै यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने भएकाले आफूहरूले अनसनमा साथ दिएको गैरसरकारी संस्था महासंघ बैतडीका अध्यक्ष गोविन्दराज जोशीले जानकारी दिए। 

वि स २०५९ सालमा दशहजार बैतडीबासीको हस्ताक्षर संकलन गरेर तत्कालीन सरकार र भारतीय राजदूताबासलाई ज्ञापन पत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको  बताइएको छ।  यसका साथै  मोटरेवल पुल निर्माणको लागि  वि स २०७५  फागुनमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइएको थियो।  

नेपाल तथा भारतको सिमानदी झुलाघाटमा पुल निर्माण भएमा ब्यापार तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै बिगत २ दशकदेखि माग राख्दै आए पनि सुनुवाई नभएकाले अनसन सुरु गरिएको उद्योग बाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.