|

मुगु : गएको साउन ३२ गते परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले दर्जन बढी काठे पुल बगाउदा आवतजावतमा समस्या भएको छ। छायानाथ रारा नगरपालिका अन्तर्गत वडा नम्बर १,४, ५,६,७ मा पर्ने गमगाढ खोलामा आएको बाढीले एकदर्जन बढी काठे पुल र एक झोलुङ्गे पुल बगाएको थियो।

खोलामा भएका पुल बगाएपछि अहिले नगरपालिकाको वडा नम्बर १०,११, १२ र कार्मारोङ गाउँपालिकाका स्थानीयलाई सदरमुकाम गमगढी आवतजावत गर्न समस्या भएको छ। अहिले स्थानीय प्रयोग गर्दै आएको अल्का साँघु भन्ने स्थानको काठे पुल बगाए पछि सानो काठमा जोखिम पूर्ण यात्रा गर्नु परिरहेको छ।

यता, वडा नम्बर १ मा पर्ने घट्टे साँघु , वडा नम्बर ४ को लुमड्कीका पुल नहुँदा मान्छेसँगै गाईवस्तु वारपार गर्न समस्या भएको छ। खोलामा पानीको सतह नघटुन्जेलसम्म लेकबाट तल झारेका गाईवस्तु खोला पारी नै राख्न अनुरोध गरिएको वडा नम्बर ४ का अध्यक्ष विष्णुकुमार भामले बताए।

यता, वडा नम्बर ६ कोटिला, मुन्दु र वडा नम्बर ७ पिनालाई जोड्ने एक झोलुङ्गे पुलसहित अरू काठे पुल बगाएपछि आवतजावतमा निकै कठिनाइ भोग्नु परेको वडा नम्बर ६ का स्थानीयवासी सलबहादुर रावलले गुनासो गरे। बाढीका कारण खोलामा रहेका दर्जनौं पानी घट्ट बगाएको थियो भने हजारौं रोपनी खेती योग्य जमिन बगाएको थियो।  बाढीले गमगाढ खोलामा रहेका सबै काठे पुल बगाउदा आवत जावतमा समस्या भए पनि सम्बन्धित वडापालिकाहरूले काठे पुल बनाउन सकिरहेका छैनन्।

वडामा आउनु पर्ने रकम असारमा नै विभिन्न योजनामा छुट्याइएको र थप बजेट नभए पछि पुल बनाउन नसकिएको वडा नम्बर ७ का अध्यक्ष हरिचन्द्र शाहीले बताए। चालु आर्थिक वर्षका लागि नगरपालिका भित्रका १४ वटै वडाहरूले ४५ लाख बराबरको बजेट पाएका थिए।

यता, नगरपालिकाले विपद् व्यवस्थापन, उद्धार तथा राहतका क्षेत्रमा गृहकार्य कम गरेको र यो क्षेत्रलाई प्राथामिकतामा नराखेको बाढी पीडितले गुनासो गरेका छन्।

बाढी गएको २८ दिन गइसक्यो राहत भने कहिँबाट आएको छैन, अब राहत कतैबाट आउला नआउला त्यो भन्दा अब नगरपालिकाले बाढीले क्षति बनाएको खोलाको आसपासमा तटबन्ध गर्न प्राथामिकता दिनु पर्ने वडा नं ५ का स्थानीयवासी मीनबहादुर भामले बताए।

'अहिले कसैले एक प्याक चामल, दुई केजी दाल देलान तर त्यतिले दुई छाक होला तर व्यवस्थित रूपमा तटबन्ध बनाउँदा स्थानीयले राजगारी पनि पाउने घरवारी पनि जोगिन्छ' भामले भने ।

'नगरपालिकाले चालु आर्थिक वर्षका लागि असारमा नै बजेट विनियोजन गरिसकेकाले यति अवधीभित्र बगाएका पुल बनाउन सक्छौँ भन्ने अवस्था छैन' नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितजङ मल्लले भने। मल्लका अनुसार पुल बगाएको क्षेत्रका स्थानीयवासी निवेदनसहित नगरपालिकामा आए पुल निर्माणका लागि बजेट व्यवस्था गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.