|

बाग्लुङ : निसीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि कार्यालयका काम कारवाही प्रभावित भएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य गत असार २९ मा सरुवा भएसँगै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो।

नायब सुब्बा पुरुषोत्तम गौतमलाई निमित्तको जिम्मेवारी दिइए पनि उनी आवश्यक परेका बेला बैठक सञ्चालन गर्ने र आर्थिक कारोबार गर्ने अधिकार छैन। प्रमुख प्रशासकीय अधिकृतको सरुवापछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को कर्मचारी नपठाउँदा समस्या भैरहेको गाउँपालिका उपाध्यक्ष शोभा कार्कीले बताइन्।

तीन साताअघि वडा नम्बर ३ की पूर्णकुमारी पुनको गोठमा आगलागी भयो। आगलागीबाट भैंसी र गोरु पनि जले। पुन जलेको गोठको पुनर्निर्माण गर्न राहतको खोजीमा हिँडिन्। ‘गाउँपालिकाले दैवी प्रकोपबाट क्षति हुनेहरुको राहतका लागि कार्यविधि बनाएको’ वडाध्यक्ष जुनविक्रम शाहीले सुनाएकाले उनी राहतका लागि गाउँपालिका कार्यालय पुगे पनि रित्तो हात फर्किइन्। गाउँपालिकाले विपद्का बेला सघाउने भनेर बनाएको कोषको रकम निकासा गर्ने अधिकारी गाउँपालिकामा छैन।

नायय सुब्बा गौतमलाई कर्मचारी समायोजनका क्रममा काठेखोला गाउँपालिकामा दरबन्दी कायम गरिएको छ। तर, गाउँपालिका कार्यालय नै नै खाली हुने भएकाले रोकेर राखेको उपाध्यक्ष कार्कीले बताइन्। 

प्रमुख प्रशासकीय अधिकृत मात्रै होइन गाउँपालिकामा अन्य तहका कर्मचारीको पनि अभाव छ। सातवटा वडा रहेको गाउँपालिमा कार्यपालिकाको कार्यालय, शिक्षा, पशु, कृषि र वडामा समेत गरेर नौजना कर्मचारीले मात्रै काम गरिरहेका छन्। सामान्यतया २५ हजारसम्म जनसंख्या रहेको गाउँपालिकामा वडा कार्यालयका कर्मचारीबाहेक १७ जनाको दरबन्दी हुन्छ। वडा कार्यालयका एक जना प्राविधिक र एक जना खरिदार वा नायव सुब्बा रहने प्रावधान छ।

‘३२ जनाको दरबन्दी रहेको गाउँपालिकामा नौजनाले काम गर्दै हुनुहुन्छ, काम चलाउन निकै कठिन भयो,’ वडा नम्बर ३ का अध्यक्ष जुनविक्रम शाहीले भने, ‘योजनाका कामको कुरै छोड्नुस्, विपद्मा राहत दिन समेत सकिएको छैन।’ प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण गाउँपालिका अन्तर्गतका कार्यालयका कर्मचारी तथा विद्यालयका शिक्षकको तलब भत्ता रोकिएको छ। 

‘हामीलले कार्यालयका काम मात्रै गर्ने हो,’ निमित्त प्रमुख पुरुषोत्तम गौतमले भने, ‘तलब भत्ता समेत खुवाउन पाइएन।’ गाउँपालिका कार्यालयमा लेखा शाखाका प्रमुख समेत छैन। एक सहायक लेखापालले काजमा बसेर काम गरिरहेको शाहीले जानकारी दिए। स्वास्थ्य शाखामा एक, कृषि तथा पशु प्राविधिक करारका दुई जना, वडा सचिव दुई जना, लेखामा एक जना, प्राविधिक २ जना र निमित्त प्रमुख प्राशासकीय एक जनाले मात्रै छन्।

प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण दुई महिनादेखि गाउँ कार्यपालिकाको बैठक समेत बस्न सकेको छैन। ‘कानुनमा बैठकको सचिव स्वतः प्रमुख प्रसासकीय अधिकृत हुने व्यवस्था रहेछ,’ शाहीले भने, ‘सचिवबिना कसरी बैठक बस्नु।’ फुर्सदको समय भएकाले यतिबेला कार्यपालिकाले योजना तथा प्राशसनिक कामका लागि पर्याप्त छलफल गर्न पाइने भए पनि त्यो अवस्था नरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.