|

ललितपुर । निर्वाहमुखी पशुपालन गर्दै आएका किसान सडक सञ्जालको बिस्तार भएसँगै व्यवसायिक बन्न थालेका छन्। गाई भैंसीको दुध बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि जागरिला युवा किसान व्यावसायिक बन्न थालेका हुन्। 

काभ्रे र चितवनपछि ललितपुरको दक्षिण पहाडी भेगलाई पनि दुधको पकेट क्षेत्रको रुपमा लिने गरिन्छ। धेरै ठाउँका युवा खेतबारी बाँझै राखेर रोजगारीका लागि विदेश गइरहेका बेला दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका युवा भैंसीपालन तथा दुध उत्पादनमा व्यस्त छन्। अन्य वडाको तुलनामा वडा नम्बर २ शंखुमा बढी नै भैंसीपालन हुन्छ। यस वडाको टोलटोलमा रहेका दुध संकलन केन्द्र रहेका छन्। त्यहाँ दुध बेचेर युवाहरुले मनग्य आम्दानी गर्दै आएका छन्। दुध उत्पादनमा व्यस्त युवाहरु कामको खोजीमा कत्तै भौतारिनु नपरेको बताउँछन्। बरु उनीहरुलाई एकैछिन फुर्सद निकाल्न धौधौ हुन्छ। 

वडा नम्बर २ भकारीडाँडामा रहेको एक दुध संकलन केन्द्रमा दुधको फ्याट जाँचका लागि मेसिन चलाउँदै गर्दा भेटिइन् तीर्थकुमारी बजगाई । ‘दुधको पैसा फ्याटको आधारमा दिन्छ, सात फ्याट आयो भने एक लिटर दुधको ८० रुपैयाँ जति आउँछ,’ उनले सुनाइन्, ‘मेरो त अहिले जम्मा ६ लिटर मात्रै दुध छ। महिनाको १२ हजार रुपैयाँ जति आउँछ। यसले भर व्यवहार चलाउन सजिलै छ।’

यस क्षेत्रका किसाहरु बिहानको चारै बजे गाईभैंसीलाई खोलेपानी दिने र दुध दुहेर बिहान सबेरै डेरीमा पुग्छन्। घर नजिकै डेरी भएकाले सजिलो भएको उनीहरु बताउँछन्। ‘दुध बेचेर राम्रो कमाउन सकिन्छ,’ पसिना काड्दै दुध लिएर डेरीमा पुगेका माधव बजगाईंले भने, ‘दैनिक ३० लिटर दुध बेच्छ्। खाना, लगाउन र बालबालिका पढाएर वर्षमै ३÷४ लाख रुपैययाँ जोगाउन सकिन्छ। विदेश जानु परेको छैन।’

भैंसीपालनबाट राम्रो आम्दानी गर्दै आए पनि यहाँका किसानहरुलाई सरकारले केही सहयोग दिए झन् राम्रो गर्न सक्ने बताउँछन्। सरकारले दिने सेवा सुविधा वास्तविक किसानले नपाएको बजगाईंको गुनासो छ। अनुदानलगायतका अन्य सेवा सुविधा पहुँचवालाले मात्रै लिने तर किसानको हातमा नपुग्ने बेथितिको अन्त्य हुनुपर्ने उनको माग छ।

यहाँका युवाहरु आमाबुबासंँगै अन्य कामको अतिरिक्त गाईभैंसीको स्याहारसुसारमै व्यस्त हुन्छन्। घाँस, सोत्तर, खोलेपानी, गोबर सोहर्न कुनै हिचकिहाट मान्दैनन्। गाउँमै शिक्षण पेशामा आवद्ध दीर्घलाल घिसिङ बिहान–बेलुकी भैंसीलाई घाँस खोले गर्छन्। उनी शिक्षण पेशाबाट आउने तलबबाहेक दुध बेचेरै महिनाको ५०÷६० हजार रुपैयाँ कमाउने गरेको बताउँछन्। उनको गोठमा पाँचवटा भैंसी छन्। उनलाई एकछिन सास फेर्ने फुर्सद छैन। गर्न सक्यो भने पशुपालनबाटै मनग्य आम्दानी हुने उनी बताउँछन्। 

भकारीडाँडाको एक टोलमा एउटै आँगनमा दुई वटा दुध संकलन गर्ने डेरीको प्रतिस्पर्धा छ। डेरी सञ्चालक वीरमान घिसिङ १८ जना कृषकको दुध संकलन गर्दा दैनिक २८० लिटरसम्म दुध हुने र किसानलाई हरेक महिना भुक्तानी दिने गरेको बताउँछन्। १८ वर्षदेखि डेरी सञ्चालन गरेकाले किसानलाई दुध बेच्न कुनै समास्या हुने अवस्था आउन नदिएको उनको भनाइ छ।

दिपक तिमल्सेना १५ वटासम्म भैंसी पाल्छन्। राम्रो प¥यो भने दुध बेचेर एउटा भैंसीबाट महिनामा २२ हजार रुपैयाँ कमाइ हुने भन्दै १५ वटा भैंसीले मनग्य आम्दानी लिन सकिने उनले बताए। तिमल्सेनाका अनुसार गाउँमा कम्तीमा ३ वटादेखि १५÷१६ वटासम्म भैंसी पाल्ने किसान छन्। दुधको मूल्य पनि बढ्दै गएको अझ युवा किसानहरु उत्साहित रहेको उनले बताए। 

‘गाउँका केटाहरुको कसैको फुर्सद छैन, सबै व्यस्त छन्। बेरोजगार भन्ने त गाउँमा कोही छैन, पशुपालन एकदम राम्रो भएको छ,’ तिमल्सेनाले भने, ‘विदेश त जानै पर्दैन। यत्ति राम्रो कमाइ हुन्छ कि। दुःख चाहिँ हुन्छ। मेहनत गर्नुपर्छ, अल्छी मान्नु हुँदैन, काममा रमाउनुपर्छ। आफ्नो परिवारसंगै बसेर विदेशभन्दा कता कता बढी कमाइ हुन्छ नि।’

ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अनुसार जिल्लाको ग्रामीण भेगबाट मात्रै दैनिक ४० हजार लिटर दुध उपत्यकामा भित्रन्छ। दुध उत्पादनमा करिब पाँच हजार मानिसको प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रहेको संघका अध्यक्ष कृष्णमान लामाले जानकारी दिए। नेपाल सरकारको ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रम अन्तर्गत ललितपुरमा दुध उत्पादनको जिल्लाको रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.