अब पोखरा-मनाङ २५ मिनेटमै

|

पोखरा : आन्तरिक भ्रमण वर्ष मनाइरहेको गण्डकी प्रदेश सरकारले प्रदेशको मूख्य पर्यटकीय क्षेत्र मध्येको मनाङमा हवाई उडान सुरु गरेको छ।

मनाङमा रहेको हुम्डे विमानस्थलको धावनमार्ग मर्मत लगायतका आधारभूत कुराहरू निर्माण गरेर ६ वर्ष देखि बन्द रहेको हुम्डेमा शुक्रबार परीक्षण उडान भरिएको हो।

शुक्रबार परीक्षण उडान भरिएपनि आगामी असोज १० गते अन्तर्राष्ट्रिय पर्यटन दिवशको अबसर पारेर नियमित उडान हुने प्रदेशका उद्योग, पर्यटन, वन वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए। शुक्रबार भएको परिक्षण उडानमा प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटन मन्त्री लम्साल, लगायत अन्य ब्यक्तिहरू पोखरा विमानस्थलबाट समिट एयरको जहाज चढेर २५ मिनेको समयमा तीन हजार तीनसय ३० मिटर उचाइको मनाङको हुम्डे पुगेका थिए।

 

विशेष प्याकेज बनाइन्छ : पर्यटन मन्त्री लम्साल

२०३९ सालमा निर्माण भएको धुले धावन मार्गलाई नागरिक उड्ययन प्राधिकरणले पक्की बनाएपछि अहिले परिक्षण उडान सफल भएको हो। यस अघि २०७० सालसम्म धुले मैदानबाटै हप्तामा २ पटक उडान हुने गरेको थियो।

‘नागरिक उड्ययन प्राधिकरणसँग समन्वय गरेर आज हामी धावनमार्ग बनाएर जहाज ल्याण्ड हुने अवस्थामा आइपुग्यौँ,’ पर्यटन मन्त्री लम्सालले भने, ‘अब पोखराबाट मनाङ उडानका लागि विभिन्न प्याकेजहरू तय गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई मनाङ पुर्‍याउने काम प्रदेश सरकारले गर्छ।’

विमानस्थलमा अझै धेरै भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्ने भएकोले त्यसलाई प्रदेश सरकारले गर्ने उनको भनाई छ। अहिले हुम्डे विमानस्थल नौसय मिटर कालोपत्रे गरेर सजिलै जहाज ल्याण्ड गर्न मिल्ने बनाइएको छ । 

जोखिमकाबीच मनाङ उडान 

पहाडै पहाडको बीचबाट उडान गर्नुपर्ने भएकोले मनाङ उडान त्यति सजिलो छैन। मनाङमा हिमपात र पानी परेको समयबाहेक अन्य सामान्य समयमा पनि जोखिम रहेको  नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक एटिसी सूर्यबहादुर खत्रीले बताए।  

सुरुका उडानमा प्रदेश सरकारको अनुदान : मुख्यमन्त्री गुरुङ

प्रदेशको मुख्य आर्थिक समृद्धिको आधार पर्यटन रहेकोले मनाङको पर्यटन विकासको लागि प्रदेश सरकार सधैँ साथमा रहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। ‘अब यहाँ नियमित उडान हुनुपर्छ। पर्यटकीय गतिविधि बढ्नु पर्छ’, उनले भने, ‘यसको लागि स्थानीय सरका र जनप्रतिनlधिले जिल्लाभित्र र जिल्ला बाहिरका जनप्रतिनिधिलाई सम्पर्क गरी मनाङसँग कसरी जोड्ने भन्ने कार्ययोजना बनाउनुपर्छ। प्रदेश सरकारले के गर्नुपर्छ गर्न तयार छ। हामी उडानको सुरुको समयमा अनुदान पनि उपलब्ध गराउन तयार छौँ ।’ 

पोखरा विमानस्थलका सूचना अधिकारी काशी पौडेलका अनुसार मनाङको लागि जोमसोम गएजत्तिकै खर्च लाग्नेछ। उनले तीन हजार रुपैयाँ हाराहारी नै भाडा तय हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.