शितल निवासदेखि वसन्तुपरसम्मको सुरक्षा व्यवस्था कडा

|
फाइल फोटो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्रा अवलोकनमा सहभागी हुने कार्यक्रम बिथोल्ने र विरोध गर्ने योजना बनाएको भन्दै प्रहरीले काठमाडौं वसन्तपुरबाट पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) विजय भट्टसहित दर्जनौं व्यक्तिलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार राष्ट्रपतिको इन्द्रजात्रा अवलोकन कार्यक्रम बिथोल्ने योजनासहित वसन्तपुर पुगेका व्यक्तिहरूलाई गिरफ्तार गरिएको हो। उनीहरूलाई नेपाल प्रहरीको पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको छ।

गिरफ्तार हुनेमा नेपाली सेना र नेपाल प्रहरीका पूर्वअधिकारी पनि रहेको बताइएको छ।

गिरफ्तार गरिएका व्यक्तिहरूबाट काला ब्यानर, काला टिसर्ट र अन्य सामग्री पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ। उनीहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

राष्ट्रपति भण्डारी आज साँझ इन्द्रजात्रा अवलोकन गर्न वसन्तपुर जाने कार्यक्रम रहेको छ।

राष्ट्रपति भण्डारीको कार्यक्रमलाई लक्षित गरेर वसन्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यस्तै राष्ट्रपति भवनदेखि वसन्तपुरसम्मको सडकमा पनि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.