|

दाङ : दाङमा डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ भने ४२ जनामा संक्रमण फैलिएको पाइएको छ। दंगीशरण गाउँपालिका १ ठाटी बस्ने २१ वर्षीया प्रतीक्षा बुढाको मुत्यु भएको हो।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको  भदौ १० गते मृत्यु भएको बुढाका मामा अमर बुढाले बताए। तुलसीपुरको राप्ती प्रादेशीक अस्पताल, राप्ती लाइफ केयर हस्पिटलमा जाँच गराउँदासमेत रोग पत्ता नलागेपछि बुढालाई भदौ ७ गते उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो।

डेंगुको उच्च जोखिममा रहेको दाङमा अहिलेसम्म ४२ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगु रोग फोकल पर्सन कमल चन्दले डेंगु संक्रमणका बिरामीको संख्या दिनानु दिन बढिरहेको बताए। हालसम्म १८ महिला र २४ पुरुषमा संक्रमण देखिएको उनले बताए। 

डेंगुका बिरामीहरूको घोराही र तुलसीपुरमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा उपचार भइरहेको छ। डेंगु रोगको लक्षण देखिएका केहि बिरामी उपचारपछि घर फर्किएको र उनीहरू अस्पतालको नियमित सम्पर्कमा रहेको समेत बताए। 

दाङ ५ वर्षदेखि नै डेंगुको उच्च जोखिममा रहेको जिल्ला हो। विगतका वर्षमा पनि जिल्ला जनस्वास्थ्यमार्फत सचेचनामूलक कार्यक्रम हुँदै आएको छ। डेंगुका कारण २०७२ सालमा दाङको गढवा गाउँपालिका गोबरडिहामा एक महिलाको मुत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ।

स्वास्थ्य कार्यालयकाअनुसार २०७३ सालमा ९ जना र २०७४ सालमा ८ जना डेंगु बिरामी फेला परेका थिए। डेंगु रोग नियन्त्रण र सचेतनाका लागि जिल्ला स्वास्थ्य कार्यालयमा आवश्यक बजेट नभएको कार्यालयले बताएको छ। बजेट नहुँदा नियन्त्रणजन्य गतिविधिमा सक्रिय हुने अवस्था नरहेको डेंगु रोग फोकल पर्सन चन्दले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.