मेयर-उपमेयर विवाद सतहमै

|
मेयरबाट सुरक्षा माग्‍ने प्रशासकीय अधिकृत टेककुमार रेग्मी

इटहरी : उर्लाबारी नगरपालिकामा प्रमुख खड्ग फागोको उपमेयर लक्ष्मीदेवी भण्डारीसँग सुरु भएको विवाद अहिले प्रमुख प्रशासकीय अधिकृतसँग देखिएको छ। कोरम नपुगेको नगरसभाले बजेट बनाएको भन्दै उपमेयरसहित १३ जना कार्यपालिका सदस्यले केही समयअगाडि उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए।

रिट दायर भएसँगै सतहमा देखिएको मेयर-उपमेयर विवाद अहिले प्रमुख प्रशासकीय अधिकृतको क्वाटरमा मेयरले ताला लगाएपछि कर्मचारी सँगको विवाद पनि छताछुल्ल भएको हो। सामान्य विवादमा भनाभन भएपछि नगरपालिकाका मेयर खड्ग फागोले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीको क्वार्टरमा मंगलबार तालाबन्दी गरिदिएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मागेको कागजात पठाउने विषयमा पाँच दिनअगाडि प्रमुख फागो र प्रशासकीय अधिकृतबीच विवाद भएको थियो। विवादपछि आफूलाई असुरक्षित महसुस गर्दै अधिकृत रेग्मीले उर्लाबारी छाडेका थिए।

नगरपालिकाका उपमेयर लक्ष्मी भण्डारीले क्वार्टरमा रेग्मीको परिवार रहेकै अवस्थामा ताला लगाएको आफूले जानकारी पाएको बताइन्। नगर प्रमुख खड्ग फागो भने प्रमुख प्रशासकीय अधिकृतले क्वाटर छाडेपछि सुरक्षाका लागि ताला लगाएको बताउँछन्। कार्यालय नआएको विषयमा स्पष्टीकरण सोध्दा सामान्य भनाभन भएको उनले बताए।

अहिले प्रमुख प्रशासकीय अधिकृत रेग्मी असुरक्षाको कारण देखाउँदै उर्लाबारी छोडेर विराटनगरमा छन्। जिल्ला प्रशासन कार्यालयमा सुरक्षा उपलब्ध गराइपाऊ भन्दै हालेको पत्रलाई अहिले जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ। जिल्ला प्रशासन कार्यालयका प्रवक्ता अनुज भण्डारीले भने, 'शान्ति सुरक्षा माग गर्दै निवेदन परेको थियो, अहिले प्रहरीलाई हामीले पठाइसकेका छौ।' 
यता, भने फागो रेग्मीसँग सामान्य भनाभन मात्र भएको बताउँछन्।  ‘सामान्य विवाद भएको हो, उहाँले प्रहरीमा उजुरी गर्नु भएछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.