|

अर्घाखाँची : भारतको पन्जाब भटिन्डामा मोटरसाइकल दुर्घटनामा परी अर्घाखाँचीका २ युवाको मृत्यु भएको छ। रोजगारीको खोजीमा भारत गएका अर्घाखाँची सितगंगा ३ पाँचपोख्रीका ३२ वर्षीय विष्णुबहादुर विक र पाणिनी २ ढाडा खिदिमका ४४ वर्षीय कृष्णबहादुर सुनारको भारतको पन्जाव भटिन्डानजिकै मोटरसाइकल दुर्टनामा परि मृत्यु भएको हो। 

ड्युटीबाट कोठामा  मोटरसाइकल चढेर फर्कँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको  गाडीले ठक्कर दिँदा विकको घटनास्थलमै गएराति ज्यान गएको थियो भने सुनारको उपचारको क्रममा शुक्रबार बिहान निधन भएको पन्जावमा कार्यरत मृतकका आफन्त भानु विकले जानकारी दिए।

ठक्कर दिएको गाडी फरार भएकाले गाडी नम्बर पत्ता लाग्न सकेको छैन। मृतक विक सीतगंगा ३ पाँचपोख्री निवासी गम्बरसिङ विक र शान्तिकला विकका एक्ला छोरा हुन्। उनको एक श्रीमती र ९ वर्षीय एक छोरा छन्।  उनी ८ महिना अघि रोजगारीको खोजीमा भारतको पन्जाव भटिन्डा गएको मृतकका पिता गम्बरसिङ बिकले बताए।

यस्तै, मृतक सुनार पाणिनी २ ढाडाखिदिम निवासी पिता मानबहादुर सुनार र तुलसा सुनारको जेठो छोरा हुन्।  सुनारका ४ छोरा १ छोरी रहेका छन्। उनी ६ महिनाअघि रोजगारीको शिलसिलामा भारतको गएका थिए।

शवलाई अहिले भटिन्डास्थित सिभिल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको आफन्त विकले बताए। पोष्टमार्टमपछि शवलाई नेपाल ल्याउने वा भारतमै अन्त्येष्टि गरिने भन्नेबारे तय गरिने सोही ठाउँमा कार्यरत मृतकका आफन्त महेश्वर विकले टेलिफोनमा बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.