|
फाइल फोटो

काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ। राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त भन्दै लामो समय विवादमा अल्झिएको नेपाल ओलम्पिक कमिटी नयाँ नेतृत्व चयन गर्ने अन्तिम चरणमा आइपुग्दा पनि विवादरहीत बन्न भने सकेको छैन।

राष्ट्रिय खेलकुद परिषदमा ५६औँ नम्बरमा दर्ता भएको एनओसीले निर्वाचन गर्नेबारेमा भने परिषदलाई जानकारी नै नगराएको आरोप लागेको छ। नेपालमा दर्ता गरेपछि नेपालको नियमकानुन सबैले मान्नुपर्छ भन्दै राखेप सदस्यसचिव रमेश सिलवालले एनओसीसँग स्पष्टीकरण सोध्ने बताए। कानुनतः एनओसीले राखेपसँग स्वीकृत लिनुपर्ने, राखेपले तिथिमिति तोकेको २१ दिनपछि निर्वाचन हुनुपर्नेमा ओलम्पिक कमिटीले समन्वय नगरेकाले स्पष्टीकरण सोध्ने सदस्यसचिव सिलवालले थाहाखबरसँगको कुराकानीमा बताए।

यद्यपि शनिबारको निर्वाचन नबिथोल्ने उनको भनाइ छ। 'एनओसी राष्ट्रिय र अन्तर्राष्ट्रिय भनेर धेरै लामो समय विवादमा रुमल्लियो, अब विवादलाई चर्काउनु राम्रो हुन्न, भोलिको निर्वाचन बिथोलिन्न। तर,  निर्वाचनपछि स्पष्टीकरण सोध्छु' सिलवालले भने 'आफैँ पनि सांसद, दुईपटक राखेपको सदस्यसचिव भइसकेका जीवनराम श्रेष्ठले किन नियमकानुन उल्लंघन गर्नुभयो भनेर मौखिक रूपमा सोधिसकेको छु।'  

'आइओसीबाट निर्वाचन गराउन प्रतिनिधि आइसकेको अवस्थामा विवादमा फसाएर रडाको मच्चाउनु राम्रो हुँदैन भनेरमात्र चुप लागेर बसेको हुँ, निर्वाचनपछि त स्पष्टीकरण सोध्छु' सिलवालले थपे।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त अध्यक्ष एवं फेरि नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका जीवनराम श्रेष्ठले भने आफूहरूले निर्वाचनबाट जानकारी गराएको दाबी गरे। 'हामीले जानकारी गराएको छौँ। अन्य विषय जानकारी भएन', श्रेष्ठले भने, 'निर्वाचनको सबै तयारी भइसकेको छ, भोलि खेलकुदमन्त्री नै यसको उद्घाटनको प्रमुख अतिथि हो, त्यस्तो कुनै झमेला छैन।'

यसअघि भदौ २० गतेलाई तोकिएको चुनाव रोकिएकोमा सर्वोच्च अदालतले चुनाव रोक्नुपर्ने कुनै कारण नभएको देखाएपछि शनिबार चुनाव हुन लागेको हो। एनोसीमा रहेका २७ मतदातामध्ये २६ जना चुनावी मैदानमा उत्रिएका छन्। ५ उपाध्यक्षका लागि ८ जना, ३ सचिवका लागि ४ जना र ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.