|

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक सरिक भई अपराह्न ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा जात्रा अवलोकन गरिन् । राष्ट्रपति भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएपछि रथयात्रा गरिएको थियो। 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो।शुक्रबार तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए।

शनिबार माथिल्लो टोलमा रथयात्रा गरिने छ। यही भदौ ३१ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ। यसै दिन बेलुकी राष्ट्रपति भण्डारी हनुमानढोका दरबार गई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्ने चलन छ। टीका र प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ।

असोज १ गते बिहान ०५ः३५ बजे इन्द्रध्वज पातन गरेपछि आठ दिन लामो इन्द्रजात्रा समाप्त हुन्छ। पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ। लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ। 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यस जात्राको प्रक्रिया शुरु हुन्छ। वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायत विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गरिन्छ। इन्द्रजात्रा प्रताप मल्लको पालामा शुरु भएको विश्वास गरिन्छ।

इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले शुरु गरेका हुन।  वर्षा र सहकालका देवताका रुपमा पूजीने इन्द्रको आज विधिपूर्वक पूजाआजा पनि गरिएको थियो। यस वर्ष जात्रा हेर्न  छ देशका पाहुनालाई पनि काठमाडौँमा निम्ता गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। 

जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ। यस पर्वका अवसरमा आज सार्वजनिक बिदा पनि दिने गरिन्छ। जात्रा अवलोकन गर्न उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत मन्त्रिगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.