राजतन्त्र ढाल्न गिरिजाबाबुका दूत कृष्ण सिटौला

|

खै, मिति र बार याद भएन। पुनर्स्थापित संसद र यथावत् सडकमा अनेकन् आशंकाहरू देखिएको थिए। संसदको पहिलो बैठक बस्ने मिति तय भएको थियो । अनेकन् बिषय चर्चामा थिए । राजतन्त्रको भविष्यका कुरा, राजनीतिक व्यवस्थाका भावी स्वरूपका कुराहरू - यस्तै अनेक कुरा तलमाथि भइरहेका थिए।

बीपी ले ‘मोदी आइन्’ मा महाभारत युद्ध हुनु पहिले कुरूक्षेत्रको त्रस्त मनोविज्ञानको चर्चा गरे झैं '...ठूलो कुरूक्षेत्रमा पाण्डव र कौरवका सेनाहरू आ-आफ्ना सेनापतिहरूका साथ भेला हुन थालिसकेका थिए । पर अग्लो ठाउँमा तर छुट्टाछुट्टै गरी कौरव र पाण्डव पक्षका रानी महारानीहरू, योद्धाहरूका पत्नीहरू र सेविका सुसारेहरू आसन्न परिणामबाट भयाक्रान्त र सशंकित भएर अनेकन् दुर्सम्भावनाका उपर चर्चा गरिरहेकी थिइन्...सबै मध्यस्थता र युद्ध रोक्ने प्रयासहरू असफल भए...! हे भगवान अब के हुन्छ ? के प्रलय हुने हो .....?'

यस्तै माहौल बनेको थियो त्यस बखतको राजनीतिक वृत्तमा । यस्ता चर्चामा सबैभन्दा मूल बिषय थियो-राजाको के हुने ! राजा माने ज्ञानेन्द्रको ! ऊ बेला हावा, पानी र आगोमा कसैको नियन्त्रण नभएको जस्तो अवस्था थियो । तर पनि,  केहीले ‘बेबी किङ’, कोही भने भारत स्वतन्त्र हुँदा ताकाका कश्मीरका राजा हरिसिंहको झैँ, कतिले फेरि ‘करेक्टेट सेरेमोनियल किङ’...थरीथरीका आँकलन र अनुमानहरू व्याप्त थिए। नारायणहिटीबाट निकालिएपछि कहाँ बस्ने होला ? सेनाले मान्छ त ? आदि आदि !

उपल्लो दर्जाका एकाध अपवादका नेताबाहेक अधिकांश भने राजनीतिका भवितव्यबाट निरपेक्ष थिए । आफैंमा गमक्क थिए । गफ र आशंकाका खेती गरि बसेका थिए । मैले जानेको कुरा इमानका साथ भन्नुपर्दा सम्भावित कुराको जानकारी गिरिजाबाबु र प्रचण्डलाई एकिनका साथ ज्ञात थियो । किनभने, गिरिजप्रसाद कोइरालाले एउटा मन बनाउनु भएको थियो। प्रचण्डले भने- उहाँले बनाएको मनमा आफ्नो सफलताको सोपान देख्नु भएको थियो ।

‘प्रचण्ड’ भनेको त्यस बखतको प्रचण्ड ! अहिलेको जस्तो लुन्जपून्ज, थिलथिलो, ज्ञानेन्द्रीयहरू अनियन्त्रित भएको, मागेर अरूको कोट लगाएको मानिस जस्तो हुनुहुन्थेन, त्यसबखत । उहाँको आँखातिर हेर्दा संकल्प र सपना देखिन्थ्यो। पाइला तिर हेर्दा दह्रो टेकाई अनि अग्रगतिको आभाष हुन्थ्यो । तिनताकका घटनाका जानकार प्रचण्ड यस कारणले पनि हुनुहुन्थ्यो, किन कि भर्खरभर्खरै उहाँले गिरिजाबाबुको संकल्प र दृढता बुझ्न थाल्नु भएको थियो। जसबाट स्वयम् उहाँबारे कांग्रेस र एमालेहरू अनभिज्ञ थिए ।

तर, गिरिजाबाबु भने आफ्ना ध्येयमा निशंक हुनुहुन्थ्यो । माओवादीलाई एमालेको जत्तिकै संख्या दिएर संसद्मा प्रवेश गराएको कुरामा सुशील कोइराला असन्तुष्ट भइ ठस्केको अवस्था थियो । सुशीलजीसँगै अरू धेरै पनि । 'गिरिजा दाजुले आतंककारीहरूलाई संसदमा हुल्नु भो', यत्तिमै रन्नभुल्ल भएर रन्थनिएका थिए-गिरिजाबाबुसँगको यौटा जमात । मलाई लाग्छ, घरभित्रका नोना कोइराला मात्रै एक हुनुहुन्थ्यो, जो अध्याँरो टनेलको अर्को तर थोरै उज्यालोमा नारायणहिटीको वैभवता ढल्न लागेको देखिइरहनु भएको थियो।

शेखर कोइराला परिबारबाट उदीयमान थिए, शशांकको जीवन उरेन्ठेउला कांग्रेसहरूसँग मौजमस्तीमै व्यस्त थियो । यही बेला गिरिजाबाबुसँग कृष्ण सिटौला बढी नजिक हुनुभयो । शायद उहाँले आफ्नो अदृश्य राजनीतिक मिशनको सफलताका लागि कृष्ण सिटौलाउपर बढी भर गर्दै जानु भएको थियो । किन भने 'अब मुलुकलाई राजा र राजतन्त्र चाहिन्न' भन्ने कुरा पहिलो पटक सिटौलामार्फत् नै गिरिजाबाबुले ज्ञानेन्द्रसम्म पुर्याउनु भएको थियो।

राजाले चाहेमा थोरै सम्मानका साथ बहिर्गमनको बाटो दिइने कुरामा गिरिजाबाबुको मन बनिसकेको थियो । र, यो सन्देश राजाकहाँ पुर्याएर, यसलाई न स्वीकार्दा हुने परिणामको झलक राजालाई सिटौलाले दक्षतासाथ भन्नुभएको थियो । यो जिम्मेवारी बडो सिपालु भै सिटौलाजीले निर्वाह गर्नु भएकोमा गिरिजाबाबुले परोक्षमा पनि “बडो होसियार रहेछ” भन्नु हुन्थ्यो । गिरिजाबाबुले कसैलाई “बडो होसियार रहेछ” भन्नु त्यो मानिसले विश्वासको नोवेल पुरस्कार पाउनुसरह हुने मेरो धारणा रहेको हो ।

असंख्य आशंकाका बीच, दबाब र प्रभावबीच, दुर्घटनाहरूको ढकढक्याईका बीच निजी रूपमा गिरिजाबाबुले जे चाहनु भएको थियो- त्यही भयो । मध्यरातमा पुनर्स्थापित प्रतिनिधिसभाले राजतन्त्रलाई बिदा गर्यो । एक झट्कामा शाह राजाहरूको स्वप्न बगैँचा सखाप भयो । अचिन्तनका कुरा मूर्त भयो ।

राजतन्त्र समाप्त पारिएको त्यस घटनालाई आज धेरैले राजा ज्ञानेन्द्रसँग दलहरूले गरेको सम्झौताको बर्खिलाफ गरिएको कदम भन्छन । कतिपयले १२ सूत्रीय समझदारीमा राजतन्त्रको अन्त्यको कुरा उल्लेख नरहेको तथा राजासँग धोखाधडी भएको भन्छन् । म त्यता जान चाहन्न । मैले बुझेको त के हो भने नेपालमा राजतन्त्रको अन्त्य, न त जनमत संग्रहको परिपाटीबाट हुन सक्थ्यो, न त त्यस बखतको सात दलका नेताहरूबीच सहमति नै गरेर ।

यदि राजालाई फाल्ने कसैको संकल्प रहेको हो भने उसको अगाडि इतिहासले देखाएका दुईवटा बाटा मात्र थिए ।  कोत पर्वपछि भण्डारखालका रक्तरञ्जित नालाहरूमा मिल्केको राजाको श्रीपेचलाई तरवारको टुप्पोले उठाएर आफ्नो शिरमा भिर्ने जंग बहादुर राणाको बाटो । वा, माथवर सिंह थापा मारिएको बाटो । पहिलो बाटो सैन्य शक्तिको सहयोगले हुने हो । र, दोस्रो छलको बाटो हो । शक्तिपूंजसहित मुख्तियार माथवर सिंह थापा मर्नु परेको बाटो । गिरिजा बाबुसँग छलको सम्बन्ध देखाउनु शायद मेरा निम्ति प्रियकर उपमा होइन । नेपालको इतिहास पढेर होइन, सुनेर बुझेको गिरिजाबाबुले दोस्रो बाटोबाट राजालाई गद्दीच्यूत गराउनु भयो ।

गिरिजाबाबुले राम्ररी बुझ्नु भएको थियो, दलहरू, जसको अन्तरंग सोचको निर्माण विदेशी दूतावासहरूमा हुने गर्दछ-ती दलहरूको सहमतिबाट नेपालका राजालाई कसरी फाल्न सकिन्छ र? त्यस बेलाको निर्णायक शक्ति सात दलीय गठबन्धनमा सबैको प्रतिनिधित्व थियो-भारत, चीन, अमेरिक र उत्तर कोरियासम्मको ।

उहाँले अपनाएको बाटोबारेमा प्रश्नहरू होलान्। दस्तावेजहरू खोतल्दा  'निरंकुश राजतन्त्रको अन्त्य' पढनेहरू जिल्लिएका छन् कि यो ‘अनर्थ’ कसरी हुन गयो ? यही अनर्थमा गिरिजाप्रसाद कोइरालाले जीवनमा आफ्नो संकल्पको ‘अर्थ’ भेटनु भएको हो । जीवनका अनेकन पक्षहरूबारेमा दृढ सोचहरू रहेझैं नेपालका राजतन्त्रबारेमा पनि उहाँको आफ्नै प्रकारको धारणा थियो ।

राजाको बारेमा गिरिजाबाबु किसुनजीको भन्दा गणेशमानजीको नजिक हुनुहुन्थ्यो, गणेशमानजी बीपी कोइरालाको । बस्तुत: किसुनजी बाहेक यी तीनै नेता पछिल्लो नेपालमा राजतन्त्रको पक्षमा हुनुन्थेन ।

बीपी आफ्नो राजनीतिक दर्शनको आधारमा, गणेशमानजी राजाको नेतृत्वमा भएको अनवरत् दमनका कारणले र गिरिजाबाबु विभिन्न राजाहरूले गरेको अपमान र छलका कारणले । राजसंस्थाबारे किसुनजीको दृष्टिकोण अध्यात्मिक थियो, जुन उहाँले जीवनपर्यन्त राख्नु भयो । अहिले पुराना मण्डलेहरू, नेपाली राजनीतिमा भारतको हस्तक्षेपका मुखर विरोधीहरू र हालको राजनीतिक बेथितीका आलोचकहरू बीपी कोइरालाका बढी उद्धरणहरू प्रयोग गर्छन् । राष्ट्रिय मेलमिलापका नीतिको चर्चा एवम् अनुसंशा गर्दै अहिले बीपी हुनु भएको भए राजासँग सहकार्य गरेर राष्ट्रियता जोगाउनु हुन्थ्यो भन्ने गर्छन् ।

बीपीका यस्ता नव अनुयायीहरूले बजारमा बीपी साहित्यको बिक्री बढाएका छन् । तर, बस्तुत: तिनीहरू बीपीका बिचारबाट बेमतलबी जमातका हुन् । तर, यहाँ मेरो लेखनीको मतलब स्पष्ट छ, गिरिजाबाबु रणनीतिक र कार्यनीतिक आधारमा बाहेक कहिल्यै पनि राजाको पक्षमा रहनु भएन । आज धेरैले हेक्का राख्दैनन्, २०२६ सालमा गिरिजाबाबु जेलबाट रिहा भएपछि २०६२-०६३ सम्म कहिल्यै पनि राजाबाट धोका, छल र अपमान बाहेकको व्यवहार पाउनु भएन ।

यसको स-विस्तार चर्चा अर्को लामो लेखको बिषय हुन सक्छ । अहिलेको प्रयोजन यति मात्र हो कि नेपाली राजनीतिमा आफ्नो विचार निर्माणको प्रारम्भिक कालदेखि नै राजा र राजतन्त्रको विपक्षमा रहनु भएका गिरिजाबाबुले जब मौका पाउनु भयो-राजालाई बिस्थापित गराउनु भयो ।

अहिले मानिसहरू राजालाई बिर्सिसके । राजाका व्यवहार याद गर्न चहाँदैनन् । झिनो रूपमा देखिने रेशमी पर्दाका पछाडि राजाका तस्वीर झुण्ड्याएर गुणगान गर्छन । तर, सत्य त्यस्तो हैन ।

मैले यहाँ इतिहासका दुई चिठ्ठी पोष्ट गरेको छु। क्यान्सरग्रस्त बीपी कोइराला जेलबाट रिहा भएपछि बिदेशमा उपचार गराउन चाहनु हुन्थ्यो । यसर्थ, राहदानीका लागि तत्कालीन राजकीय परिषद्का अध्यक्ष वीरेन्द्रसामु निवेदन गर्नु भएको थियो, २०२७ सालमा । वीरेन्द्रले मानवीय रूपमा राहदानी दिन इन्कार गरेको प्रत्युत्तर पत्रको कपी पनि यहाँ पोष्ट गरेको छु । नेपालमा जनप्रिय भनी चिनिएका राजाको के अतीत थियो । यस्ता धेरै दस्तावेजहरू प्रकाशित-अप्रकाशित छन् । राजनीतिक घटनाक्रलाई स्मृति वा विस्मृतिमा राख्नेहरू जो जीवित छन्-कयौं घटनाहरूका साक्षी छन् । राजाहरू कस्ता रहे....!

(पूर्वमन्त्री तथा पुराना पत्रकार जेपी गुप्ताले सामाजिक सञ्जालमा राखेको धारणा)  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.