नेपाल कुनै पनि सैन्य गठबन्धनमा संलग्न हुँदैन

|

इलाम : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विश्वका कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन्।

केही दिनअघि चिनियाँ विदेशमन्त्रीको भेटमा आफूले अमेरिकाको नेतृत्वमा सञ्चालित इन्डो प्यासिफिक सैन्य गठबन्धनबारे दिएको अभिव्यक्तिको सन्दर्भमा इलामका पत्रकारहरुको प्रश्नको उत्तर दिँदै दाहालले यस्तो बताएका हुन्।

‘हामी असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिमा प्रतिवद्ध छौँ। यही नीति हाम्रो मान्यता र सिद्धान्त हो’, दाहालले भने, ‘हाम्रो विदेश नीति अनुसार हामी कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा सहभागी हुँदैनौं। हामी असंल्गन रहन्छौँ।’

अध्यक्ष दाहालले बिम्स्टेक वा इन्डो प्यासिफिक कुनै पनि सैन्य समूह, गठबन्धन या अभ्यासमा आफूहरु संलग्न नहुने जवाफ दिए । ‘बिम्स्टेकको सैन्य अभ्यास होस् या इन्डो प्यासिफिकको कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैनौँ’, उनले भने, ‘त्यस खालका सैन्य अभ्यास र रणनीतिक उद्धेश्यमा हामी तटस्थ रहन्छौँ।’ 
चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र आफूले पनि त्यही कुरा भनेको उनले दाबी गरे। 

एक चीन नीतिमा प्रतिवद्ध

अध्यक्ष दाहालले चीनसँग नेपालको एक चीन नीति यथावत रहेको बताए । ‘हामी एक चीन नीतिमा प्रतिवद्ध छौँ। त्यो हाम्रो घोषित र प्रष्ट नीति हो’, उनले भने, ‘इन्डो प्यासिफिक सैन्य रणनीतिमा हाम्रो संलग्नता हुँदैन। चीनविरोधी कुनै पनि गतिविधि हाम्रा लागि सह्य हुँदैन।’

इन्डो प्यासिफिक सैन्य गठबन्धनबारे चिनियाँ विदेशमन्त्रीसँग आफूले बोलेको भन्दै चीनबाट आएको समाचार त्यहाँको सरकारको आधिकारिक नभएको उनले प्रष्ट पारे। 

आफूले चिनियाँ विदेशमन्त्रीसँग बोलेको सन्दर्भमा चीनबाट परराष्ट्र मन्त्रालयले कुनै औपचारिक धारणा सार्वजनिक नगरेको उनले बताए । 

‘केही समाचार एजेन्सी र पत्रपत्रिकाकामा प्रकाशित समाचारबारे जानकारी छ। तर सरकार या परराष्ट्र मन्त्रालयले बोलेको होइ’, उनले भने, ‘अमेरिकाको राजदूतावास या स्टेट डिपार्टमेन्ट कसैले मागेको छैन। सरकारलाई चिठ्ठी आएको छैन।’ 

भेनेजुएला र क्युबामा पुरानै अडान

भेनेजुएला र क्युबाको प्रकरणमा अमेरिकाप्रति नकारात्मक धारणा बनाउन नखोजेको उनले बताए । ‘कुनै पनि देशको आन्तरिक मामिला त्यहीँको देशले टुंग्याउनुपर्छ भन्नेमा अहिले पनि नेपाल सरकार र पार्टीको लाइन त्यही हो’, उनले भने, ‘क्युबाको पक्षमा त पुरै संसार छ । अमेरिकी नाकाबन्दीविरुद्ध राष्ट्र संघले प्रस्ताव पारित गरेको छ।’ 

नेपालमा चेग्वेभाराकी छोरीसहितकी टोली आउँदा पनि आफूले अमेरिकाको नाकाबन्दी गलत भएको बताएको उल्लेख गरे। तर आफूले अमेरिकालाई उत्तेजित गराउन विरोध नगरेको बताए । 

दाहालले आफूले अमेरिकाको विरोध नगरेको बताए । ‘हामीले अमेरिकाको विरोध गरेको होइन। राष्ट्रसंघ र सुरक्षापरिषद्को निर्णय कार्यान्वयन हुनुपर्यो भनेको हो’, उनले थपे, ‘। अमेरिकासँग दुष्मनी साँध्न खोजेको होइन। यसअघि म अमेरिका जाँदा त्यहाँका नेताहरुसँग कुराकानी भयो। सहयोग लेनदेन बढाउने कुरामा चर्चा गरेका थियौँ।’

दाहालले आफूले सरकारको विदेश नीति अनुसार नै बोलेको उल्लेख गरे । ‘पार्टी र सरकारको विदेश नीतिको सन्दर्भमा मैले त बोल्नुपर्यो नि’, उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.