|

मुगु : मुगुम कार्मारोङ गाउँपालिका-६ रिउस गाउँकी २१ वर्षीया पेमाफुटिक लामालाई सुरुमा गाउँमा रहेको सामुदायिक अस्पतालमा आउन डर लागेको थियो। किन भने उनको पेटमा शिशु हुर्कदै गएको थियो भने उनका गाउँका सबैजना योभन्दा पहिला घरमा नै परम्परागत रुपमा सुत्केरी हुन्थे।

 ५२ घरधुरी रहेको रिउस गाउँमा अहिलेसम्म स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने पेमा फुटिक पहिलो हुन। गाउँमा स्वास्थ्य संस्था नभएको, स्थानीयको आफनै परम्परागत धार्मिक मान्यता रहेकाले कसैले नत गर्भ जाँच गराए नत प्रसूति सेवा नै लिए।

गएको हप्ता उनलाई सुत्केरी वेथा लागेपछि वैशाखदेखि सुरु भएको सामुदायिक अस्पताल ल्याइएको थियो।  तालीम प्राप्त स्वास्थ्यकर्मिबाट सहजै रुपमा लामाले बच्चा जन्माएपछि उनी मात्र हैन उनका घर परिवार र गाउँले नै खुसी भए।

यहाँका गर्भवती महिला बच्चा जन्माउनकै लागि अहिलेसम्म कोही पनि स्वास्थ्य संस्था गएका थिएनन्। 'पहिले हामीले गर्भवती हुँदा घरको काम धन्दा नै व्यस्त भयौं, नजिक स्वास्थ्य चौकी पनि थिएन। अहिले त गाउँमा नै  अस्पताल छ बेलाबेला गर्भ जाँच हुन्छ र सहजै अस्पतालमा सुत्केरी गराउँछन् पछिल्ला पुस्ता भाग्यमानी छन्।' लामाकी ५२ वर्षीया सासू कार्मा याङ्गजोम लामाले बताइन्।

 पहिले पहिले त गाउँमा स्वास्थ्यकर्मी पुग्दा देउता रिसाउने, बुद्ध धर्मअनुसार सुई लगाउँदा, परिवार नियोजन गर्नु पाप हो भन्ने मान्यता रहेको स्थानीयवासी एवं आवासीय विद्यालय पुलुका शिक्षक छिरिङ फुञ्जोक लामाले बताए।

सबै बौद्ध धमालम्बी भएकाले परिवार नियोजन गर्दा पाप लाग्छ भन्ने गाउँलेको मान्यतालाई तोड्दै सुरुमा नेपालगञ्ज गएर आफूले स्थायी परिवार नियोजन गरेपछि छिमेकी तथा गाउँलेले कुरा काट्ने गरेको अनुभव सुनाउँदै लामाले भने, 'अहिले हाम्रै पहलमा गाउँमा पाँच शैयाको अस्पताल बनेपछि गर्भ जाँच गराउने, परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने महिलाको संख्या बढेको छ।'

छाया नेपालको आर्थिक सहयोगमा गाउँपालिकाले एकजना तालिम प्राप्त हेल्थ असिस्टेण्ट, एकजना अनमी र एक जना कार्यालय सहयोगि राखे पछि प्रसुती सेवा संगै अन्य स्वास्थ्य सेवा प्रवाह हुँदा स्थानीयवासीलाई विरामी पर्दा जिल्ला अस्पताल जानु पर्ने बाध्यता हटेको ६ नम्बर वडाका सदस्य मेदोकफुटिक लामाले बताइन्।

हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजीकरण तथा छाया नेपालको आर्थिक सहयोगमा पाँच शैयाको सामुदायिक अस्पताल निर्माण भई गएको चैत्र २७ गते  गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो। अस्पताल उदघाटन भएयता २८० जनाले सेवा लिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.