|

सपना भुलाई सारा

आँसु पिएर जाऊ

मन्दिरमा छ तिम्रै

तस्वीर लिएर जाऊ...!

सत्तरी/असीको दशकमा नेपाली संगीतको आफ्नै आयाम थियो, आफ्नै मादकता थियो। एक मात्र विद्युतीय संचार माध्यम रेडियो नेपालमा बज्ने गीतको छाप ग्रामीण भेगको पिँधसम्म पुग्ने गर्दथ्यो र अबेरसम्म नेपाली मन मस्तिष्कमा खेलिरहन्थ्यो। जनताले मनपराएका गायक/गायिकाहरूको स्वरको ओज उनीहरूले चाहेर पनि भेट्न नसक्ने दुर्गममा सुसाइरहेका हुन्थे। सङ्गीत साधकहरूका कालजयी सुरहरू सुनिरहेका हुन्थे, श्रोताहरू। यिनै सङ्गीतको आयाममा गीतको भावलाई शब्दबाट उठाई आवाजको रङ दिन कुशल मानिने योगेश वैद्य देखा परे। उनले रचनाकारहरूलाई बिस्मीत तुल्याइदिए, आफ्नो आवाजको सुवासले।

सङ्कलित ११६ काव्य घुम्तीमा पाठकले आफ्नो प्रिय गायकले बाँचेको समय देख्नेछन्, भोग्नेछन्, रुनेछन्, हाँस्नेछन् र आश्चर्यमा डुब्नेछन्, भावहरूको लावालस्करमा।

अध्ययनको विषय अर्कै थियो, परिवारको बेग्लै पृष्ठभूमि थियो र पनि योगेश वैद्यको आवाजले गीतलाई जीवन दिन कैयौँ रात कैयौँ दिन मेहनत गर्नुपर्यो। धेरै गीतले जीवन पाए। रचना प्रवाहमा होमिएका तमाम् ती गीतहरूले साज पाएर आजपर्यन्त असङ्ख्यौँ नेपालीभाषीको हृदयमा स्वर्णीम बनी बसिरहेका छन्।

गीत सङ्गीतको पाटो मूल भए पनि भर्खरै प्रकाशित फुटकर गीत-कविताहरूको सँगालो 'समय-प्रवाहमा छुटेका पलहरू' वास्तवमै भावकीय ढङ्गले मिहीन रूपमा कुँदिएका बयली हुन्। न सुनियोजित नै हुन् यी रचना, न त हुन् प्रायोजित नै। फेरि पनि एकखाले बिषम चेतनाको ज्वारभाटाबाट फुत्किएका कामकाजी तथ्यहरू सपाट बगेर आएका छन् यसमा।

सङ्कलित ११६ काव्य घुम्तीमा पाठकले आफ्नो प्रिय गायकले बाँचेको समय देख्नेछन्, भोग्नेछन्, रुनेछन्, हाँस्नेछन् र आश्चर्यमा डुब्नेछन्, भावहरूको लावालस्करमा। समयलाई जान्नेहरू न त कहिल्यै माथि पुग्छन्, न आममान्छेले ठानेजस्तो उनीहरूको जीवनमा सफल असफल कथा नै हुन्छ। शरीरलाई केन्द्रमा राखेर हेर्ने हो भने बदलाव निकै पाइन्छ, आफैँमा र अरूमा पनि। वैद्यका गर्भमा लुकेका शृङ्खलाहरूको दस्तावेज हो यो पुस्तक- समय-प्रवाहमा छुटेका पलहरू। पातलो मनको तुवाँलो च्यातेर उनी लेख्छन्:

आँसु सल्बलाएर उनका आँखाबाट झर्न सकेनन्

तर त्यसको आँचबाट म मैन झैँ पग्लिरहेँ।

उनका आँखामा जमेको आँसु हेर्न नसक्नेले केवल बिस्मृतिमा धकेल्न सक्छन् र उनी स्वयंलाई जीवन तुवाँलो जस्तो लाग्छ। बाटाहरू धेरै छन् तर गन्तव्यमा पुर्‍याउने बाटो कुन हो भनी सोध्दासोध्दै साँझ पर्छ। आफ्ना सोचहरूको मायामोहमा एक्लिनु परेको यथार्थ चित्रण पुस्तकमा छ। योगेश भन्छन्-

कहिले आफ्नै कहिले अरूकै कारण उदास भएँ

चित्त दुखाउनेहरूको व्यवहारले निराश भएँ।

जीवनभोगको सेरोफेरो पनि कहिल्यै नसकिने इन्द्रेणीको नयनयात्रा जस्तो किनारा समाउन हिँड्न खोज्दा उमेर सकिएजस्तो आभास उनका सृजनाहरूमा पाइन्छ। योगेशको आवाजमा पाइँदै आएको निजत्व यस पुस्तकमा पनि पाइएको छ। सेरोफेरोमा घुमिरहेको, देखिइरहेको सत्यको सपाट दृश्य शब्दमा छाम्न सकिन्छ। मौनता फुट्छ, दुःखको घानमा घुमिरहँदा आउने आवाज सङ्गीत हो कि, साहित्य हो कि- अन्तर्कथा निकै लामो छ। हातका औँला समाई हिँडाउने हृदयचन्द्रसिंह प्रधानको सरलीकृत विचारको भिडमा को अग्लो को सानो, सबै एकैनासले हिँडिरहेको देख्छन् उनी। फेरि सुस्केरा रोपेर बोधको कोसेली बिस्तारै खोल्दै भन्छन्:

न आकाश आफ्नो लाग्छ, न पृथ्वी आफ्नो लाग्छ

बिरानो बस्तीमा हरदम, होस गुमाइरहे झैँ लाग्छ।

एउटा होनहार गायक र मर्मज्ञका फुटकर रचनाहरूको सङ्कलन 'समय-प्रवाहमा छुटेका पलहरू' स्मरणीय तवरले पढ्न र गम्नका लागि मीठो संयोग बनेको छ।

सम्झनाको निखारतामा बाँचेको समय उर्लिएर आउँछ र वर्तमानको बिसौनीमा बाछिटा फ्याँकेर जान्छ। त्यही सुस्ततामा उनी गम्छन् र आफैँलाई छाम्छन्। सम्बन्ध जोडिने र छुटिने घटनाहरूको आरोह-अवरोहमा पात्रहरूको भन्दा दृश्यको मायाले गलाएको छ, त्यस क्षणको संयोगले लोभ्याएको छ र उनी त्यही भावले परावर्तित भित्री मनोदशालाई यहाँ गीतिकाव्यमा यसरी व्यक्त गर्छन्:

 

उनी सँगसँगै आज धेरै धेरैको याद आयो

पीडा याद आयो दुःखाइ याद आयो।

 

दबाई, लुकाई राखेका सबै सबैको याद आयो

सुके झैँ लाग्थ्यो घाउ दुख्दै गरेको याद आयो।

 

उनले छोडी गएदेखि उनकै साथको याद आयो

व्यथा याद आयो उनकै घृणा याद आयो।

संयोगै संयोगहरूको योगले बनेको हाम्रो जीवनमा योगेश वैद्यले बाँचेको समय र परिवेश सबै पाठकले आफ्नै ठाने पनि निखारबोधता भिन्दाभिन्दै हुन्छ। एउटा होनहार गायक र मर्मज्ञका फुटकर रचनाहरूको सङ्कलन 'समय-प्रवाहमा छुटेका पलहरू' स्मरणीय तवरले पढ्न र गम्नका लागि मीठो संयोग बनेको छ। नातिकाजी स्मृति समाजद्वारा प्रकाशित पुस्तकमा वैद्यका २०२२ देखि २०७१ सम्मका रचना समेटिएका छन्। धेरैजसो रचना सम्बन्धको आयाममा बेरिएका छन् भने केही दार्शनिक चेतबाट चिहाइएका अनवरत भावनाका पुञ्जहरू हुन्।

शब्दको अम्खराबाट निस्कँदै गर्दा फेरि योगेशको आवाजको ओजले भुनभुनाइरहेको छ र नेपथ्यमा गीत गुनगुनाइरहेको छ, कालातीत आभा बोकेर सम्झनाको भारी यसरी फुक्छ डाको बनेर:

छन् प्रेमका निशाना

दिलमा मिटाई जाऊ

एकलासको चितामा

बत्ती निभाई जाऊ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.