|

कपिलवस्तु : प्रचार-प्रसार अभावकै बीच नेपालकै एकमात्र पुरातात्विक संग्रहालयमा पर्यटकको संख्यामा बृद्धि भएको छ।

कपिलवस्तु सदरमुकाम तौलिहवाबाट ३ किलोमिटर उत्तरपश्चिममा अवस्थित पुरातात्विक संग्रहालयमा अवलोकनसँगै बौद्धकालीन अवस्था अध्ययनका लागि १५ देशका पर्यटक आएका छन्।

विश्वकै एकमात्र बौद्धकालीन शाक्य गणराज्यको पुरातात्विक अवशेष हेर्न कपिलवस्तुको तिलौराकोटमा नव निर्मित आधुनिक संग्रहालयको अवलोकन गरेर बौद्धकालीन अवस्था अध्ययन गर्न १५ देशका पर्यटक आएको पुष्टि भएको छ। फलस्वरुप संग्रहालयमा पर्यटकको आगमनमा बृद्धि भएको छ।

संग्रहालयमा खासगरी बुद्धसँग सम्बन्धित पुरातात्विक र ऐतिहासिक वस्तु संग्रहित छन्। संग्रहालयमा भगवान गौतम बुद्ध, उनका पिता र अन्य ऐतिहासिक तथा सांस्कृतिक महत्वका वस्तु संग्रहित छन्।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ भन्दा गत आर्थिक वर्षमा अवलोकन गर्ने पर्यटक बढेका छन्। गत आर्थिक वर्ष २०७५/०७६ मा ७३८ पर्यटकले अवलोकन गरेका छन। सार्क मुलुकका ३२८ र तेस्रो मुलुकका ४१० गरी ७३८ पर्यटकले संग्रहालय अवलोकन गरेका छन्।

बुद्धस्थल तिलौराकोटनजिक रहेको संग्रहालयमा सबैभन्दा बढी श्रीलंका, म्यानमार र चीनका पर्यटक आएका थिए। त्यस्तै स्वदेशी ६ हजार ५४६ पर्यटकले संग्रहालय अवलोकन गरेका छन्। अघिल्लो आव २०७४/०७५ मा सार्क मुलुकका २३७ र तेस्रो मुलुकका ३४४ गरी ५८१ विदेशी पर्यटकले संग्रहालय अवलोकन गरेका थिए। त्यस्तै स्वदेशी ३ हजार ८५२ पर्यटक आएका थिए।

अघिल्लो आव भन्दा गत आवमा ६० प्रतिशत बढी स्वदेशी र विदेशी पर्यटक बढेका छन्। ‘पछिल्ला दुई वर्षदेखि सामान्य रुपमा पर्यटक बढ्दै गएका छन्’ संग्रहालयका गाइड शंकर धितालले भने, ‘मुलुकमा शान्त र सुरक्षित वातावरण भएकाले पर्यटक ह्वातै बढेका हुन्।’

'अब योजना बनाएर लाग्न सके पर्यटक बढेर स्थानीय स्तरमै राम्रो आयआर्जन गर्न सकिन्छ', उनले भने। गत आर्थिक वर्ष तिलौराकोटमा ५० हजारको हाराहारीमा पर्यटकले अवलोकन गरेका थिए।

‘संग्रहालय भवन जीर्ण हुँदा समस्या भइरहेको थियो’ संग्रहालय प्रमुख सुभाषकृष्ण महर्जनले भने, ‘नया भवन तयार भइ व्यवस्थित संग्रहालय भएर नै पर्यटक बढेका छन्।’ नयाँ आधुनिक संग्रहालय भवन पुरातत्व विभागले कपिलवस्तु नगरपालिका ३ रामघाटमा ४ करोड ३२ लाखमा निर्माण गरेको हो।

संग्रहालय १३१ फिट लम्बाई र ८१ फिट चौडाइको छ। प्रमुख मर्हजनले संग्रहालयबारे अझै प्रचारप्रसार गरिए पर्यटकको संख्या बढ्ने बताउछन्। उनले तिलौराकोट आउने पर्यटकलाई यहाँसम्म ल्याउने ब्यवस्था गरिनुपर्ने धारणा ब्यक्त गर्दछन्।

संग्रहालयमा माटाका भाँडाकुँडा, पालिस गरिएका ग्रे बेयर, एबिपी रेड बेयर, पंचमार्क चाँदीका सिक्का र विभिन्न आग्नेय पत्थर रहेका छन्। त्यस्तै विष्णु, शिव, पार्वती, सुर्य वराहाका विभिन्न देव मूर्तिहरू, बाह्मी लिपियुक्त विभिन्न आकृतिका मानव मूर्ति लगायत मुद्राशील, गहना र हात हतिहयार संग्रहित छन्।

राजा शुद्धोधनको राजप्रसाद तथा बुद्धले २९ वर्षको युवा अवस्था विताएको तिलौराकोट, धमनिहवा स्तुप, कुदान, अरौराकोट, सिसहनीया लगायतका ठाउँमा उत्खनन गर्दा पाइएका पुरातात्विक वस्तुहरू समेत संग्रहालयमा संग्रहित छन्। यहा विशेष गरी बौद्ध धर्म मान्ने मुलुकबाट विदेशी पर्यटक आउने गर्दछन्।

बुद्ध धर्मावलम्बी भने यहाको पाइला नटेँकेसम्म पुण्य प्राप्ति नहुने धार्मिक बिश्वासका साथ पवित्र स्थल मानेर यहा आउने पुरातत्व विभागका बरिष्ठ पुरातत्व अधिकृत रामबहादुर कुवँरले बताए। संग्रहालय छेउको मुख्य दरवार भग्नावशेषमा आई सुत्रपाठ, पूर्व र पश्चिम गेटमा गौतम बुद्धको बाल्यकालको जीवन लीला पाठ गरेपछि मात्र शान्ति प्राप्त भई आत्म सन्तुष्टि हुने भिक्षु भिक्षुणीको भनाइ छ।

बुद्धको जीवनसँग सम्वन्धित धेरै पुरातात्विकस्थल यहाँ हुँदा विदेशी पर्यटक आउने गदर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.