|

उदयपुरः चुरे क्षेत्रमा पर्ने उदयपुरगढी ७ नाङग्राङेका स्थानीय किसान अम्वर केप्छाकी मगरले एउटै रुद्राक्षको गेडाबाट १२ हजार आम्दामी गरेको बताए।

‘मेरो बारीको बोटमा फलेको चौधमुखे एउटै रुद्राक्ष १२ हजारसम्म बिक्री गरेँ', उनले भने, ‘मैले वार्षिक रुपमा रुद्राक्षबाट एक लाखसम्म आम्दामी गर्दै आएको छु।’ सोही स्थानका अर्का स्थानीय बलबहादुर मगरले पनि अम्वरकै जस्तो अनुभव सुनाए।

‘गत एक लाख भन्दा बढी कमाई गरे’, उनले थपे, ‘रोपेको तीन वर्षमा फल दिन सुरु गर्ने रुद्राक्षको खेती अहिले सबैले गर्न थालेका छन्।’ कसैले चोरेर लान्छ भनेर हेरालु समेत राख्न थालेका छन्। चुरे वन क्षेत्रमा पर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ७ मा नाङग्राङे, लगायतका वस्तीमा रुद्राक्ष आम्दानीको स्रोत बन्न थालेको छ।

स्थानीय किासनले खेती गर्न थालेपछि रुद्राक्षबाट घर खर्च चलाउन सजिलो भएको स्थानीयहरू बताउँछन। बैशाख जेठमा फल्न सुरु गर्ने र साउन भदौमा  बिक्रीको लागि तयारी हुने रुद्राक्षको फललाई चराचुरुङ्गी, चोरी हुनबाट जोगाउन हेरालु राख्ने पर्ने किसान बताउँछन्।

नेपाली बजारमा एकाइस मुखे रुद्राक्षको मूल्य ८० लाखसम्म पर्ने गरेकोछ। हालसम्म उदयपुरमा उन्नाइसमुखे रुद्राक्षसम्म फलेको छ। त्यही उन्नाइसमुखे ८० हजारमा बिक्री भएको व्यापारी दहलमान तामाङले बताए।

‘संखुवासभा, भोजपुरतिर कृषककाे जस्तो ठूलो/ठूलो रकममा बिक्री हुने गरेको त छैन’ उनले भने, ‘उदयपुरमा पनि रुद्राक्षको खेतीबाट धेरथोर किसानले आम्दानी गर्न थालेका छन।’ भोजपुर, संखुवासभा लगायतका जिल्लामा रुद्राक्ष खेतीबाट मनग्य आम्दामी हुने गरेको सुनेका स्थानीय किसानले आफूले विरुवा ल्याएर खेती सुरु गरेका हुन्।

उदयपुरगढी गाउँपालिकाको अधिकांस भूगोलमा रुद्राक्ष खेती गर्न सुरु भएको उदयपुरगढी गाउँपालिका ४ का स्थानीय बिष्णु पराजुली बताउँछन्। ‘धेरै जस्तो स्थानमा रुद्राक्ष खेती सुरु भएको छ’, उनले भने, ‘बहुमूल्य रुद्राक्ष उत्पादन गर्न नसके पनि सामान्य रुपमा फलेका फलको बेचबिखन गरेर घर खर्च चलाउन सहज भएको छ।’

बहुमूल्य बाहेका रुद्राक्ष भने माला बनाएर पनि बेचविखन हुन्छ। प्रति माला एक सयका दरले बेचबिखन हुने गरेको पाइन्छ। रुद्राक्षको माला लगाएमा बौद्ध र हिन्दु परम्परा अनुसार सुख शान्ति प्राप्त हुने जनविश्ववास छ। 

काठमाडौंदेखि रुद्राक्ष खोज्दै घरमै व्यापारी आउन थालेको किसानको भनाइ छ। रुद्राक्षले आम्दानी दिन थाले पछि गाउँघरका छरछिमेकी सबैले घरका आसपासमा रोपेका छन्। उदयपुरमा धेरै जस्तो कार्यक्रम खादाको साटो रुद्राक्षको माला लगाएर कार्यक्रम गर्न थालिएको छ। वातावरणमैत्री र व्यावसायिक प्रबर्द्धन हुने भएकोले यसको प्रयोग गर्न उत्तम भएको नेपाल नेत्रज्योति संघ उदयपुरका अध्यक्ष भागवत राउतको भनाइ छ।

‘उदयपुरमा पनि रुद्राक्षको खेती व्यवसायिक रुपमा गर्न/गराउन सरकारी तथा गैर सरकारी निकायबाट खासै पहल भएको छैन’, उनले भने, ‘वातावरणमैत्री बनाउँदै व्यवसायिक रुपमा खेती गर्ने अवधारणा स्थानीय तह र प्रदेश सरकारले जोड गर्दा धेरै राम्रो हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.