शपथ ग्रहणमा तोडफोड प्रकरण

|
फाइल फोटो

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' सिरहा र सप्तरीका पदाधिकारीको शपथ ग्रहण समारोहमा भएको तोडफोड घटनाको योजनाकार भन्दै वरिष्ट नेता माधव नेपाल, स्थायी कमिटी सदस्य मातृका यादव सहितका नेतालाई कारबाही गर्न प्रदेश २ कमिटीले माग गरेको छ।

घटनापछि बर्दिबासमै बसेको प्रदेश २ कमिटीको बैठकले गरेको यो निर्णय गोप्य राखिएको छ। नेता नेपाल र उद्योगमन्त्री समेत रहेका यादवमाथि आवश्यक छानबिन गरी कारबाही गर्न प्रदेश कमिटीले केन्द्रसँग माग गरेको एक पदाधिकारीले बताए।

उनका अनुसार पूर्वमन्त्रीद्वय उमेश यादव, महेन्द्र पासवान र केन्द्रीय सदस्य जगत यादवलाई पनि कारबाही गर्न माग गरिएको छ। शपथ ग्रहण समारोहमा तोडफोड उमेश, महेन्द्र र जगतको अगुवाइमा भएको नेकपा प्रदेश कमिटीले निष्कर्ष निकालेको छ। उनीहरूलाई वरिष्ट नेता माधव नेपाल र स्थायी समिति सदस्य मातृका यादवले नै कार्यक्रम भाँड्न निर्देशन दिएको आरोप लगाएको छ।

जगत यादवलाई केन्द्रीय कमिटीबाट हटाउन र उमेश यादवलाई साधारण सदस्यसमेत खारेज गर्न प्रदेश कमिटीले केन्द्रसँग माग गरेको छ। यस्तै, प्रदेश कमिटी सदस्य गंगा पासवान र फुलगेन नायकलाई पनि कारबाहीको माग गरिएको छ। गंगा पासवान अहिले सिरहाको कर्जन्हा नगरपालिकाका मेयर हुन्।

प्रदेश कमिटीले कारबाहीको निर्णय गरी केन्द्र कमिटीलाई पठाएको छ। तर, निर्णय सार्वजनिक गर्न नेताहरू चाहेका छैन। नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले शपथ ग्रहण प्रकरणमा आन्तरिक निर्णय भएको बताए। थाहाखबरसँगको कुराकानीमा उनले भने, ‘कारबाही गर्ने निर्णय हामीले आन्तरिक रूपमा गरेका छौँ। सबै कुरा मिडियालाई बताउन आवश्यक छैन।’

भदौं २४ गते बर्दिबासमा सिरहा र सप्तरीका पदाधिकारीको शपथ ग्रहण कार्यक्रम राखिएको थियो। सो कार्यक्रम सुरु भएलगत्तै पदाधिकारी चयनमा असन्तुष्ट नेताहरू तोडफोडमा उत्रिनुका साथै प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास गरेका थिए।

कार्यक्रममा भाँडभैलो भएपछि दिनभर शपथ ग्रहण स्थगित गरी असन्तुष्ट नेताहरू घर फर्किसकेपछि शपथ ग्रहण गराएको थियो। विवादका बाबजुद सिरहा र सप्तरीका पदाधिकारीको शपथ ग्रहण भएपछि प्रदेश २ का ६ जिल्लामा चरम विवाद देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.