|

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश,भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता देवी चौधरीले सहकारीलाई बजार र उत्पादनसँग जोडेर लैजाने योजना बनाउन लागेको बताएकी छन्।

शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० मा रहेको कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले किसानले उत्पादन गरेका कृषि उपज सहज रूपमा बजारसम्म पुर्‍याउनका लागि सहकारीलाई माध्यमका रूपमा अगाडि बढाउन लागेको बताइन्।

प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि कुन बाली कुन ठाउँमा बढी सप्रिने गरेको छ त्यसबारे अध्ययन गर्ने र तथ्यांक संकलनको कार्य अगाडि बढाइएको उनले बताइन्।

'सहकारीका कर्मचारीको व्यवस्थापनको क्षेत्रमा दखल बढाउनका लागि तालिमको व्यवस्था गर्न लागेका छौँ' उनले भनिन्, ‘सहकारीलाई व्यवस्थापन गर्न नसक्दा ठूला सहकारी पनि धराशायी भएका छन्। सहकारीको व्यवस्थापन चुस्त दुरुस्त बनाउनका लागि तालिम दिन्छौँ।’

प्रदेश सरकारले सहकारीमैत्री ऐन बनाएको चर्चा गर्दै उनले सहकारीलाई सहज हुने गरी ऐन निर्माणको कार्य गरिएको बताइन्।

'गत आवमा कृषिसँग सम्बन्धित सयवटा सहकारीलाई अनुदानको रकम दिइएको थियो' उनले भनिन, ‘चालु आवमा बचत तथा ऋण सहकारी संस्थालाई अनुदान दिने गरी कार्यक्रम बनाएका छौँ।’

खेतीलाई सहकारीका माध्यमबाट गर्नका लागि प्रोत्साहित गर्न अनुदानको व्यवस्था गरिएको उल्लेख गर्दै उनले सहकारीका माध्यमबाट वित्तीय कारोवारलाई समेत अगाडि बढाउने योजना रहेको बताइन्।

‘उत्कृष्ट कार्य गर्ने सहकारीलाई पुरस्कृत गर्ने, एउटै उद्देश्य भएका सहकारीलाई मर्ज गर्दै जाने र दर्ता भएर कारोवार नगर्ने सहकारीलाई बरखास्त गर्ने योजासमेत बनाएका छौँ’ उनले भनिन्।  जमिनको समस्या हल गर्नका लागि छिट्टै आयोग बनाइन लागेको उनको भनाइ छ।

साधारणसभालाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्काले प्रदेशमा रहेका सहकारीलाई दिइँदै आएको अनुदानको रकममा यस बर्ष दोब्बरले वृद्धि गरिएको बताए।

उद्यमशिलतामा लागेका सहकारीलाई पहिलो प्राथमिकतामा राखी अनुदान उपलब्ध गराइने उल्लेख गर्दै उनले कृषि क्षेत्रमा लगानी गर्नका लागि बैंक, वित्तीय संस्था र सहकारीका लागि प्रदेश सरकारले आचारसंहिता जारी गर्न लागेको बताए।

'सुदूरपश्चिम प्रदेशमा वर्षौँदेखि ठूलो समस्याका रूपमा रहेको जग्गा व्यवस्थापनको समस्या समाधान हुने भएको छ' उनले भने, ‘प्रदेशको सामाजिक विकास समितिका प्रतिनिधिले संघीय संसदका सम्बन्धित समितिमा कुरा राखेर समस्या समाधान हुने गरी ऐन पारित भएको छ। अधिकार सम्पन्न आयोग गठन गरी जग्गा दर्ताको कार्यलाई अगाडि बढाइने छ।’

सहकारीको साधारण सभामा आब ०७५/७६ को सात करोड २८ लाख २७ हजार ९४९ को आय व्ययको विवरण पेस गरिएको थियो। विसं २०७६ सालमा स्थापना भएको सहकारीमा दुई हजार ११३ जना सदस्य रहेका छन्। सहकारीको शेयर पूँजी रु ८२ लाख ७४ हजार २०० रहेको छ।

सहकारीको  नयाँ नेतृत्व चयन

कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व चयन गरिएको छ। सहकारीको सातौं साधारणसभा तथा तेश्रो अधिवेशनबाट अध्यक्षमा जोगी सिंह सोव सर्वसम्मत चयन भए। समितिको उपाध्यक्षमा लक्ष्मी भट्ट, सचिवमा शेरबहादुर रावत, कोषाध्यक्षमा रुद्र नाथ चयन भएका छन्।

यसैगरी समितिको सदस्यमा रामभरोसा राना, डम्बरदत्त अवस्थी, जयराज जोशी, जगत बहादुर बिष्ट, धर्मानन्द भट्ट, पवन हमाल र दीपक भट्ट चयन भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.