काठमाडौं : जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिपमा नेपाली किशोर टिम फराकिलो हार ब्योहोरेको छ। शनिबार भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ७–० ले पराजित भयो। अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमानै ५ गोल खान पुग्यो भने दोस्रो हाफमा २ गोल खाँदै समग्रमा ७ गोल खान पुग्यो।
जोर्डनले खेलको १६ औं मिनेटमा अहमद अब्दुल्लाहले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए। १९ औं मिनेटमा अली अहमद हाजाबीले जोर्डनको अग्रता दोब्बर बनाएका थिए। २० औं मिनेटमा अब्देल काडेर अलालेमले जोर्डनको अग्रतालाई ३–० मा पुर्याएका थिए। पहिलो हाफमानै रवाफिलो प्रदर्शन देखाउँने क्रममा ४२ औं मिनेटमा मोहमद खालेद अबिडाटले गोल गर्दै जोर्डनको अग्रता ४–० मा पुर्याएका थिए। खेलको ४४ औं मिनेटमा अब्देलले व्यक्तिगत दोस्रो गोल गर्दा जोर्डनले पहिलो हाफमा ५–० को अग्रता बनायो।
दोस्रो हाफमा नेपाल केहि समालिए पनि गोल थप दुई गोल खान पुग्यो। खेलको ४७ औं मिनेटमा अब्देलले ह्याट्रिक पुरा गर्दा जोर्डनले नेपालको पोस्टमा आधा दर्जन गोल गरेको थियो। त्यसपछि खेलको ८० औं मिनेटमा सराज मुनिरले गोल गर्दा नेपाल ७–० ले पराजित हुन पुग्यो।
२०२० मा आयोजना हुने यू–१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूहु ए मा रहेको नेपालले अब दोस्रो खेलमा सोमबार कुवेतसँग खेल्नेछ। प्रतियोगिताको तेस्रो खेमला ३ असोजमा ताजकिस्तानको सामना गर्दा अन्तिम खेलमा ५ असोजमा श्रीलंकासँग खेल्नेछ। प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।