|

दमक (झापा) : पछिल्ला वर्षहरुमा दमकमा व्यावसायिक चहलपहल बढेको छ। योसँगै जनघनत्वमा भएको वृद्धिलाई व्यवसायीहरुले लगानीको अवसरका रुपमा समेत लिन थालेका छन्। नयाँनयाँ व्यावसायिक प्रतिष्ठानहरु थपिने क्रमसँगै होटलहरुको संख्या समेत बढेको छ।

स्थानीय ग्राहकहरुलाई लक्षित मझौला स्तरका होटलहरुको संख्या बढेको होटल व्यवसायी संघले जनाएको छ। संघका अनुसार करिब एक हजार २०० पुराना होटल दर्ता भएका छन्। नयाँ थपिएका सबै होटलको संख्या जोड्दा अझ बढी हुने संघका अध्यक्ष राजेन्द्र दंगाल बताउँछन्।

पछिल्ला समयमा बढेका होटलमा लगानी समेत उल्लेख्य देखिएकाले दमक होटल व्यवसायीहरुको रोजाइको स्थान बन्न थालेको अध्यक्ष दंगाल बताउँछन्। बाह्य पर्यटकहरुको आकर्षण दमकमा नरहे पनि स्थानीय उपभोक्तालाई आकर्षित गर्न नयाँनयाँ रुप, स्वाद र ढाँचामा होटल खुल्ने क्रम बढेको दंगालको भनाइ छ। ‘दमकमा अहिलेको अवस्थाभन्दा सम्भावनाको आशा गरेर व्यवसायीहरुले लगानी बढाइरहेका छन्,’ उनले भने, ‘यदि सरकारले अघि सारेका योजना कार्यान्वयन हुने हो भने लगानी अझै थपिने निश्चित छ।’

दमकका होटलहरुमा कति लगानी पुगेको छ भन्ने तथ्याङ्क कतै छैन। तर, जमिन र घरबाहेक एक करोड रुपैयाँभन्दा बढी लगानी रहेका एक दर्जनभन्दा बढी होटल रहेको व्यवसायीहरु बताउँछन्। दमकका साना ठूला होटलमा भएको लगानी जोड्दा एक अर्व नाघ्छ। सामध्ये करिव दुई दर्जन होटलमा करोड रुपैयाँ तथा सोभन्दा बढी लगानी भएको होटल व्यवसायी संघको अनुमान छ। 

थकाली किचन सञ्चालनमा ल्याएका दिवश राई टाढाबाट आउने पर्यटकभन्दा पनि स्थानीयहरुलाई नै पारिवारिक रुपमा आउन सक्ने वातावरण बनाए व्यवसायले गति लिन सक्ने बताउँछन्। दमकका व्यावसायिक कारोबारमा भएको बृद्धिसँगै आसपासका क्षेत्रबाट आउने सर्वसाधारणको चाप पनि बढेको छ। उनीहरुलाई लक्षित गरेर पनि सेवामा स्तरीयता कायम गर्न सके ग्राहकको कमी नहुने उनको अनुभव छ। 

यस्तै, कतिपय युवाहरुले युवाहरुलाई लक्षित गरी विभिन्न कलाकारहरु ल्याएर सांगीतिक कार्यक्रमसहितका रेष्टुरेन्टहरु पनि सञ्चालनमा ल्याएका छन्। खाजालाई मात्र लक्षित गरेर समेत एक दर्जनभन्दा बढी नयाँ ढाँचाका होटल सञ्चालनमा रहेको संघको भनाइ छ। व्यवसायी मोहन ढकाल सरकारले ल्याएका नयाँ योजना पूरा भएमा लगानी बढ्ने भए पनि पूरा नभएमा लगानीकर्ताहरु निराश हुने अवस्था आउने खतरा देख्छ्न्। ‘सरकारले ठुला योजना ल्याएको छ भनेर खुरुखुरु लगानी गरिएका तर फेरि ती योजना पूरा भएनन् भने यहाँका ग्राहकका भरमा लगानी उठ्दैन,’ उनले भने, ‘त्यसैले हामी पर्ख र हेरको अवस्थामा छौं, सरकारले वातावरवण बनाएमा लगानी बढ्ने निश्चित छ।’

तारे होटलकोआवश्यकता 

दमकका पुराना होटल व्यवसायी ज्ञानबहादुर कार्की ‘भोजपुरे’ दमकका होटलमा अझै लगानी गर्न यहाँका व्यवसायी इच्छुक रहेको बताउँछन्। तर, यसका लागि सरकारले अघि सारेका योजनाहरु पूरा हुनुपर्ने उनको भनाइ छ। 

औद्योगिक पार्क, भ्युटावर, बुद्धको मूर्ति तथा पार्क जस्ता योजना पूरा भए यस क्षेत्रमा तारे होटल सञ्चालनमा आउने उनको अनुमान छ। उनले भने, ‘सरकारले थालेका ती योजना पूरा गरोस्, यहाँ व्यवसायी लगानी बढाउन सक्षम छन्।’ तर धेरैले भविष्यको बाटो हेरेर लगानी थप्दै लगे पनि बाह्य पर्यटकलाई भित्र्याउने वातावरण भने दमकमा नरहेको उनी बताउँछन्। दमकमा कम्तीमा एक/दुई दिन पर्यटक रहने वातावरण बनाउन आसपासका क्षेत्रमा एक दर्जन जति गन्तव्यहरुको पहिचान जरुरी रहेको उनको भनाइ छ।

होटल व्यवसायी कुमार गौतम दमकमा पर्यटक भित्र्याउने र अड्याउने वातावरवणका लागि सरकार र निजी क्षेत्रबीच समन्वयको खाँचो औंल्याउँछन्। ‘सरकारले दमकमा कसरी पर्यटक भित्र्याउने भनेर नीति र वातावरवण बनायो भने त्यसलाई कार्यान्वयन गर्ने गरी लगानीका लागि व्यवसायी तयार छन्,’ उनले भने, ‘तर यसका लागि दमकलाई ब्राण्डिङ गर्न जरुरी छ। दमकमा के राम्रो पाइन्छ भनेर हामीले पनि पर्यटकलाई चिनाउन सक्नु पर्‍यो।’ यस्तै भर्खरै मात्र चियाबारी रिसोर्ट शुरु गरेका उमेश सिटौला दमक व्यावसायिक हब बन्दै गएकाले स्तरीय होटलहरुको खाँचो बढ्दै गएको बताउँछन्। 

भ्रमण वर्षको तयारी

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गरी तयारी गरिरहेको छ। यस भ्रमण वर्षलाई सफल बनाउन दमकका व्यवसायीहरुले पनि केही योजना अघि सारेका छन्। दमकमा तत्कालै टाढाका पर्यटक ल्याउन नसकिए पनि भारतबाट भने पर्यटकहरु ल्याउन सकिने गरी तयारी भइरहेको होटल व्यवसायी संघका अध्यक्ष दंगालले बताए। 

गौरीगञ्जसम्म स्तरीय सडक रहेको र त्यहाँबाट दक्षिण भारतको सीमासम्मको सडकमा अल्पकालीन सुधार गर्न सके भारतको बिहारका पर्यटक ल्याउन सकिने दंगालले बताए। यसका लागि आवश्यक समन्वयको काम भइरहेको भ्रमण वर्ष २०२०, प्रदेश समितिका सदस्य समेत रहेका दंगालले बताए। 

यस्तै, भारतको पश्चिम बंगाल, सिक्किम, आसाम तथा मेघालय क्षेत्रमा रहेका नेपालीभाषी र त्यहाँका स्थानीयलाई पनि आकर्षित गर्न दमक नजिकै ट्रेकिङ रुटको विकास गरिरहेको उनले बताए। भारतबाट आउने पर्यटकलाई फाल्गुनन्द मार्ग हुँदै पाँचथरको रबीसम्म पुर्‍याउन सकिने र ट्रेकिङमा रुची भएकाहरुलाई चुलाचुलीमा पर्ने अन्धराजा अन्धारानीको दरबार भग्नावेश क्षेत्रसम्मको रुटमा लान सकिने भएकाले स्थानीय तहहरुमा समन्वयको कार्य भइरहेको उनले बताए। यसका लागि झापा र इलामका स्थानीय सरकारहरुबीच समन्वय आवश्यक हुने भन्दै भ्रमण वर्ष प्रदेश समितिले पनि यसका लागि पहल गरि रहेको उनले जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.