|

म्याग्दी : अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने अत्यन्त आकर्षक स्थल रुप्से झरनामा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लाग्न थालेको छ।

बेनी जोमसोम सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा पर्ने रुप्से झरनामा पूर्वाधार निर्माण भएपछि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या बढ्दै गएको हो।

 विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन्। रुप्से झरना र अन्धगल्छीको उच्च पर्यटकीय संभावना भएपनि यसबाट स्थानीयले उचित लाभ लिन भने सकिरहेका छैनन्। पर्यटकहरुलाई निःशुल्क अवलोकन गर्न दिइँदा लाभ लिन नसकेको स्थानीयले बताएका छन्। झरनामा रमाउनका लागि आएका पर्यटकहरु सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडक समेत अवरुद्ध हुने गरेको छ। 

रुप्से झरना र अन्धगल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्युटावरका साथै  अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था गरिएको छ। बेनीका युवा सुवर्ण केसीले रुप्सेमा रमाउन आउनेहरुलाई लक्षित गरी होटेल तथा रेष्टुरेन्ट पनि संचालन गरेपछि रातको १० बजेसम्म यहाँ पर्यटकहरुको भीड लाग्ने गर्छ।

पछिल्लो तीनवर्ष यता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुदै भ्रमणमा जाने आन्तरिक पर्यटकको सँख्या उल्लेख्य रुपमा बढेको छ। ती पर्यटकहरु यहि झरना देखेर लोभिने गर्छन्।

वि.स १९७५ सालमा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिएपनि अहिले उक्त टिकट प्रचलनमा छैन्। साविकको दाना गाविसले झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग र भ्युटावर निर्माण गरिएको छ।

अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले आधारभूत आवश्यकताको पूर्वाधार विकासमा गाउँपालिकाले अब प्राथामिकताका साथ बजेट विनीयोजन गर्ने बताए। स्थानीयले झरनामा कान्छा भुमे देवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा बोको बली चढाउने गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.