|

युरोपको प्रतिष्ठित लिग स्पेनिस ला लिगामा बार्सिलोनाले रवाफ देखाउँदा इंग्लिस प्रिमियर लिगमा भने म्यानचेस्टर सिटीलाई झट्का लागेको छ। बार्सिलोनाले भ्यालेन्सियामाथि ५–२ को जित निकाल्दा इंग्लिस क्लब सिटी भने नर्विचसँग ३–२ ले स्तब्ध भयो।

लुइस स्वारेजको दुई गोलमा बार्सिलानाले स्पेनिस लिगमा फराकिलो जित निकाल्न सफल भयो। स्वारेजको दुई गोलसँगै अंशु फाती, डी जोङ र जेरार्ड पीकेले समान एक–एक गोल गरेका थिए। भ्यालेन्सियाबाट गामिरो र गोमेजले समान एक/एक गोल सम्भव बनाए। १६ वर्षका फातीले पहिलो रोजाइमा बार्सिलोनाबाट खेल्दै दोस्रो मिनेटमा नै गोल सम्भव बनाए।

सातौँ मिनेटमा डी जोङले बार्सिलोनाको अग्रता दोब्बर बनाए। पाहुना टोलीका गेमिरोले २७औँ मिनेटमा एक गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने कोशिश गरेका थिए। ५१औँ मिनेटमा जेरार्ड पीकेले गोल गर्दै बार्सिलोनालाई फराकिलो अग्रतातर्फ उन्मुख गराए। ६१औँ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४–१ को स्थितिमा पर्‍याउँदा स्वारेजले दोस्रो तथा टिमकालागि पाँचौ गोल सम्भव बनाए। इन्जुरी समयमा गोमेजले गोल गर्दै पाहुना टोलीको हार अन्तर कम गर्ने प्रयास गरे। तर, बार्सिलोनाले ५–२ को रवाफिलो जित निकाल्न सफल भयो।

यता, इंग्लिस प्रिमियर लिग फुटबलमा साविक च्याम्पियन सिटी अप्रत्यासित हार व्योहोर्न बाध्य भयो। घरेलु मैदानमा नर्विचलाई जित दिलाउन केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुकीले एक एक गोल गरे । सिटीका सर्जियो अगुएरो र रोड्रीगोले एक एक गोल फर्काए। खेलको १८औँ मिनेटमा म्याकलिनले गोल गर्दै नर्विचलाई अग्रता दिलाएका थिए। २८औँ मिनेटमा क्यान्टवेलले गोल गर्दा घरेलु टोली २–० ले अघि रह्यो।

तर, खेलको ४५औँ मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा फर्काए। खेलको ५०औँ मिनेटमा पुकीले गोल गर्दै नर्विचलाई ३–१  मा पुर्‍याउँदा सिटी दबाबमा परेको थियो। त्यसपछि खेलको ८८औँ मिनेटमा रोड्रिगोले गोल गरेपनि सिटी ३–२ ले पराजित भयो। सिटीको लिगमा जारी सिजन पहिलो हार हो। दोस्रो स्थानको सिटीले ५ खेलबाट १० अंक जोडेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.