रोग नियन्त्रणमा अलमल, नियमित काम प्रभावित

|

काठमाडौं :  अहिले ५६ भन्दा बढी जिल्लामा डेंगुको संक्रमण पुगिसकेको छ। डेंगुको संक्रमणबाट हजारौँ बिरामी परिसकेका छन्। सरकरी तथ्याङ्क अनुसार पाँच हजार भन्दा बढीमा डेंगुको संक्रमण भइसकेको छ। केही सातायता नै डेंगुबाट ५ जनाले ज्यान गुमाइसकेका छन्।

संघीय राजधानी काठमाडौंमै डेंगुले महामारीको रुप लिएको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रदेश १, ३ र ४ डेंगुले सबैभन्दा बढी प्रभावित भएका छन्। हालसम्म प्रदेश ३ मा ३ हजार १ सय २६ जनामा डेंगुको संक्रमण भएको छ। त्यसमा सबैभन्दा धेरै राजधानी उपत्यकाकै एक हजार एक सय ७० जना प्रभावित भइसकेका छन्।

डेंगुले महामारीको रुप लिइसक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यस्ता महामारी रोग तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने स्वास्थ्य सेवा विभाग भने प्रमुखविहीन छ। यस्तै मन्त्रालमै सचिव जत्तिकै शक्तिशाली र निर्णायक मानिने प्रमुख विशेषज्ञको पदसमेत  लामो समयदेखि खाली छ।

प्रमुख विशेषज्ञ चिकित्सक अभावमा समस्या

मन्त्रालयमा लामो समयदेखि सचिव जत्तिकै शक्तिशाली मानिने प्रमुख विशेषज्ञको पद खाली छ। जसले देशमा चाँडै फैलिन सक्ने रोग नियन्त्रण कार्य योजना बन्‍न सकेको छैन।

त्यहीकारण मन्त्रालयको काममा पनि गतिरोध आएको छ। ‘स्वास्थ्य सेवा गुणस्तरी बनाउँदै कामको प्रभावकारिता बढाउन प्रमुख विशेषज्ञ चिकित्सकहरुको महत्वपूर्ण भूमिका हुन्छ', स्वास्थ्यका एक उच्च पदस्थ अधिकारीले भने, 'लामो समय चिकित्सक रहेका उनीहरुको भूमिका महामारीमा झन् धेरै खोजिन्छ। तर त्यही पद खाली छ।'

डेंगु महामारी बनिरहँदा मन्त्रालय प्रमुख विशेषज्ञ नहुनु झन् दुर्भाग्य भएको स्वास्थ्यका विज्ञहरु बताउँछन्। रोग नियन्त्रणसम्बन्धी कतिपय महत्त्वपूर्ण कामको जिम्मा प्रमुख विशेषज्ञलाई हुन्छ।

यस्तोमा लामो समय मन्त्रालयमा कामको अनुभव लिएका १२औँ तहका त्यस्ता विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्यको नीति निमार्ण तथा महामारी रोग नियन्त्रणमा ठूलो भूमिका खेल्ने गर्छन्। तर मन्त्रालयले त्यो पदमा नियुक्तिका लागि लोकसेवाको प्रक्रिया नै अहिलेसम्म अघि बढाएको छैन।

महानिर्देशको पद नै खाली

देशभरका चिकित्सक र कर्मचारीहरुको व्यवस्थापनका लागि महत्वपूर्ण मानिने पद हो स्वास्थ्य सेवा विभागको महानिर्देश पद। तर  त्यो पद खाली भएको लामो समय भइसक्दा मन्त्रालयले पदपूर्ति गर्न सकेको छैन।

गत भाद्र २२ गते देखि स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले ६० वर्षे उमेरहद पूरा गर्दै शनिबार अनिवार्य अवकाश पाएका थिए।

स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञ १२ औँ तहका रूपमा लामो समय काम गरेका डा. प्याकुरेल कर्मचारी समायोजनपछिको पदस्थापनका क्रममा असारको दोस्रो साता विभागको महानिर्देशकमा नियुक्त भएका थिए।

डा. प्याकुरेलको अवकाशसँगै मन्त्रालय प्रमुख विशेषज्ञविहीन बनेको छ। १२औँ तह रिक्त रहँदा प्रमुख विशेषज्ञ संयोजक रहने काम अघि बढ्न नसक्ने भएका छन्।

विभागको महानिर्देशकका लागि पनि १२औँ तहकै कर्मचारी चाहिने कानुनी प्रावधान छ । यद्यपि, महानिर्देशकमा त्यसमुनिका कर्मचारीलाईसमेत निमित्त जिम्मेवारी दिने अभ्यास यसअघि पनि गरिँदै थियो।

तर देश डेंगुको मारमा परिरहँदा र कर्मचारी समायोजन पनि लथालिङ्ग भइसक्दा समेत उक्त पदमा मन्त्रालयले पूर्ति गर्न सक्दैन।  मन्त्रालयका एक उच्च कर्मचारीले भने, 'महामारीका बेला स्वास्थ्यका कर्मचारीहरुले अरु बेलाको भन्दा बढी काम गर्नुपर्ने हुन्छ । त्यसका लागि नीतिगतरुमा कर्मचारीहरुको परिचालन गर्ने तथा अन्य व्यवस्थापनमा महानिर्देशको महत्वपूर्ण भूमिका हुन्छ। तर डेंगुले महामारीकै रुप लिइसक्दा समेत उक्त पद खालीनै छ।‘

उपप्रधान तथा  स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव सचिवालयले भने खाली रहेको स्वास्थ्य सेवा विभागको महानिर्देशकको पद चाँडै पूर्ति गरिने जनाएको छ।

'केही समय मन्त्रीज्यू बाहिर हुनुहन्थो। अहिले उक्त पदको पूर्तिका लागि गृहकार्य भइरहेको छ', स्वास्थ्य मन्त्रीका एक सल्लाहकारले भने, 'अब चाँडै नै महानिर्देश नियुक्त हुन्छन् ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.