|

पोखरा :  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आउन करिब साँढे २ महिना मात्रै बाँकी छ। सागको केही खेलहरू पोखरामा हुँदैछन्। त्यसैको लागि अहिले पोखरामा विभिन्न भौतिक संरचना, मैदान निर्माणको काम धमाधम भइरहेको छ।

बजेटका कारण समयमै निर्माण सम्पन्न नभएर सागका खेल प्रभावित हुने सम्भावना बढिरहेको बेला नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले साग लक्षित निर्माणाधीन कुनै पनि पूर्वाधारका काम बजेटका कारण नरोकिने बताए।

आइतबार पोखरा रंगशालामा भइरहेको निर्माणको कामको स्थलगत निरीक्षण पछि पत्रकारसँगको कुराकानीमा उनले पूर्वाधारका काम बजेटकै कारणले नरोकिने बताएका हुन्। 

‘कामको प्रगतिको आधारमा बजेट निकासा हुन्छ’, उनले भने, ‘पैसो नआएर काम रोकिने भन्ने हुँदैन। हामीलाई सबैपक्षबाट राम्रो सहयोग आएकाले आर्थिक पाटोबाट काम रोकिने कुरै छैन।’ उनले सागको समय नजिकिँदै गरेको भन्दै निर्माण पक्षलाई ढिलाई नगरी काम गर्न निर्देशन दिए।

‘सागको खेलसँग देशको प्रतिष्ठाको विषय जोडिएकोले निर्माण हुनुपर्ने सबै संरचना समयमै बन्नुपर्छ’ उनले भने, ‘युवा तथा खेलकुद मन्त्रालय र राखेप व्यवस्थापकिय पक्षमा केन्द्रित भएर लागेको छ।’ उनले साग लक्षित निर्माणाधीन पूर्वाधारहरू समयमै सक्नु पर्ने चुनौती बिद्यमान रहेको बताउँदै समस्याको समाधान र सहजिकरण गर्न अनुगमनमा आएको बताए।

अनुगमन पछि उनले भने, ‘अहिले कामको प्रगती सन्तोषजनक छ समयमै सम्पन्न हुन्छ।’ मन्त्री बिश्वकर्माले कात्तिक १५ को मितिलाई बोर्डर लाइनको रुपमा लिएको बताउदै कामको प्रगति विवरण अनुसार समय अगावै सकिनेमा बिश्वास ब्यक्त गरे। उनले गत महिनाको २६ गते बसेको मन्त्री परिषदको बैठकले १३ औं साग आयोजना व्यवस्थापन सञ्चालनका लागि कार्यविधि पारित गरेको बताए। 

उनले अब बस्ने बैठकबाट कार्यविधिको प्रावधान अनुसार पोखराका लागि स्थानीय व्यवस्थापन सहजीकरण समितिमा खेलकुद क्षेत्रकै ब्यक्तित्वहरूलाई चयन गरिने उनको भनाई छ। पोखरामा साग अन्तर्गतका १० वटा खेलहरू हुँदैछन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.