|

जाजरकोट  ः जाजरकोट जिल्ला अस्पतालमा औषधि अभाव भएको तीन हप्ता भए पनि औषधि आपूर्ति हुन सकेको छैन। अस्पतालमा दैनिक विरामी बढ्दै तर औषधि घट्दै जाँदा उपचारमा समस्य भएको हो। 

दिनहुँ भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकी लगायतका विरामीको चाप बढ्दै गएको भए पनि औषधि नहुँदा समस्या भएको स्वास्थ्यकर्मीको भनाई छ।अस्पतालले नयाँ आर्थिक वर्ष शुरु भएको दुई महिनासम्म पनि औषधि खरिद नगर्दा अभाव भएको हो। 

जिल्ला अस्पतालमार्फत सरकारले ७२ प्रकारका औषधि निशुल्क दिने भने पनि यतिवेला सिटामोल, आइरन चक्की, ब्रोफिन, रेनिटेडीन, मेट्रो, एमोक्सीसिलीन, भुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामीन लोसन, जीन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रो, एसिलक, पोन्टक्स लगायतका अत्यावश्यक औषधिको अभाव भएको छ।

मौसम परिवर्तन भएसँगै अस्पतालमा विरामीको संख्या बढ्दो छ। तर निशुल्क पाउने औषधि समेत नपाउँदा सेवाग्राही मर्कामा परेका छन्। दैनिक ६०/७० जना भाइरल ज्वरोका मात्र विरामी आउने गरेका छन्।

भेरी नगरपालिका २ की कमला थापालाई टाउको दुख्ने र ज्वरो आउने समस्या भएपछि जिल्ला अस्पताल आएर चेकजाँच गरेर डाक्टरले औषधि लेखिदिए। तर अस्पतालमा उनले कुनै पनि औषधि पाएननन्।

सिटामोल समेत अस्पतालमा नभएपछि निजी मेडिकलमा किन्नु परेको उनको गुनासो छ। अस्पतालको फार्मेसीमै औषधि नभएपछि उनी निजी औषधि मेडिकल जान बाध्य भएको बताए। 'केही समय पहिले कुनै पनि औषधि बाहिर किन्नु पर्दैन्थ्यो सवै निशुल्क पाइन्थ्यो। तर, अहिले सवै औषधि किनेर खानु पर्ने बाध्यता छ' उनले  भने। उनी मात्र होइन उपचारको लागि जिल्ला अस्पताल पुग्ने विरामीले औषधि नपाउँदा समस्यामा पर्ने गरेका छन्।

आर्थिक अवस्था कमजोर भएका र सधै जसो निशुल्क औषधि पाइरहेकाहरूले नपाउँदा साँच्चिकै समस्यामा परेको स्थानीय धर्मराज परियारले बताए। अस्पतालमा डेलिभरी सेवाका लागि गज, कटन, गुलोब्स र आरएल समेतको अभाव भएको छ।

लेखापाल नहुँदा ल्याव सेवा समेत बन्द हुने अवस्थामा पुगेको छ। ल्यावका लागि आवश्यक पर्ने किट समेत सकिएको छ डा केशर कार्कीले भने,'हामीलाई काम गर्न निकै गाह्रो भयो। औषधि खरीदका लागि बजेट आए पनि लेखामा काम गर्ने लेखापाल नहुँदा समस्या परेको छ। औषधि खरीदका लागि बजेट निकासा भइसकेको भए पनि लेखापाल नहुँदा औषधि खरीद गर्न नपाएको अवस्था छ।' 

अस्पतालमा लेखापालको दरबन्दी भएपनि दुई वर्ष देखि पदपूर्ति हुन सकेको छैन। कोष तथा लेखा नियन्त्रकको कार्यालयले तलब खुवाउन काजमा पठाउने गरे पनि असारदेखि लेखापाल आएका छैनन्। लेखापाल नहुँदा स्वास्थ्यकर्मीले साउनदेखि तलब भत्ता समेत खान पाएका छैनन्।

निशुल्क औषधि पाउन बानी परेका स्थानीय सेवाग्राहीले औषधि नपाएकोमा गुनासो गर्न थालेका छन्। स्थानीय कालीबहादुर खड्काले भने, 'सामान्य रोगको पनि उपचार हुँदैन। यो अस्पतालले निशुल्क पाइने औषधि पनि दिदैन। जिल्ला अस्पताल प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतमा गएपछि झन अस्तब्यस्त भएको छ। न समयमा औषधि आपूर्ति हुन्छ न। उपकरण र दक्ष जनशक्तिको पदपूर्ति नै।' 

धेरै स्वास्थ्यकर्मी समायोजन भएर अनेत्र गईसकेका छन्।५० शैय्याको भनिएको यो अस्पताल नाम मात्रको छ न आवश्यक औषधि पाईन्छ, न दक्ष जनशक्ति नै स्थानीय धनबहादुर खड्काले भने,'एउटा स्वास्थ्य चौकीले दिने जति सेवा पनि पाइदैन। अन्य मेडिकल भन्दा सस्तो र सहज रुपमा औषधि उपलब्ध गराउन सरकारले स्थापना गरेको फार्मेसीमै औषधि सकिएपछि थप समस्या भएको छ।'

लेखापालको तत्काल ब्यवस्था गर्न भन्दै कोलेनिकादेखि प्रदेश मन्त्रालय धाउँदा समेत सुनुवाई भएन अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले भने ,'अस्पतालमा डाक्टरलाई काम गर्ने वातावरण नै छैन। उपकरण, सेवा सुविधा र पूर्वाधार नहुँदा कसरी काम प्रभावकारी हुन्छ?'

लेखापालको अभावले पठाउन नसकिएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सवै भन्दा ठूलो मारमा स्वास्थ्य विमा गरेर पनि औषधि नपाएकाहरू परेका छन्।  स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले शुक्रबार जिल्ला अस्पतालको अवस्था निरीक्षण गरेका छन्।

आफूले अस्पतालको अवस्था निरीक्षण गरेको विषयलाई स्वास्थ्य सेवा सुधारका लागि सकारात्मक भूमिकाका रुपमा बुझ्न प्रजिअ पन्तले सबैलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.