समाज

लालझाडीका बासिन्दाले बगर संरक्षण गरी बाढीबाट छुटकारा पाए
SHARES

भदौ २९, २०७६

    कञ्चनपुर : दोदा नदीमा बाढी आउने क्रम शुरु भएसँगै कञ्चनपुरको लालझाडी गाउँपालिका ३ डुंगाका स्थानीय बस्ती छाडेर आवश्यक सामग्रीसहित सुरक्षित स्थानमा जान बाध्य हुन्थे।

    नदीको बाढीले स्थानीयको जग्गा कटान गरी बगरमा परिणत गर्ने क्रममले धेरै परिवार घरवारविहीन समेत भए। विगतमा नदीको बाढीले धेरै दुःख दियो स्थानीय राजेन्द्र रानाले भने, 'अब नदीमा बाढी आए पनि ढुक्कसँग घरभित्र बस्न पाएका छौं। जग्गा कटान गरी बगाउने चिन्ता समेत छैन।' 

    बाढीले क्षति नपुर्‍याउने भएपछि वर्षातका बेला यस क्षेत्रका बासिन्दाले ढुक्कसँग बस्न पाएका छन्। नदीको बगर संरक्षण गरी स्थानीय बासिन्दाले घाँस बृक्षारोपण सँगै जैविक तटबन्ध बनाएपछि नदीको दुःखबाट छुटकारा पाएका हुन्। 

    'चुरे क्षेत्रमा वर्षा हुन थालेपछि नदीमा बाढी आउने डरले घर छाडेर भाग्थ्यौं' डुंगाका खडक सिंह रानाले भने, 'तटबन्ध बन्यो। बगरमा घाँस जोगायौं। बृक्षारोपण गर्‍यौं। बगरमा उखु खेती समेत भएपछि अब घर छाडेर भाग्नु परेको छैन।'

    'गर संरक्षण गर्नका लागि चरिचरन पूर्ण रुपमा बन्द गर्‍यौं' हरिनाथ रानाले भने, 'बगरमा आफैं उम्रने काँस जातको घाँस जोगाइएपछि नदीले भू क्षय गरी जग्गा कटान गर्ने कार्य बन्द भयो। अग्लो घाँसका कारण नदी बस्तीमा छिर्न समेत छाडयो।'

    अत्यन्तै जोखिम रहेको क्षेत्रमा दातृ संस्था नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरको सहकार्यमा मर्सिकोरको सहयोगमा सञ्चालित एमरेड परियोजनाअन्तर्गत बाँसको जैविक तटबन्ध र ढुंगा तार जालीको तटबन्ध निर्माण गरिएपछि विस्थापनको संघारमा पुगेको बस्ती जोगिएको उनले बताए। सेतो बालुवाले भरिएको बगर अहिले हराभरा भएको छ। 

    बगरबाट स्थानीयले वस्तु भाउका लागि घाँस पाएका छन्। बगरकै घाँस बेचेर स्थानीयले आम्दानी गरी सामाजिक क्षेत्रका कार्यमा रकम खर्च समेत गर्दै आएका छन्। बगर संरक्षण भएपछि यस क्षेत्रका एक सयचार परिवारको सुरक्षा भएको छ। 

    स्थानीयको आयमा बढोत्तरी गर्नका लागि परियोजनाअन्तर्गत स्थानीयलाई अनुदानमा उखुको बीउ र मलखाद उपलव्ध भएपछि बगरमै स्थानीयले उखु खेती समेत गर्दै आएका छन्। दोदा नदीले बग्ने ठाउको तटीय क्षेत्रमा विगतमा निकै क्षति गर्दै आए पनि हाल बगरमा घाँस संरक्षण भएपछि नदीले धार समेत परिवर्तन गरेको छ। 

    गाउँपालिकाको बीचपट्टि, पर्सिया, बल्मी, चन्दापुर, सिकलपट्टि, कञ्ज र कस्वा लगायत क्षेत्रका आठ सय परिवारले बगरमा घाँस संरक्षण गरेका छन्। जैविक तटबन्धले बगर संरक्षण गरी नदीको धार परिवर्तन भएपछि बगरको १४.८ हेक्टर क्षेत्रमा बृक्षारोपण गरी हराभरा बनाइएपछि जाइका स्थानीय यसलाई सामुदायिक वनका रुपमा परिणत गर्नमा लागेका छन्।

     विधान बनाएर संरक्षित बगरलाई सामुदायिक वनका रुपमा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको क्रिसन रानाले बताए। संरक्षित बगरको २२ विघा जग्गामा स्थानीय समुदायले उखु खेती समेत गरेका छन। जसबाट प्रति वर्ष छ हजार कुण्टल उखु उत्पादन हुने गरेको छ। 

    छाडा गाइगोरुबाट संरक्षित बगर संरक्षण गर्न स्थानीय समुदायले चार जना तलव दिने गरी चौकिदार समेत राखेका छन। चौकिदारको तलव बगरको खर बेचेर व्यहोरिने गरेको छ। गत बर्ष मात्रै ८० हजारको खर स्थानीय समुदायले बेचेका थिए। 

    समुदाय सजग भएर चरिचरन बन्द गरी बगर संरक्षण गरेपछि नदी खोलाले गर्दै आएको क्षतिमा निकै कमी आएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले बताए।

    'यस क्षेत्रका समुदायले बगर संरक्षण गरी नदीले गर्दै आएको भू क्षय गर्ने क्रममा पूर्ण विराम लगाए। त्यस पछि पहिरो जाने पहाडी क्षेत्रका समुदाय समेत यस क्षेत्रको अबलोकन भ्रमण गरी पहिरो जाने ठाउँमा विरुवा जोगाउनु पर्ने र रोप्नुपर्ने बारे सजग बनेर गएका छन्' उनले भने।

    'सानै कार्यले पनि ठूल ठूला समस्या समाधान भएर जान्छन्' उनले भने, 'रेडक्रसले समुदायलाई समेत बनाएपछि नदी नियन्त्रणका लागि खर्चिनु पर्ने ठूला धनराशी समेत जोगिएको छ।'

    केही वडाहरूमा नदीको अझै जोखिम रहेकाले चाँडै समुदायलाई सचेत पारेर भू क्षयको समस्या निराकरणका लागि योजना बनाई कार्यान्वयनमा ल्याइने उनले बताए। लालझाडी गाउँपालिकाका बासिन्दाले विसं २०६५ सालमा ठूलो बाढी आएपछि बगर संरक्षणको कार्यमा जोड दिदै आएका हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]