|

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा तीन दिन देखी खानेपानी वितरण पूर्णरुपमा प्रभावित भएको छ। अत्याधिक वर्षाका कारण बाढी पहिरोले पानीको मुहान र संरचनामा क्षति पुगे पछि पानी वितरणमा समस्या भएको हो।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले पानी वितरण गर्दै आएको कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगरको अधिकांश क्षेत्र गत बिहीबारदेखि पूर्णरुपमा प्रभावीत भएको छ।

सुर्खेत उपत्यकामा खानेपानीका मुख्य स्रोत झुप्रा मुहान, खरी–बोरी खोला, इत्राम र खोर्के मुहानबाट इत्राम र अन्य कलेक्सन सेन्टर (प्लान्ट) मा पानी नझरेको सुर्खेत उपत्यका खानेपानी संस्थाले जनाएको छ।

‘पहिरोले खानेपानीका अधिकांश संरचनामा क्षति भएको छ’ संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, 'तीन दिनदेखि प्लान्टमा एक थोपा पानी नझरेकाले वितरण गर्न सकिएको छैन।’

वर्षातले एकै पटक सबै स्रोतमा क्षति पुगेकाले पानी वितरण ठप्प भएको देवकोटाको भनाई छ। अध्यक्ष देवकोटाका अनुसार खरी-बोरी खोलाबाट ल्याइएको पानीको पाइपलाइन दोबिल्ला नजिक पहिरोले फालेको छ। वर्षातका कारण झुप्राको लाइनबाट अत्याधिक धमिलो र लेदो पानी मात्रै आएकाले कलेक्सन सेन्टरमा हालिएको छैन।

बर्षे भेलका कारण झुप्राको इन्टेकमा समेत क्षति पुगेको छ। त्यस्तै, इत्राम र खोर्के खोलाको स्रोतमा पनि वर्षे भेल पसेका कारण कलेक्सन सेन्टरसम्म पानी ल्याउन सकिएको छैन। बुलबुले स्रोतमा भने ट्रान्समिटर जलेर बिग्रिएपछि पानी वितरण प्रभावित भएको संस्थाले जनाएको छ।

पहिरोले पाइपलाइन र अन्य संरचनामा ठूलो क्षति पुर्‍याएको मर्मतमा खटिएका संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए। संरचनामा क्षति पुगेलगत्तै मर्मत टोली फिल्डमा खटाइएको अध्यक्ष देवकोटाले बताए।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा हाल १७ हजार धारामार्फत संस्थाले खानेपानी सेवा दिइरहेको छ। खडेरी र वर्षातमा सुर्खेत उपत्यकाबासीले खानेपानीको समस्या झेल्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.