|
मिसन हस्पिटल ओखलढुंगा

ओखलढुंगा : देशभर डेंगुको संक्रमण बढ्न थालेपछि ओखलढुंगामा सतर्क रहन आग्रह गरिएको छ। डेंगुको संक्रमणबाट बच्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालय ओखलढुंगाले सर्वसाधरणलाई सजग रहन आग्रह गरेको हो।

जनस्वास्थ्य कार्यालयले मुलुकभर महामारीको रूपमा फैलिएको डेंगुको संक्रमण यातायातको सहज पहुँचसँगै भित्रन सक्ने भन्दै सतर्क रहन रहन आग्रह गरेको हो।

एक नगरपालिकासहित आठ स्थानीय तह रहेको जिल्लामा सबै स्थानीयतसँग समन्वय गरी अगाडि बढ्ने जिल्ला जनस्वास्थ्य निरीक्षक तथा सूचना अधिकारी गौरीशंकर देवले बताए। स्थानीय तहका स्वस्थ्य संयोजकलाई डेंगुको संक्रमणबाट बच्ने उपायका बारेमा स्थानीयस्तरमै गएर जनचेतना जगाउन पनि आग्रह गरिएको उनको भनाइ छ।

स्वास्थ्य संयोजकलाई विद्यालयस्तरका बालबालिका तथा अभिभावकलाई चेतना फैलाउन आग्रह गरिएको भए पनि सुरु नभएको बताइएको छ। स्वास्थ्य संयोजकले बजेटको अभाव कारण जनचेतनाको कार्यक्रम गर्न नसकिएको बताउने गरेका छन्।

यसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने जिल्ला जनस्वास्थ्य निरीक्षक तथा सूचना अधिकारी गौरीशंकर देवले बताए। उनका अनुसार पानी जम्ने खाल्डाखुल्डी, गमला, फुलदानी, खाली बट्टा, खाली ड्रम वा गाडीका काम नलाग्ने टायरहरू जस्ता स्थानमा पानी जम्न दिनुहुन्न। त्यस्तै, पानीको ट्यांकी लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने, फूलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने गर्नुपर्दछ। लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकाले दिउँसो बस्दा शरीर ढाकिने लुगा लगाउनुपर्ने देवको भनाइ छ।

डेंगु नदेखिए पनि यसअघि ओखलढुंगा जिल्लामा कालाजार भने देखिसकेको छ। गत आर्थिक वर्षमा २ जनामा कालाजारका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यलयले जाएको छ। विषेशगरी जिल्लाको मनेभज्याङ र सुनकोशी गाउँपालिका कालाजारको बढी जोखिमयुक्त क्षेत्र रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.