|

काठमाडौं : सस्तोमा डलर पाउने लोभमा लमजुङ बेशीशहरकी मिनमाया तामाङ ठगिएकी छिन्। बसुन्धरा बस्दै आएकी २८ वर्षीया मनमायालाई सामान्य चिनजानका दुई जनाले १० लाखमा १९ हजार डलर दिने लोभ देखाएर ठगेका हुन्। 

उनलाई डलर देखाएर ठगी गर्नेहरु हुन्, सिन्धुपाल्चोक कर्थलीका ३३ वर्षीय लक्ष्य भनिने नारायणबहादुर भण्डारी र उनकै भाई २३ वर्षीय सरोज भण्डारी। प्रहरीले नारायणलाई पक्राउ गरिसकेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार मनमायाकी पति र नारायणबीच मलेसियामा रोजगारीको बेला चिनजान भएको थियो। पतिको साथी भएको कारण मनमायासँग पनि नारायणले चिनजान बढाएका थिए। यही चिनजानका आधारमा मनमायाले लोभमा परेकी थिइन्।

मलेसियामा रोजगारी गर्दै आएका नारायणको पासपोर्ट हराएपछि नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि नारायणले डलरसित नेपाली रुपैयाँ साट्ने धन्दामा लागे। जसको तारो बनिन्, मनमाया।

‘मनमायासँग पैसा छ भन्ने लागेपछि नारायणले बारम्बर फोन गरेर आफूसँग १९ हजार डलर छ, १० लाख रुपैयाँमा दिएमा दिन्छु भनेर नारायणले लोभ देखाएका रहेछन्’, परिसरका डिएसपी कार्कीले भने ‘मनमायाले पनि एकै चोटी १० लाख रुपैयाँ फाइदा हुने देखेपछि लोभमा फसिछन्।’

बजारमा अहिलेको सटही दर अनुसार १९ हजार अमेरिकी डलरको झण्डै २० लाख ५० हजार रुपैयाँ हुने भनेर उनले लोभ्याए। नारायणले मनमायाका पतिसँग कुरा मिलाएर मनमायालाई १० लाख रुपैयाँ लिएर जान लगाएका थिए।

गत आइतबार दोब्बर पैसा पाउने मनमाया १० लाख रुपैयाँ बोकेर नारायण र उनका भाई सरोजलाई भेट्न ललितपुरको ग्वार्को पुगेकी थिइन्। उनीहरुबीच सामान्य कुराकानीपछि नारायणले रुमालमा पोको पारेको डलरका बिटा पल्टाएर देखाएपछि उनीहरुले पैसाको झोला साटासाट गरे।

'बाटोमा त्यत्ति धेरै पैसा गन्न अप्ठ्यारो भएपछि उनीहरुले झोला साटासाट गरेर हिडेछन्', डिएसपी कार्कीले घटना विवरण सुनाउदै भने- 'घर गएर हेर्दा मनमाया छाँगाबाट खसेजस्तै भइछन्, डलरको बिटाको छेउ छेउमा ५० का नोट र बीचमा एक–एक का नोट राखिएको देखेपछि उनी प्रहरीकोमा आइन्।'

१९ हजार डलरको ठाउँमा त्यहाँ तीन वटा ५० को र दुई सय ८८ वटा एक डलरको नोट गरी चार सय ३६ डलर मात्र रहेको थाहा पाएपछि मनमाया प्रहरीको आएको पनि उनले जानकारी दिए।

मनमायाकै उजुरीको आधारमा प्रहरीले नारायणलाई पक्राउ गरिसकेको छ भने सरोज भने फरार छन्। नारायणबाट प्रहरीले पाँच लाख रुपैयाँ बरामद गरेको छ। नारायण र सरोजले पाँच पाँच लाख रुपैयाँ बाँडेको पनि डिएसपी कार्कीले जानकारी दिए। 

नारायणको पुरानै धन्दा

यसअघि पनि २०७२ साल भदौं २५ गते नारायणले यसरी नै डलरसित रुपैयाँ साट्ने भन्दै ठगी गरेका थिए। उनी त्यस बेला तीन सय ४० अमेरिकी डलरसहित समातिएका थिए। प्रहरीले राजस्व अनुसन्धान विभागमा नारायणलाई बुझाएको थियो, उनी एक लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। 

त्यसपछि उनी बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेपनि पासपोर्ट हराएर एक महिनामा नै नेपाल फर्किएका थिए। नारायणलाई विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ बमोजिम कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.